नेभिगेशन
विश्व

केमा अल्झिरहेको छ शान्ति सम्झौता ?

दुबई, (एपी) । इरानी सञ्चारमाध्यमहरूले संयुक्त राज्य अमेरिकामाथि ‘सानदार विजय’ हासिल भएको दाबी गरिरहँदा तेहरानले यसै हप्ता हस्ताक्षर गरिएको अन्तरिम शान्ति सम्झौताको फाइदा उठाउन तीव्र रूपमा काम गरिरहेको छ । उसले सम्झौताअन्तर्गत तीव्र गतिमा तेल बिक्री गर्न थालेको छ भने लेबनानमा इजरायली आक्रमण रोक्ने प्रयाससमेत गरिरहेको छ ।
तर, इस्लामिक गणतन्त्र इरानले आफैं पनि ठूला झट्काहरू भोगेको छ र आगामी दिनमा उसका सामु धेरै चुनौतीहरू छन् । युद्धपछि देशको अर्थतन्त्र तहसनहस भएको छ, गत जनवरीमा देशव्यापी रूपमा ठूला विरोध प्रदर्शनहरू भए र त्यहाँका सर्वोच्च नेता अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् । विगतका दुई चरणको आक्रमण बेहोरेपछि इरान अहिले अमेरिकासँग आणविक वार्तामा प्रवेश गर्दैछ ।
यस सम्झौताले इरानलाई निकै आवश्यक परेको प्रतिबन्धहरूबाट राहत दिनेछ, तर त्यसमध्ये अधिकांश राहत इरानले आफ्नो आणविक कार्यक्रम कटौती गरेपछि मात्र पाउनेछ । यसमा कम्तीमा पनि अत्यधिक संवद्र्धित युरेनियमको भण्डारलाई पातलो (कम तीव्रताको) बनाउनु पर्ने सर्त सामेल छ । यो सम्झौताले इरानका कट्टरपन्थीहरूलाई आक्रोशित बनाएको छ । अर्कोतर्फ, अमेरिकाले इरानलाई युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्न माग गरिरहेको छ, जसलाई इरानले दशकौंदेखि दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।
हप्तौंसम्म अमेरिकी र इजरायली भीषण आक्रमणको सामना गरेर पनि सत्ता टिकाउन सफल भएका कारण इरानका नेताहरू आत्मविश्वास प्रदर्शन गरिरहेका छन् । इरानले हर्मुज जलडमरू बन्द गर्न सक्ने र विश्व अर्थतन्त्रलाई क्षति पु¥याउन सक्ने क्षमता देखाइसकेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः युद्ध सुरु गर्ने धम्कीलाई व्यवहारमा उतार्ने सम्भावना कम रहेको उनीहरूको बुझाइ छ ।
जेनेभा ग्रेजुएट इन्स्टिच्युट थिंक ट्यांकका इरान मामिला विज्ञ फर्जान साबेत भन्छन्, ‘इरान विजयी भएर निस्कियो भन्नु त अलि बढी नै हुन्छ, तर यो स्थिति अझ धेरै खराब हुन सक्थ्यो । मेरो विचारमा इरानको वास्तविक विजय भनेको उसको अस्तित्व बच्नु नै हो ।’
सम्झौताले दिएको आर्थिक फाइदा
अन्तरिम सम्झौताअन्तर्गत अमेरिकाले इरानलाई कच्चा तेल निर्यात गर्न अनुमति दिने गरी प्रतिबन्धहरू खुकुलो बनाउनेछ । ‘लोयड्स लिस्ट इन्टेलिजेन्स’का अनुसार अमेरिकाले नाकाबन्दी हटाएसँगै इरानका कम्तीमा तीनवटा सरकारी तेल ट्यांकरहरूले यात्रा सुरु गरिसकेका छन् ।
ट्यांकर ट्रयाकर्स डट कमले शुक्रबार जनाए अनुसार इरानले पछिल्लो पाँच दिनमा करिब १ करोड ८० लाख ब्यारेल तेल निर्यात गरेको छ, जसको मूल्य १ अर्ब ४४ करोड डलर बराबर हुन्छ । पर्सियन खाडीमा रहेको इरानको मुख्य निर्यात टर्मिनल खार्क टापुबाट तेलले भरिएका अन्य दर्जनौं ट्यांकरहरू छिट्टै प्रस्थान गर्न सक्छन्, जसले गर्दा विश्व बजारमा तेलको मूल्य अझ घट्न सक्छ ।
