वामपन्थी राजनीतिमा केही नयाँ हलचल देखिन थालेको छ। समाजवादी विचारधाराको नयाँ पुस्ता अर्थतन्त्रलाई मूल्य नियन्त्रण, धनीहरूमाथि कडा सम्पत्ति कर र व्यापक राष्ट्रियकरणमार्फत पुनर्गठन गर्न चाहन्छ। गाजाप्रतिको आक्रोशले थप ऊर्जा दिएको यो राजनीतिक लहर तीव्र गतिमा मतदाता आकर्षित गरिरहेको छ। बेलायतको ग्रीन पार्टीका नेता ज्याक पोलान्स्की वा न्यूयोर्कका मेयर जोहरान ममदानीजस्ता नेताहरू हालै चर्चामा आएका हुन्। अर्कोतर्फ, फ्रान्सेली राजनीतिका पुराना पात्र जँ लुक मेलेन्चन चौथोपटक राष्ट्रपतिको दौडमा छन् र ‘जेनजी’ पुस्ताको बलियो समर्थनले उनलाई फेरि एलिसे दरबारको सपना देखाएको छ।
यसलाई ‘जेन–जेड समाजवाद’ भन्न सकिन्छ। यसका सबै समर्थक युवा छैनन् न त युवाहरूको वामपन्थतर्फ झुकाव नयाँ कुरा हो। तर यो टिकटक युगमा विकसित भएको वामपन्थको नयाँ संस्करण हो, जसलाई आजका युवा क्रान्तिकारीहरूले अंगालिरहेका छन्।
पुरानो समाजवाद जस्तो उत्पादनका साधन कब्जा गर्ने वा सामूहिक आदर्शका भारी सिद्धान्तहरू यस आन्दोलनको केन्द्रमा छैनन्। जेनजी समाजवाद मूलतः “पहिला म” भन्ने सोचमा आधारित छ। सन् २०१० र २०२० को दशकको सुरुआती वर्षमा प्रमुख मुद्दा बनेका जलवायु परिवर्तन र जातीय समानता अहिले तुलनात्मक रूपमा पछाडि परेका छन्। गाजा बाहेक सामाजिक मुद्दाहरू पनि त्यति प्रभावशाली छैनन्। यसको सट्टा महँगी, आवास संकट र कृत्रिम बुद्धिमत्ता (एआई) ले रोजगारी खोस्ने डर मुख्य चिन्ताको विषय बनेका छन्।
क्यानडाको न्यू डेमोक्रेटिक पार्टीका नव–निर्वाचित नेता एभी लेविस भन्छन्, “यो देश धनसम्पत्तिले भरिपूर्ण छ। हामीले राम्रो जीवन पाउन सक्छौँ।” मूल्य नियन्त्रण गरेर जनताको खर्च घटाउने र सार्वजनिक सेवा धनीहरूले तिर्ने व्यवस्था गर्ने प्रस्ताव सामाजिक सञ्जालमा निकै आकर्षक र सजिलै फैलिने सन्देश बनेको छ।
तीन आधारभूत विश्वास
देशअनुसार जेन–जेड समाजवादीहरूको स्वरूप फरक भए पनि उनीहरू तीन मुख्य सिद्धान्तमा सहमत देखिन्छन्। पहिलो, आर्थिक वृद्धिले साधारण नागरिकलाई खासै फाइदा गर्दैन भन्ने विश्वास। उनीहरूका लागि अर्थतन्त्र ‘शून्य–योग खेल’ हो—कसैले जिते भने अर्कोले हार्नैपर्छ। दोस्रो, राज्यको खर्च धनीहरूबाट उठाइएको करले सजिलै धान्न सकिन्छ भन्ने धारणा। विगतमा वामपन्थले सबैका लागि उच्च करको वकालत गथ्र्यो, अहिलेको जेन–जेड समाजवाद भने अर्बपतिहरूको सम्पत्तिबाट जनतालाई सुविधा बाँड्ने पक्षमा छ। तेस्रो, निजी क्षेत्रप्रतिको गहिरो अविश्वास। बजारलाई स्वतन्त्र रूपमा चल्न दिने र त्यसपछि आय पुनर्वितरण गर्ने अवधारणामा उनीहरूको रुचि छैन। बरु आवास, खाद्यान्न र अन्य दैनिक सेवाहरू राज्यको प्रत्यक्ष नियन्त्रणमा हुनुपर्छ भन्ने उनीहरूको चाहना छ।
किन चिन्ताजनक?
