सुरत (भारत)— बाहिर अर्को गर्मी छ, भित्र झन् त्यो भन्दा बढी । गुजरात राज्यमा पर्ने सुरतको सहरी क्षेत्रबाहिरको एउटा कपडा कारखानामा काम गर्ने दर्जनौं मजदुरका लागि चर्को गर्मी र उच्च आद्र्रता आफैंमा ठूलो समस्या हो । त्यसमा पनि कारखानाभित्र चल्ने भारी मेसिनबाट निस्कने ताप, बाफ र रासायनिक गन्धले अवस्था झनै कठिन बनाएको छ ।
होचो छानो भएको कारखानाको भुइँमा राखिएका ‘स्टेन्टर’ नामका ठूला मेसिनहरू इन्जिनजस्तै ठूलो आवाज निकाल्दै चलिरहेका हुन्छन् । बोइलरबाट सिठी बजेजस्तो आवाज आउँछ भने ड्रम वासर मेसिनबाट तातो बाफ निस्कन्छ । लगातारको आवाज र तातो हावाले काम गर्ने वातावरण निकै असहज बनाएको छ ।
२७ वर्षीया एकल महिला सोनी पाण्डे भन्छिन्, ‘पंखा र पानीको छर्काइ गर्ने कुलरले केही राहत दिन्छ, तर धेरै गर्मी भएको दिनमा त त्यसले पनि काम गर्दैन । हामी धेरै पसिना बगाउँछौं, कहिलेकाहीँ चक्कर लाग्छ र अस्वस्थ महसुस हुन्छ ।’
यहाँका कारखानामा मजदुरहरूले दिनरात भिजेको कपडा मेसिनमा हाल्ने, सुकाउने, रङ लगाउने र तयार गर्ने काम गर्छन् । यी कारखानाबाट उत्पादन हुने लाखौं मिटर पोलिस्टर कपडा संसारका विभिन्न बजारमा पठाइन्छ, जहाँबाट साडी, लुगा र अन्य सस्तो पहिरन बनाइन्छ ।
जलवायु परिवर्तनका कारण भारतका धेरै ठाउँमा तापक्रम बढ्दै गएको छ, गर्मीको अवधि लामो हुँदै गएको छ र रातको तापक्रमसमेत उच्च रहन थालेको छ । सुरतका कपडा मजदुरहरू भन्छन्, ‘कारखानाभित्रको गर्मी कहिलेकाहीँ सहनै नसक्ने हुन्छ ।’
समस्या समाधानका लागि केही कारखानाले चिसो बनाउने उपकरण जडान गरेका छन्, तर तिनको प्रभाव सीमित छ । त्यसमाथि अमेरिकाले लगाएका भन्सार शुल्क, इरान युद्धका कारण आपूर्ति र ढुवानीमा आएको समस्या तथा बढ्दो खर्चका कारण धेरै उद्योगीहरू महँगो कुलिङ प्रणालीमा लगानी गर्न हिच्किचाइरहेका छन् ।
धेरै कारखानामा भान्साका बाफ बाहिर पठाउनेजस्तो एक्जास फ्यान राखिएका छन् । केहीले पानीको वाष्प प्रयोग गरेर तापक्रम घटाउने कुलर पनि जडान गरेका छन् । एयर कन्डिसनरजस्तो बन्द कोठा आवश्यक नपर्ने भएकाले यस्ता कुलर कारखानाका लागि उपयुक्त मानिन्छन् । तर सुरतको सचिन औद्योगिक क्षेत्रमा रहेको पाण्डेले काम गर्ने कारखानामा कुलरहरू मुख्यतया मजदुर आराम गर्ने ठाउँमा राखिएका छन्, जहाँ उनीहरू १०–१५ मिनेटका लागि विश्राम लिन्छन् ।
अर्को कारखानामा भने दुवैतर्फ राखिएका कुलरबाट चिसो हावा पाइपमार्फत पूरै हलमा पु¥याउने व्यवस्था गरिएको छ । तर दुवै अवस्थामा राहत अस्थायी मात्र छ, किनकि ठूलो आवाज निकाल्ने तातो मेसिनहरूको प्रभाव धेरै बलियो छ ।
विनित फेब्रिक्स नामक कारखानामा डाइङ मेसिन चलाउने बिहारका मजदुर कुन्दनकुमार भन्छन्, ‘हामी धेरै पसिना बगाउँछौं र कहिलेकाहीँ चक्कर लाग्छ । कुलर भए पनि काम गर्न गाह्रो छ । तर परिवार पाल्न पैसा चाहिन्छ, त्यसैले काम गर्नैपर्छ ।’
भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश हो र जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूमध्ये एक हो । हरेक वर्ष आँधी, बाढी र अत्यधिक गर्मीका कारण लाखौं मानिस प्रभावित हुन्छन् र ठूलो आर्थिक क्षति हुन्छ ।
विश्व बैंकको २०२२ को प्रतिवेदनअनुसार भारतको करिब ७५ प्रतिशत श्रमशक्ति अर्थात् लगभग ३८ करोड मानिस गर्मीको असरमा छन् । निर्माण मजदुरदेखि कारखानाका कामदारसम्म धेरै मानिसका लागि अत्यधिक तापक्रम जीवन जोखिमपूर्ण बन्न सक्छ ।