गत महिना प्रतिब्यारेल ११० डलरभन्दा माथि व्यापार भएको बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य यो सम्झौता भएपछि करिब ८० डलरमा झरेको छ । अमेरिकामा पनि पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलरभन्दा तल झरेको छ, जसलाई आगामी मध्यावधि कंग्रेस चुनावको दृष्टिकोणले निकै चासोका साथ हेरिएको छ ।
प्रतिबन्धका कारण इरानले लामो समयदेखि लुकीछिपी चल्ने ‘स्याडो फ्लिट’ (गुप्त जहाजहरू) मार्फत कच्चा तेल निर्यात गर्नुपरेको थियो र मुख्य रूपमा चीनलाई बजार मूल्यभन्दा कम दरमा बेच्नु परेको थियो । अब भने उसले धेरै ग्राहकहरू खोज्न र राम्रो मूल्य पाउन सक्छ ।
युद्धको असरसँग जुधिरहेको इरानलाई अहिले यो रकमको सबैभन्दा बढी आवश्यकता छ ।
इरानमा गहिरिँदो आर्थिक संकट
महिनौं लामो इन्टरनेट प्रतिबन्ध सरकारले हटाएपछि धेरै इरानीहरूले आफ्ना खाली रेफ्रिजरेटरका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
मासु र अन्य आधारभूत खाद्यवस्तुहरू कतिपय परिवारका लागि अत्यधिक महँगो भएका छन् । सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरूसँग आणविक सम्झौता हुँदा प्रतिडलर ३२,००० रहेको इरानी रियालको मूल्य अहिले अवमूल्यन भएर प्रतिडलर १५ लाखभन्दा बढी पुगेको छ ।
वासिङ्टन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीकी सिनियर फेलो होली डाग्रेस भन्छिन्, ‘यस द्वन्द्वका कारण इरानमा कम्तीमा १० लाख मानिसले रोजगारी गुमाएको अनुमान छ, जसमध्ये २० प्रतिशत रोजगारी कटौती सरकारले लगाएको इन्टरनेट प्रतिबन्धसँग जोडिएको छ ।’
उनी थप्छिन्, ‘प्रणालीगत कुशासन, भ्रष्टाचार र अमेरिकी प्रतिबन्धका कारण पहिले नै संघर्ष गरिरहेका सर्वसाधारण इरानीहरूलाई अहिलेको अत्यधिक मुद्रास्फीतिले थप मारमा पारेको छ, जसले इरानी रियाललाई व्यावहारिक रूपमा मूल्यहीन बनाइदिएको छ ।’
रियालको यही गिरावटले गर्दा गत जनवरीमा इरानभरि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो, जसले तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शासनलाई चुनौती दिएको थियो । इरानको सुरक्षा बलले इतिहासकै सबैभन्दा क्रूर दमन गर्दै हजारौं मानिसको ज्यान लिएको थियो ।
८६ वर्षीय खामेनी र अन्य शीर्ष नेताहरू गत फेब्रुअरी २८ मा इजरायलको प्रारम्भिक आक्रमणमा मारिएका थिए । उनीहरूको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई ४ देखि ९ सम्म तय गरिएको छ, जुन प्रदर्शनकारीमाथिको दमनको ६ महिना पुगेको अवसरसँग मेल खान्छ । सरकारले युद्ध सुरु भएदेखि नै आफ्नो शक्ति प्रदर्शन गर्न निरन्तर ¥यालीहरू आयोजना गर्दै आएको छ ।
इरानका उदारवादी आवाजहरूले भने वार्ताबाट हुन सक्ने सम्भावित आर्थिक लाभ उठाउन देशलाई दबाब दिइरहेका छन् । सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनेसँगै, यदि इरानले अमेरिकासँग अन्तिम सम्झौता गरेमा इरानका लागि ३०० अर्ब डलरको लगानी कोष उपलब्ध गराउने वाचा यस सम्झौतामा गरिएको छ — यद्यपि त्यो रकम कहाँबाट आउँछ भन्ने कुरा अझै स्पष्ट छैन ।
