नेभिगेशन
खेलकुद

विश्वकप हेर्न हिटलर पुगे अमेरिका !

विभिन्न सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर तीव्र रूपमा भाइरल भइरहेको छ । तस्वीरमा जर्मनीले कुरासाओमाथि ७–१ को जित निकाल्दा रंगशालामा हिटलरजस्तै देखिने एक फुटबल प्रशंसक उपस्थित रहेको दाबी गरिएको थियो । भाइरल भइरहेको नक्कली हिटलरको तस्बिर वास्तविकता के हो ?
गएको आइतबार फिफा विश्वकप खेलका दौरान जर्मनीको पूरा ध्यान आफ्नो राष्ट्रिय टोलीले कुरासाओमाथि हात पारेको ७–१ को शानदार र एकतर्फी जितमा केन्द्रित थियो । यद्यपि, मैदान बाहिर भने सामाजिक सञ्जालमा धेरै मानिसहरूको ध्यान बिल्कुलै फरक कुरामा अड्किएको थियो । त्यो थियो रंगशालाभित्रका एक प्रशंसकको तस्बिर । उनले जर्मनीको जर्सी लगाएका थिए, हातमा जर्मनीको झन्डा बोकेका थिए र उनको अनुहार दुरुस्तै हिटलरसँग मिल्थ्यो ।
यो तस्बिर धेरै सञ्जालहरूमा सेयर गरियो र लाखौं पटक हेरियो । उदाहरणका लागि, एक्स (ट्विटर)मा यस पोस्टलाई ३० लाखभन्दा बढी पटक हेरियो । जबकि, इन्स्टाग्राममा यस पोस्टले ४,६०,००० भन्दा बढी लाइक पायो । यो दाबी अन्य धेरै भाषाहरूमा पनि भाइरल भयो । जस्तै, फेसबुकमा स्पेनिस भाषामा र थ्रेड्समा रुसी भाषामा । 
तर, यो तस्बिर वास्तविक भने होइन । डीडब्लूूले गरेको तथ्य जाँचमा यो तस्बिर नक्कली भएको र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को सहयोगमा परिमार्जन गरेर तयार पारिएको पाइएको पत्ता लागेको छ । 
वास्तविक तस्बिरको अध्ययन
हिटलरजस्तै देखिने व्यक्तिको यो भनिएको तस्बिर खेलको टिभी प्रसारणको एउटा स्क्रिनसटजस्तो देखिन्छ, जसमा पहिलो हाफको इन्जुरी समयको टाइमस्ट्याम्प पनि छ । यो ठीक त्यतिबेलाको कुरा हो, जब काई हाभट्र्जले पेनाल्टीलाई गोलमा परिणत गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाएका थिए । त्यस समयमा रंगशालामा उपस्थित प्रशंसकहरू निकै खुसी थिए र खुसीयाली मनाइरहेका थिए ।
जब खेलको वास्तविक प्रसारणलाई पुनः हेरियो, तब त्यसमा प्रशंसकहरूको त्यही समूह हाभट्र्जको गोलपछि खुसीयाली मनाइरहेको देखिन्छ, तर त्यहाँ एउटा मुख्य फरक पाइयो । हिटलरजस्तै देखिने भनिएका ती व्यक्ति पूरा फुटेजमा कतै पनि देखिएनन् । त्यसको सट्टा, वास्तविक फुटेजमा खैरो कपाल भएका एक व्यक्ति देखिन्छन्, जो हिटलरजस्तो बिल्कुलै देखिँदैनन् ।
यहाँ के बुझ्न जरुरी छ भने विश्वकपजस्ता ठूला खेलकुद आयोजनाका लागि खेलको मुख्य लाइभ भिडियो स्वयम् आयोजक संस्थाले तयार पार्छ र यही मुख्य भिडियो फिडलाई विश्वभरका साझेदार च्यानल र प्रसारकहरूलाई केन्द्रीय फिडका रूपमा उपलब्ध गराइन्छ ।
यसको अर्थ सबै च्यानलहरूमा देखाइने मुख्य भिडियो (खेलका दृश्यहरू) एउटै हुन्छन् । च्यानलहरूले केवल आफ्नो आवश्यकता अनुसार त्यसमा सानोतिनो परिवर्तन गर्छन्, जस्तै आफ्नो लोगो राख्ने वा स्कोरबोर्डको रङ बदल्ने । प्रत्यक्ष प्रसारणका अलावा, प्रशंसकहरूको त्यस समूहमा को–को मानिसहरू सामेल थिए भन्ने कुराको अर्को संकेत ती फोटो एजेन्सीका तस्बिरहरू हेरेर थाहा पाउन सकिन्छ, जसले यो खेल कभर गर्न आधिकारिक अनुमति पाएका थिए ।
फोटो एजेन्सीद्वारा उपलब्ध गराइएको जानकारीका आधारमा यो तस्बिर ठ्याक्कै कुन समयमा खिचिएको हो भन्ने कुरा पत्ता लगाउन सम्भव नभए पनि प्रशंसकहरूको त्यस समूहमा हिटलरजस्तो देखिने कुनै पनि मानिस सामेल थिएनन् भन्ने कुराको यो अर्को बलियो प्रमाण हो ।
के यो एआईबाट तयार पारिएको तस्बिर हो?
