नेभिगेशन
विश्व

खाडी युद्ध २.० ले विश्व शक्ति सन्तुलन बदलिँदै

तेहरान, (एजेन्सी)  । अमेरिका र इरानबीच लामो तनाव तथा युद्धपछि अन्ततः अन्तरिम सम्झौता भएको छ । चार महिनासम्म चलेको संघर्षले मध्यपूर्व मात्र होइन, विश्व राजनीति, ऊर्जा बजार र महाशक्तिहरूबीचको शक्ति सन्तुलनलाईसमेत प्रभावित गरेको छ । युद्धविराम र सम्झौतापछि सबैभन्दा बढी लाभ कसलाई भयो भन्ने प्रश्न उठिरहेका बेला धेरै विश्लेषकहरूको ध्यान चीनतर्फ केन्द्रित भएको छ ।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गर्दा तेहरानको शासन नै ढल्न सक्ने अनुमान गरिएको थियो । तर चार महिनापछि परिस्थिति पूर्ण रूपमा फरक देखिएको छ । इरानको शासन यथावत् छ, अमेरिका र इरान वार्ताको टेबलमा फर्किएका छन् र चीनले आफूलाई शान्ति तथा कूटनीतिक समाधानको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्न सफल भएको छ ।
चीनको कूटनीतिक सक्रियता
युद्धको अवधिभर चीनले निकै सावधानीपूर्वक सन्तुलित नीति अवलम्बन ग¥यो । एकातिर उसले अमेरिका र इजरायलको आक्रमणको आलोचना ग¥यो, अर्कोतर्फ सबै पक्षसँग संवादको ढोका खुला राख्यो । चीनले अमेरिकी प्रतिबन्धको बेवास्ता गर्दै इरानी तेल खरिद जारी राख्यो तर प्रत्यक्ष रूपमा कुनै सैन्य पक्षको समर्थन गरेन ।
युद्धका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इरानी विदेशमन्त्री अब्बास अराघ्ची तथा पाकिस्तानका नेताहरूसमेत बेइजिङ पुगे । यी भेटघाटहरूले चीनलाई केवल आर्थिक शक्ति मात्र नभई अन्तर्राष्ट्रिय विवाद समाधानमा प्रभावशाली मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर दिए ।
चीनका राष्ट्रपति सी जिनपिङले सार्वजनिक गरेको चारबुँदे शान्ति प्रस्तावले पनि बेइजिङलाई शान्तिको पक्षधर राष्ट्रका रूपमा स्थापित गर्न मद्दत ग¥यो । रोचक कुरा के छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले समेत चीनको भूमिका र सी जिनपिङको ‘तटस्थ’ व्यवहारको प्रशंसा गरेका छन् ।
अमेरिकाको शक्ति सीमाबारे बहस
यस युद्धले अमेरिकाको विश्वव्यापी प्रभाव र सैन्य शक्तिबारे नयाँ बहस सुरु गरेको छ । चीनका केही विश्लेषकहरूले यसलाई अमेरिकाको सम्भावित ‘सुएज क्षण’ (सुएज मोमेन्ट)का रूपमा व्याख्या गरेका छन् ।
सन् १९५६ को सुएज संकटपछि बेलायतको विश्व शक्ति कमजोर भएको मानिन्छ । अहिले केही चिनियाँ विश्लेषकहरूले अमेरिकाले पनि त्यस्तै अवस्थाको सामना गरिरहेको तर्क गरिरहेका छन् । फुदान विश्वविद्यालयका मध्यपूर्व विशेषज्ञ सुन देगाङका अनुसार युद्धले अमेरिकाको सैन्य शक्ति असीमित र अजेय रहेको धारणा कमजोर बनाएको छ । उनका अनुसार अमेरिकाले अपेक्षा गरेजस्तो निर्णायक विजय हासिल गर्न सकेन र उसका परम्परागत सहयोगीहरू पनि पूर्ण रूपमा एकजुट देखिएनन् ।
युद्धको अन्त्यपछि इरानको शासन कायम रहनु, अमेरिका वार्तामा फर्कन बाध्य हुनु तथा क्षेत्रीय तनाव समाधानका लागि कूटनीतिक मार्ग अपनाउन पर्नुले अमेरिकी शक्ति प्रयोगको सीमालाई उजागर गरेको विश्लेषण गरिएको छ ।
चीनलाई रणनीतिक लाभ
चीनका राजनीतिक टिप्पणीकारहरूका अनुसार यो युद्धले चीनको अन्तर्राष्ट्रिय छवि बलियो बनाएको छ । विशेषगरी ऊर्जा संकट व्यवस्थापनमा चीनले देखाएको क्षमता प्रशंसनीय मानिएको छ । संसारभर तेल आपूर्ति प्रभावित हुँदा पनि चीनले आफ्नो विशाल रणनीतिक तेल भण्डारण, हरित ऊर्जा तथा विद्युतीय सवारीसाधनमा गरेको लगानीका कारण धेरै देशको तुलनामा कम दबाब सामना ग¥यो ।
युद्धले ऊर्जा सुरक्षाको महŒव झन् बढाएको छ । जीवाश्म इन्धनमा अत्यधिक निर्भर राष्ट्रहरू ठूलो संकटमा पर्दा चीनले वैकल्पिक ऊर्जा स्रोतमा गरेको दीर्घकालीन लगानीको लाभ उठाउन सफल भयो । यसले विकासोन्मुख राष्ट्रहरूलाई पनि चीनको विकास मोडलप्रति आकर्षित गर्न सक्ने सम्भावना बढाएको छ ।
