नेभिगेशन
विश्व

पारपाचुकेमा जनावरको तनाव थपिँदो

वासिङ्टन, (एजेन्सी) । अमेरिकाका सबैभन्दा महŒवपूर्ण कर्पोरेट मुद्दाहरूमाथि सुनुवाइ गर्ने प्रसिद्ध डेलावेयर चान्सेरी अदालतले हालै एउटा निकै रोचक विवाद टुंग्याउनुप¥यो । अलग भइसकेका एउटा जोडीले आफ्नो गोल्डेन्डुडल कुकुर ‘टकर’ कसले राख्ने भन्ने निर्णय गर्न सकेनन् । त्यसपछि न्यायाधीशले उसैलाई स्वामित्व दिने प्रस्ताव राखे, जसले उच्च बोली लगाउँछ । अन्ततः पूर्व प्रेमीले कुकुर आफ्नो घरमा लैजान बढी रकम तिर्न राजी भए र पुरुषले कुकुर पाए । तर, यदि उनीहरू विवाहित भएका भए, परिणाम फरक हुन सक्थ्यो । सन् २०२३ देखि डेलावेयरले सम्बन्धविच्छेद भएका जोडीका घरपालुवा जनावरको भविष्य तय गर्दा तिनको ‘वेल बिइङ’लाई पनि विचार गर्न न्यायाधीशहरूलाई निर्देशन दिएको छ ।
अमेरिकाका अधिकांश राज्यमा सम्बन्धविच्छेदसम्बन्धी कानुनले जनावरलाई सम्पत्तिका रूपमा व्यवहार गर्छ । तर केही राज्यहरू यो अभ्यासबाट अलग हुन थालेका छन् । म्यासाचुसेट्समा प्रस्तावित एक विधेयकले सम्बन्धविच्छेदका विवादमा न्यायाधीशहरूलाई घरपालुवा जनावरको ‘सर्वोत्तम हित’ केमा छ भन्ने मूल्यांकन गर्न बाध्य बनाउनेछ । पेन्सिलभेनियाको तल्लो सदनले गत वर्ष एउटा विधेयक पारित गरेको थियो, जसले घरपालुवा जनावरलाई ‘सामान्यतया प्रिय पारिवारिक सदस्यका रूपमा हेरिने जीवित प्राणी’ भनेर वर्गीकरण गर्ने प्रस्ताव गरेको छ ।
यी प्रयासहरू सफल भएमा म्यासाचुसेट्स र पेन्सिलभेनिया त्यस्ता करिब आधा दर्जन राज्यको सूचीमा थपिनेछन्, जहाँ घर विभाजन गर्दा अदालतले जनावरको हितलाई पनि ध्यान दिनुपर्छ । यसले कानुनी प्रक्रियालाई अझ व्यापक बनाउन सक्छ । इलिनोइसले सन् २०१८ मै सम्बन्धविच्छेदका क्रममा जनावरलाई विशेष हैसियत दिएको थियो । यस वर्ष अप्रिलमा त्यहाँका सांसदहरूले दीर्घकालीन अविवाहित साझेदार तथा कोठा साझेदारहरूलाई समेत साझा घरपालुवा जनावरको अभिभावकत्वका लागि अदालत जान सक्ने व्यवस्था गर्ने प्रस्ताव अघि बढाए ।
यो परिवर्तन समाजको सांस्कृतिक रूपान्तरणको संकेत पनि हो । प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार अधिकांश घरपालुवा जनावर पाल्नेहरू आफ्नो जनावरलाई परिवारकै सदस्य मान्छन् । ५१ प्रतिशतले भने तिनलाई मानव परिवारका सदस्यसरह मूल्य दिन्छन् । अर्को सर्वेक्षणले झन्डै आधा ‘जेनजी’ उत्तरदाताले आफ्नो घरपालुवा जनावरलाई आफ्नै सन्तानसरह ठान्ने देखाएको छ । खर्चको आकार पनि त्यसै अनुसार बढेको छ । अमेरिकीहरूले सन् २०२४ मा आफ्ना घरपालुवा जनावरमा १५२ अर्ब डलर खर्च गरेका थिए । एक दशकअघिको तुलनामा यो दोब्बरभन्दा बढी हो । टकरजस्ता पूर्ण रूपमा तालिमप्राप्त गोल्डेन्डुडल कुकुरको मूल्य एक लाख डलरसम्म पुग्न सक्छ ।
समर्थकहरूको तर्क के छ भने, जहाँसुकै अदालतले सम्बन्धविच्छेदमा घरपालुवा जनावरको विषय उठाउँछ, त्यहाँ कुन पक्षले जनावरको राम्रो हेरचाह गर्न सक्छ भन्ने मूल्यांकन गरी आर्थिक सहयोगको व्यवस्था समेत गर्नुपर्छ । न्युयोर्ककी एक महिलाले आफ्नो सम्बन्धविच्छेदपछि भएको सहमतिअनुसार पूर्व पतिले प्रत्येक महिना एक हजार डलर दिने गरेको बताएकी छन्, जसबाट उनले उनीहरूका दुई कुकुरको हेरचाह गर्छिन् ।
तर आलोचकहरूका अनुसार नयाँ अभिभावकत्वसम्बन्धी कानुनले अदालतमा मुद्दाको चाप अझ बढाउन सक्छ । सम्बन्धविच्छेद आफैं महँगो प्रक्रिया हो । कोलोराडो बार एसोसिएसनले सम्बन्धविच्छेद अदालतहरू पहिले नै बाल अभिभावकत्व र घरेलु हिंसासम्बन्धी मुद्दाले अत्यधिक व्यस्त रहेको गुनासो गरेको छ ।
विधायकी सुधारको गति सामान्यतया सुस्त हुन्छ तर सम्बन्ध भने पर्खेर बस्दैनन् । त्यसैले नयाँ कानुन लागू हुनुअघि नै अलग हुने जोडीहरूलाई वकिलहरूले ‘पेटनप’ अर्थात् घरपालुवा जनावरसम्बन्धी पूर्व–सम्झौता गर्न सल्लाह दिन थालेका छन् । यस्ता सम्झौतामा सम्बन्ध टुटेपछि जनावर कसले राख्ने भन्ने कुरा पहिल्यै स्पष्ट गरिन्छ । आज गरिने यस्तो ‘पेटनप’ले भोलिको ‘कुकुर–बिरालो झगडा’ टार्न सक्ने द इकोनमिस्ट पत्रिकाले टिप्पणी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्