यस तस्बिरको वास्तविकता जाँच गर्ने अर्को कदम भनेको यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर बनाइएको हो वा यसमा कुनै परिवर्तन गरिएको हो भन्ने कुरा पत्ता लगाउनु हो । धेरै एआई च्याटबोटहरूले अहिले आफ्नो प्रणाली प्रयोग गरेर कुनै तस्बिर बनाइएको हो वा त्यसमा कुनै परिवर्तन गरिएको हो कि होइन भनी जाँच गर्ने सुविधा दिन्छन् ।
यो यसकारण सम्भव भएको हो किनभने यस्ता एआई टुलहरूले तस्बिरभित्र एउटा डिजिटल वाटरमार्क लुकाएर राख्छन् । यो वाटरमार्क हाम्रो नाङ्गो आँखाले देखिँदैन, तर जब यस प्रविधिको प्रयोग गरेर तस्बिरको जाँच गरिन्छ, तब यसलाई सजिलै पक्रन सकिन्छ ।
‘ओपनएआई’ मार्फत गरिएको जाँचपछि भनिएको छ, ‘तस्बिरभित्र एउटा सिन्थ–आईडी वाटरमार्क भेटिएको छ, जुन स्वयम् ओपनएआई प्रणालीबाटै तयार भएको थियो ।’
गुगलको जेमिनी टुलको मद्दतले गरिएको अर्को जाँचबाट केही नयाँ प्रमाणहरू फेला पर्छन् । यसले तस्बिर परिमार्जन गर्न गुगल एआईको कुनै प्रणाली प्रयोग नगरिएको देखाए पनि ‘तस्बिरको विश्लेषण गर्दा र त्यसको सन्दर्भ जाँच गर्दा यो फोटोलाई डिजिटल रूपमा परिमार्जन गरिएको वा डिजिटल तरिकाले नै बनाइएको स्पष्ट हुन्छ’ भनी उल्लेख गरेको छ ।
तेस्रो टुल हो, एक्सको ग्रोक । यस टुलले यो तस्बिरलाई ‘पूर्ण रूपमा नक्कली’ भनेको छ । भाइरल पोस्टको मुनि, एक्समा एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै यसले यस्तो भनेको हो । यसमा अगाडि भनिएको छ, ‘यो तस्बिर वास्तविक होइन । यसमा डिजिटल रूपमा परिवर्तन (एआई वा फोटोसप) गरेर, २०२६ को विश्वकपको भीडमा हिटलरलाई देखाइएको हो ।’
यद्यपि, यी टुलहरूको प्रयोग जहिले पनि सावधानीपूर्वक गरिनुपर्छ, किनभने यसले कहिलेकाहीँ गल्ती पनि गर्न सक्छ । तर, यस मामलामा तीनवटै फरक टुलहरू एउटै निष्कर्षमा पुगे, जसले मूल फुटेजका आधारमा गरिएको विश्लेषणलाई थप पुष्टि गर्छ ।
सन्दर्भका बारेमा सोचौं
एकतर्फ विश्वकपलाई एउटा ठूलो उत्सवका रूपमा हेरिन्छ जसले विश्वभरका प्रशंसक र संस्कृतिहरूलाई एकै ठाउँमा ल्याउँछ । अर्कोतर्फ, यदि रंगशालामा साँच्चिकै ती नाजी तानाशाहजस्तै देखिने कुनै प्रशंसक उपस्थित हुन्थे, जो दोस्रो विश्वयुद्धको सुरुवातकर्ता र यहुदीहरूको नरसंहार (होलोकस्ट) का लागि जिम्मेवार थिए, भने यसले रंगशालामा ठूलो विवाद खडा गर्ने थियो ।
यस्तो घटनामा प्रसारणकहरू वा रंगशालाका अधिकारीहरूको ध्यान तुरुन्तै जाने थियो । साथै, रंगशालामा उपस्थित धेरै जर्मन प्रशंसकहरूले पनि यसको कडा विरोध गर्ने थिए ।
यसबाहेक, ध्यान दिनुपर्ने कुरा के छ भने यस तस्बिरमा हिटलरजस्तै देखिने भनिएका ती व्यक्तिले कालो, रातो र सुनौलो रङको जर्मनीको जर्सी लगाएको देखिन्छ । यी राष्ट्रिय रङहरू जर्मनीको लोकतान्त्रिक परम्परा र संघीय गणतन्त्रको पहिचान हुन् ।
कट्टर दक्षिणपन्थी र पपुलिस्ट राजनीति गर्ने नेताहरूले लामो समयदेखि यी रङ र झन्डालाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने प्रयास गरे तापनि कालो, रातो र सुनौलो रङले वास्तवमा जुन मूल्य र विचारहरूको प्रतिनिधित्व गर्छन्, ती हिटलर र नाजीवादी सोचको पूर्ण रूपमा विरुद्धमा छन् । हिटलरको नजरमा यी रङहरू एक कमजोर संसदीय प्रणालीका प्रतीक थिए, जसलाई उसले पछि गएर पूर्ण रूपमा समाप्त गरिदिएको थियो ।
यो नक्कली तस्बिर झुटा र भ्रामक समाचारहरूको त्यो ठूलो ट्रेन्डको हिस्सा हो, जसमध्ये अधिकांश एआईको मद्दतले तयार पारिएका वा परिमार्जन गरिएका हुन्छन् । यस्ता तस्बिरहरू विश्वकप सुरु हुनुभन्दा अघिदेखि लिएर खेल भइरहेको समयसम्म लगातार इन्टरनेटमा भाइरल भइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्