ताइवान सन्दर्भमा नयाँ बहस
चीनभित्र अर्को महŒवपूर्ण बहस ताइवानसँग सम्बन्धित छ । केही विश्लेषकहरूले इरान युद्धले अमेरिकी प्रतिरोध क्षमतामा कमजोरी देखाएको दाबी गरेका छन् । उनीहरूका अनुसार युद्धले अमेरिकी हतियार भण्डारमा सीमितता देखाएको छ । साथै, इरानजस्तो अपेक्षाकृत अलग–थलग देशविरुद्ध समेत अमेरिका व्यापक अन्तर्राष्ट्रिय गठबन्धन बनाउन संघर्षरत देखिएको तर्क गरिएको छ ।
यही आधारमा केही चिनियाँ टिप्पणीकारहरूले भविष्यमा ताइवानसम्बन्धी कुनै संकट उत्पन्न भए अमेरिका आफ्ना सहयोगीहरूलाई चीनविरुद्ध पूर्ण रूपमा उभ्याउन कति सफल हुन्छ भन्ने प्रश्न उठाएका छन् । यद्यपि अधिकांश विशेषज्ञहरू अमेरिका अझै पनि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र रहेको स्वीकार गर्छन् । उनीहरूका अनुसार चीनले लाभ उठाएको भए पनि अमेरिकालाई विस्थापित गरेर तत्काल विश्व नेतृत्व लिन सक्ने अवस्था छैन ।
लेबनानको जटिलता
यसबीच अमेरिका–इरान सम्झौताको सबैभन्दा संवेदनशील पक्ष लेबनानको अवस्था बनेको छ । सम्झौतामा लेबनानमा युद्धविराम कायम गर्ने विषय समावेश गरिएको छ । तर इजरायल र हिजबुल्लाहबीच झडप जारी रहँदा शान्ति प्रक्रिया जोखिममा परेको छ । इरान समर्थित हिजबुल्लाह र इजरायलबीच दशकौंदेखि द्वन्द्व चल्दै आएको छ । पछिल्ला महिनाहरूमा इजरायली आक्रमण र हिजबुल्लाहको प्रतिकारका कारण हजारौं मानिसको ज्यान गएको छ भने दक्षिणी लेबनानका धेरै बस्ती खाली भएका छन् ।
इरानले अमेरिकासँगको वार्ता अघि लेबनानमा आक्रमण पूर्ण रूपमा रोकिएको सुनिश्चितता चाहेको बताइएको छ । अर्कोतर्फ इजरायलले हिजबुल्लाहलाई कमजोर बनाउने अभियान जारी राख्ने संकेत दिएको छ । यसले अमेरिका–इरान सम्झौताको भविष्य अझै अनिश्चित रहेको देखाउँछ ।
तेल बजारमा नयाँ चुनौती
युद्धको सबैभन्दा ठूलो आर्थिक प्रभाव तेल बजारमा देखिएको छ । होर्मुज जलडमरूमध्य बन्द हुँदा विश्वले करिब १ अर्ब १५ करोड ब्यारेल तेल आपूर्ति गुमाएको अनुमान गरिएको छ । युद्धविरामपछि जलमार्ग पुनः खुले पनि तेल आपूर्ति तत्काल सामान्य अवस्थामा फर्किने सम्भावना कम छ । समुद्री मार्ग सफा गर्न, उत्पादन पुनः सुरु गर्न र ट्यांकरहरूलाई पुनः सञ्चालनमा ल्याउन समय लाग्नेछ ।
विश्लेषकहरूका अनुसार विश्वका रणनीतिक तेल भण्डारणहरू निकै घटिसकेका छन् । अमेरिका लगायत धेरै देशका आपतकालीन भण्डार ऐतिहासिक न्यून स्तरमा पुगेका छन् । यही कारणले हाल तेलको मूल्य घटे पनि भविष्यमा पुनः वृद्धि हुन सक्ने चेतावनी दिइएको छ ।
इरान युद्धको अन्त्यसँगै विश्व राजनीति नयाँ मोडमा पुगेको देखिन्छ । अमेरिका अझै प्रमुख शक्ति भए पनि उसको प्रभावबारे प्रश्न उठ्न थालेका छन् । चीनले आफूलाई वैकल्पिक नेतृत्व, कूटनीतिक समाधान र बहुध्रुवीय विश्व व्यवस्थाको पक्षधरका रूपमा प्रस्तुत गरिरहेको छ । युद्धले इरान, अमेरिका वा इजरायललाई मात्र असर गरेन; यसले अन्तर्राष्ट्रिय सम्बन्ध, ऊर्जा सुरक्षा, क्षेत्रीय गठबन्धन र भविष्यको शक्ति सन्तुलनबारे नयाँ बहस जन्माएको छ । आगामी ६० दिनभित्र अमेरिका र इरानबीच अन्तिम सम्झौता हुने वा नहुने भन्ने कुराले मध्यपूर्वको मात्र होइन, विश्व राजनीतिको दिशासमेत निर्धारण गर्नेछ । तर एउटा कुरा स्पष्ट देखिएको छ—यस युद्धले चीनलाई आफ्नो प्रभाव विस्तार गर्ने अवसर दिएको छ भने अमेरिकालाई आफ्नो शक्ति र रणनीतिक क्षमताबारे पुनर्विचार गर्न बाध्य बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्