भारतमा गर्मीबाट मजदुरलाई जोगाउन कानुन र निर्देशिका भए पनि श्रमिक संगठनहरूले यस वर्ष सरकारलाई अझ कडा कानुन, राम्रो कार्यान्वयन र प्रभावकारी निगरानीको माग गर्दै पत्र पठाएका छन् । अर्को समस्या के छ भने भारतका ५५ करोडभन्दा बढी अनौपचारिक मजदुर, जुन कुल श्रमशक्तिको करिब ९० प्रतिशत हो, धेरै श्रम कानुनको दायराभित्र पर्दैनन् । सुरतका धेरै कपडा मजदुर पनि यही समूहमा पर्छन् ।
अनुसन्धान संस्था डब्लूआरआई इन्डियाकी वरिष्ठ कार्यक्रम सहायक पूजा यादवका अनुसार सुरतका कपडा कारखानामा गर्मी र आद्र्रता मिलेर झनै खतरनाक अवस्था सिर्जना गर्छ । उनी भन्छिन्, ‘जहाँ बाफ र तातो पानी प्रयोग हुन्छ, त्यहाँ कारखानाभित्रको अवस्था बाहिरभन्दा पनि खराब हुन सक्छ ।’
उनका अनुसार कारखानाभित्र तातो हावा र रासायनिक धुवाँका कारण टाउको दुख्ने, शरीरमा पानीको कमी हुने र बेहोस हुने समस्या देखिन सक्छ । १२ घण्टासम्म चल्ने कामको सिफ्टले मजदुरको स्वास्थ्यमा दीर्घकालीन असर पनि पार्न सक्छ ।
‘उनीहरूलाई फोक्सो र मिर्गौलासम्बन्धी दीर्घकालीन समस्या पनि हुन सक्छ,’ यादवले भनिन् । उच्च गर्मी र आद्र्रताले काम गर्ने क्षमता पनि घटाउँछ ।
इरान युद्धका कारण ढुवानी, कच्चा पदार्थ र ऊर्जा खर्च बढ्नु तथा अमेरिकी प्रशासनले लगाएको उच्च भन्सार शुल्कले सुरतको कपडा उद्योगलाई आर्थिक दबाबमा पारेको छ । यसले उद्योगीहरूको चिसो बनाउने प्रणालीमा लगानी गर्ने क्षमता घटाएको छ ।
सुरत विश्वकै ठूलो पोलिस्टर र कृत्रिम कपडा उत्पादन केन्द्रमध्ये एक हो । स्थानीय सरकारी तथ्यांकअनुसार यहाँका कपडा उद्योगमा १४ लाख जनाभन्दा बढी मानिस काम गर्छन् र दैनिक करिब ३ करोड मिटर पोलिस्टर कपडा उत्पादन हुन्छ ।
पोलिस्टर पेट्रोलियमबाट बनेको प्लास्टिकजन्य पदार्थबाट तयार हुने भएकाले यसको उत्पादन लागतमा तेलको मूल्यको प्रभाव पर्छ ।
कारखाना व्यवस्थापकहरूका अनुसार अत्यधिक गर्मीका कारण धेरै मजदुर आफ्नो गाउँ फर्किएका छन् र पुनः काममा आउन चाहेका छैनन् । विनित फेब्रिक्सका उत्पादन व्यवस्थापक सुभाष शर्माका अनुसार सामान्य अवस्थामा करिब ७०० मजदुर काम गर्ने भए पनि अहिले आर्थिक समस्या र मजदुर अभावका कारण कारखाना करिब ६० प्रतिशत क्षमतामा मात्र चलेको छ ।
‘पछिल्ला केही वर्षमा बढ्दो गर्मीका कारण मजदुरको संख्या घटिरहेको छ,’ शर्माले भने ।
डब्लूआरआई इन्डियाका अनुसार तातो हावा बाहिर निकाल्ने प्रणाली, चिसो हावा भित्र ल्याउने उपकरण, राम्रो हावा प्रवाह र मेसिनलाई तापबाट अलग राख्ने उपायले काम गर्ने वातावरण सुधार्न सक्छ ।
विनित फेब्रिक्सले करिब ५,३०० अमेरिकी डलर खर्च गरेर कुलिङ प्रणाली जडान गरेको शर्माले बताए । कम्पनीले तातो विकिरण गर्ने मेसिनमा जुटका बोरा प्रयोग गरेर ताप रोक्ने र तातो पानी बग्ने नाली बन्द राख्ने उपाय पनि अपनाएको छ ।
तर यादवका अनुसार सुरतका धेरै अन्य कारखाना अझै पनि सामान्य फ्यानमै निर्भर छन् र प्रभावकारी चिस्याउने उपकरणको प्रयोग व्यापक छैन । उनले गर्मीसम्बन्धी योजना बनाउँदा औद्योगिक क्षेत्र र कारखानाका मजदुरलाई पनि ध्यान दिनुपर्ने बताइन् ।
कारखानाको भुइँमा काम गर्ने पाण्डेजस्ता मजदुरका लागि भने परिस्थिति जस्तो भए पनि काम रोक्ने विकल्प छैन । उनी १०–१२ घण्टाको सिफ्टमा काम गरेर दैनिक करिब ७ सय रुपैयाँ हाराहारी कमाउँछिन् ।
‘हामीसँग विकल्प छैन । ममाथि तीन बच्चाको जिम्मेवारी छ । गर्मी होस् वा नहोस्, हामीले काम गर्नैपर्छ,’ उनले भनिन् । (एपी)