कट्टरपन्थी विचार राजनीतिमा नयाँ कुरा होइन। अतिदक्षिणपन्थ पनि उस्तै अतिरञ्जित र कतिपय अवस्थामा अझ खतरनाक छ। तर जेन–जेड समाजवादको विशेष चिन्ताको विषय भनेको यसको प्रभाव केन्द्रवादी दलहरूमा समेत फैलिन थालेको हो। अमेरिकामा मुख्यधाराका डेमोक्रेट नेताहरूले आधाभन्दा बढी करदातालाई संघीय आयकरबाट मुक्त गर्ने प्रस्ताव राख्न थालेका छन्। बेलायतमा मध्यमार्गी एजेन्डामा चुनाव जितेको लेबर पार्टीसमेत ग्रीन पार्टीको दबाबमा उच्च कर र राज्य नियन्त्रणतर्फ फर्कन थालेको छ। यसरी जेन–जेड समाजवादी उम्मेदवारहरू चुनाव हार्दा पनि उनीहरूका विचारहरू जित्न थालेका छन्।
यस विचारधाराका धेरै प्रस्तावहरू अर्थशास्त्रीहरूको दृष्टिमा जोखिमपूर्ण छन्। भाडा नियन्त्रणले नयाँ घर निर्माणको प्रोत्साहन घटाएर आवास अभाव अझ बढाउन सक्छ। ठूला सुपरमार्केटहरूको नाफा अत्यन्त न्यून भइसकेको अवस्थामा उनीहरूलाई शोषक ठहर गर्नु वास्तविकतासँग मेल नखान सक्छ। सम्पत्ति कर अत्यधिक बढेमा नवप्रवर्तन र लगानी निरुत्साहित हुन सक्छ।
यस्ता नीतिहरू असफल भए पनि समाज स्वतः सही बाटोमा फर्किहाल्छ भन्ने ग्यारेन्टी छैन। अत्यधिक नियमनका कारण युरोपले दशकौँदेखि सुस्त आर्थिक वृद्धिको समस्या झेलिरहेको छ। अर्जेन्टिनामा राज्य–केन्द्रित ‘पेरोनिस्ट’ नीतिहरूले दीर्घकालीन आर्थिक अवनतिमा योगदान दिएको उदाहरण पनि दिइन्छ।
जेन–जेड समाजवादका सबै गुनासा आधारहीन भने छैनन्। महँगी बढेको छ, ठूला सहरहरूमा घरभाडा असह्य बन्दै गएको छ, र ब्क्ष् ले श्रम बजारमा ठूलो परिवर्तन ल्याउन सक्छ। यी चिन्तालाई बेवास्ता गर्नु बुद्धिमानी हुँदैन। तर्क अनुसार समाधान समाजवादमा होइन, उदार बजार व्यवस्थाको सुधारमा छ।
उदारवादको प्रतिरक्षा
लेखका अनुसार स्वतन्त्र बजारका समर्थकहरूले पूँजीवादप्रति निरन्तर माफी माग्ने प्रवृत्ति त्याग्नुपर्छ। असमानता, व्यवहारगत कमजोरी वा विश्वव्यापीकरणका नकारात्मक प्रभावहरू स्वीकार गरिए पनि तथ्य के हो भने मानव इतिहासमा आजभन्दा समृद्ध समय पहिले कहिल्यै थिएन। वास्तविक आय, औसत आयु र चरम गरिबीको दरका तथ्यांकहरूले यही देखाउँछन्। केन्द्रवादी सरकारहरूले युवाहरूलाई निराश बनाउने समस्याहरू समाधान गर्नुपर्छ—सस्तो र प्रशस्त आवास निर्माण, पूर्वाधार विस्तार, अत्यधिक पेन्सन खर्चको बोझ कम गर्ने र उत्तराधिकारबाट प्राप्त सम्पत्तिभन्दा योग्यता र मेहनतलाई प्राथमिकता दिने कर प्रणाली लागू गर्ने जस्ता उपाय आवश्यक छन्।
सबैभन्दा कठिन चुनौती एआईको प्रभाव हुनेछ। जेन–जेड समाजवादीहरूले डाटा सेन्टर निर्माणमा रोक र सरकारी रोजगारी ग्यारेन्टीको माग गरेका छन्। तर उदारवादीहरूले प्रविधिको विरोध होइन, त्यसबाट सिर्जित लाभ व्यापक रूपमा बाँड्ने उपाय खोज्नुपर्ने लेखको निष्कर्ष छ। कर नीति, पूँजी स्वामित्वको विस्तार र श्रमिक समर्थनमार्फत ब्क्ष् को लाभ सबैले पाउने व्यवस्था गर्न सकिन्छ।
जेनजी समाजवाद लोकप्रिय बन्दै गए पनि यसले पूँजीवादका कमजोरीहरूलाई गलत रूपमा पहिचान गर्छ र गलत समाधान प्रस्ताव गर्छ। उच्च भाडाजस्ता धेरै समस्या बजार अत्यधिक स्वतन्त्र भएकाले होइन, पर्याप्त स्वतन्त्र नभएकाले उत्पन्न भएका हुन् भन्ने लेखकको दाबी छ। त्यसैले उदार बजार अर्थतन्त्रलाई सुधार गर्दै त्यसको पक्षमा अझ सशक्त तर्क प्रस्तुत गर्न सके जेन–जेड समाजवादको चुनौती सामना गर्न सम्भव छ। (द इकोनमिस्ट)