अहिलेको मुख्य प्रश्न के हो भने इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनी (दिवंगत नेताका छोरा) र सत्तामा रहेका कट्टरपन्थीहरू कुन हदसम्म सम्झौता गर्न तयार छन् ? सरकारी सञ्चारमाध्यममा जारी एक विज्ञप्तिमा उनले अन्तरिम सम्झौताको समर्थन गर्दै वार्ताको अर्थ ‘शत्रुको विचार स्वीकार गर्नु’ नभएको बताएका छन्, तर विस्तृत विवरण नदिई आफ्नो ‘फरक दृष्टिकोण’ रहेको पनि उल्लेख गरेका छन् ।
लेबनान र आणविक मुद्दामा सम्झौता भाँडिन सक्ने खतरा
लेबनानमा जारी द्वन्द्वले यो सम्झौतालाई पहिले नै जोखिममा पारिसकेको छ । इजरायल र इरान समर्थित हिजबुल्लाह लडाकुहरूबीचको लडाइँ तीव्र भएपछि स्विट्जरल्याण्डमा शुक्रबारका लागि तय भएको वार्ता स्थगित गरिएको थियो ।
इजरायलले दक्षिणी लेबनानको ठूलो क्षेत्रमा आफ्नो नियन्त्रण कायम राख्ने र हिजबुल्लाहबाट खतरा निकै कम नभएसम्म लडाइँ जारी राख्ने बताएको छ । हिजबुल्लाहले भने इजरायली सेना फिर्ता नभएसम्म आक्रमण नरोक्ने अडान लिएको छ, यद्यपि दुवै पक्ष शुक्रबार युद्ध रोक्न सहमत भएका छन् ।
इरान र अमेरिकाबीचको अन्तरिम सम्झौताले दुवै पक्षलाई सैन्य कारबाही बन्द गर्न र लेबनानको क्षेत्रीय अखण्डता तथा सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेको छ । तर यसमा इजरायल वा हिजबुल्लाह कसैले पनि हस्ताक्षर गरेका छैनन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले मंगलबार भनेका छन्, ‘लेबनानमा युद्धको अन्त्य हुनु भनेको पूर्ण रूपमा युद्ध समाप्त हुनुको अभिन्न अंग हो । र युद्धको अन्त्यमा कब्जा गरिएको भूमि फिर्ता हुनु पनि सामेल छ ।’
यसले अमेरिकीहरूका लागि सम्झौता गर्न निकै कम ठाउँ छोडेको छ, जसका कारण उनीहरूले उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्याण्ड भ्रमण स्थगित गरेका छन् । त्यसपछि वास्तविक वार्ताको पाटो आउँछ । इरानले अमेरिका र इजरायलले लामो समयदेखि उठाउँदै आएका दुईवटा मुख्य मुद्दाहरूलाई वार्ताको टेबलबाट हटाउन सफल भएको देखिन्छः उसको मिसाइल कार्यक्रम र हिजबुल्लाह तथा अन्य लडाकु समूहहरूलाई दिइँदै आएको समर्थन ।
मुख्य आणविक मुद्दामा, इरान आफ्नो अत्यधिक संवद्र्धित युरेनियमलाई पातलो बनाउन सहमत भएको छ, जसले अमेरिकाको एउटा ठूलो चिन्तालाई सम्बोधन गर्दछ । तर, अति–कट्टरपन्थी गुटहरूसँग आबद्ध सञ्चारमाध्यम ‘राजा न्युज’ले सो सम्झौताको आलोचना गर्दै इरानले ‘आफ्नो सबैभन्दा महŒवपूर्ण हतियार गुमाएको’ टिप्पणी गरेको छ । यसले इरानलाई व्यापक युरेनियम संवर्धन कार्यक्रमजस्ता अन्य मुद्दाहरूमा पछि नहट्न आन्तरिक दबाब रहेको देखाउँछ । ‘आणविक मुद्दामा केन्द्रित हुने दोस्रो चरणको छलफलप्रति म धेरै आशावादी छैन,’ साबेत भन्छन्, ‘ती कुराकानीहरू कता मोडिने हुन्, कम्तीमा यो वर्ष स्पष्ट देखिँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्