पछिल्लो समय भिडियो सहायक रेफ्री (भीएआर)को प्रयोगको आलोचना हुन थालेको छ । यस्तो आलोचना प्रिमियर लिगको एउटा खेलजस्तै बनिसकेको छ । तर २०२६ को विश्वकपमा भने भीएआरको अनुभव निकै फरक महसुस भएको छ । यहाँ यसको प्रयोग अधिकांश समय निकै शान्त र कम चर्चित रह्यो । कम चर्चित भए पनि प्रति खेल भीएआर हस्तक्षेपको दर गत सिजनको प्रिमियर लिगभन्दा विश्वकपमा बढी छ ।
विशेष गरी फुटबलजस्तो भावनात्मक खेलमा, धारणा कहिलेकाहीँ तथ्यभन्दा पनि शक्तिशाली हुन सक्छ । विश्वकपमा खेलहरू लगातार भइरहन्छन् । एउटा विवादास्पद घटना भएको केही समयमै अर्को खेल सुरु भइसकेको हुन्छ र पुरानो घटना चर्चाबाट ओझेलमा पर्न थाल्छ । उता प्रिमियर लिगमा भने समर्थकहरू प्रत्येक खेलसँग गहिरो रूपमा जोडिएका हुन्छन् । त्यसैले त्यहाँ विवाद त्यति चाँडो हराउँदैन ।
विश्वकपमा रेफ्रीङ प्रिमियर लिगजस्तै भइरहेको छ ?
विश्वकपमा भीएआर विवादरहित भने छैन । उदाहरणका लागि उद्घाटन खेलमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेलाई हिंसात्मक व्यवहारका कारण देखाइएको रातो कार्ड सम्झन सकिन्छ । अथवा फ्रान्सका किलियन एम्बाप्पेमाथि सेनेगलका साडियो मानेले लडाएको जस्तो देखिए पनि रेफ्रीले पेनाल्टी पुनरावलोकन अस्वीकार गरेको घटना । समग्रमा हेर्दा यस्ता चर्चित घटनाहरू धेरै भएका छैनन् ।
ठूला प्रतियोगिताहरूमा सामान्यतया यस्तै हुन्छ किनभने खेलाडीहरूले ३८ खेलको लिग सिजनको तुलनामा कम जोखिम लिन्छन् । औसतमा, विश्वकपको एउटा खेलमा एउटा मात्र प्रमुख विवादास्पद घटना (रातो कार्ड, पेनाल्टी दाबी आदि) हुन्छ । प्रिमियर लिगमा भने यस्तो संख्या तीनवटा हुन्छ । यसले लिग स्तरमा बढी विवाद सिर्जना हुने सम्भावना स्वतः बढाउँछ । विश्वकपमा रेफ्रीङ उत्कृष्ट स्तरको हुने अपेक्षा पनि गरिन्छ ।
आखिर, फिफाले विश्वभरिबाट छनोट गरेर ५१ जना उत्कृष्ट रेफ्री र ३० जना उत्कृष्ट भिडियो म्याच अधिकारीलाई प्रतियोगितामा खटाएको छ । फिफाका रेफ्री प्रमुख पिएरलुगी कोलिन्सको नाम विस्तारै फुसफुसाएर भनिए पनि उनी आफ्ना रेफ्रीहरूले प्रतियोगितालाई केही हदसम्म प्रिमियर लिगको खेलझैँ सञ्चालन गरून् भन्ने चाहन्छन् । कोलिन्सको मूल धारणा के हो भने फुटबल सम्पर्क हुने खेल हो र प्रत्येक सम्पर्कलाई फाउल मान्न आवश्यक छैन । उनी खेललाई छिटो गतिमा र अविरल रूपमा चलाउन चाहन्छन् ।
यो वाक्यांश प्रिमियर लिगको मार्गदर्शिकाबाट सिधै निकालिएको जस्तो लाग्न सक्छ । तथ्यांकले पनि यसैलाई समर्थन गर्छ । रेफ्रीहरूले पहिलेको तुलनामा निकै कम फाउलका लागि सिटी बजाइरहेका छन् । सन् २०१८ को विश्वकपमा प्रति खेल औसत २७ फाउल हुन्थे । चार वर्षअघि कतार विश्वकपमा यो संख्या २५ थियो । यस विश्वकपमा भने यो २१.७ मा झरेको छ । गत सिजन प्रिमियर लिगमा यो २१.६ थियो । कोलिनाले प्रति खेल पहेँलो कार्डको संख्या पनि घटाएका छन् । अहिले औसत २.४ कार्ड मात्रै देखाइएको छ । यो अन्य प्रमुख प्रतियोगिता वा हालका विश्वकपहरूको तुलनामा निकै कम हो । यदि खेल सञ्चालन गर्ने तरिका परिवर्तन हुन्छ भने भिडियो समीक्षा प्रणाली पनि त्यसअनुसार बदलिनुपर्छ ।
विश्वकपमा भीएआरको हस्तक्षेप कम
मैदानमा चुनौतीहरूलाई हेर्ने कोलिनाको दृष्टिकोण भीएआरसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । उनी निर्णयमा एकरूपता चाहन्छन् । यदि मैदानमा बढी ट्याकललाई खेल जारी राख्न दिइयो भने भीएआरले पनि कम हस्तक्षेप गर्नुपर्छ । दुवैको मापदण्ड एकै दिशामा सर्नुपर्छ । उदाहरणका लागि मोरक्कोविरुद्ध स्कटल्यान्डका जोन म्याकगिन र स्कट म्याकटोमिनेका पेनाल्टी दाबीहरू । निस्सन्देह पेनाल्टी माग गर्न सकिने अवस्था थिए तर कोलिनाको मापदण्डअनुसार ती पर्याप्त बलिया थिएनन् ।
सार्वजनिक धारणा विपरीत, युरोपका प्रमुख लिगहरूमध्ये भीएआर हस्तक्षेपको सबैभन्दा कम दर प्रिमियर लिगमै छ, प्रति खेल ०.२९ । इंग्ल्यान्डमा धेरै सुनिने ‘उच्च मापदण्ड’ विश्वकपमा पनि लागू भएको छ । कतार विश्वकपमा प्रति खेल ०.४१ भीएआर हस्तक्षेप थियो भने यस विश्वकपमा यो ०.३३ मा झरेको छ । यो प्रिमियर लिगको व्याख्याको धेरै नजिक छ । यसलाई युइएफए च्याम्पियन्स लिगसँग तुलना गर्दा, गत सिजन च्याम्पियन्स लिगमा प्रति खेल ०.४७ हस्तक्षेप थियो । लगभग प्रत्येक दुई खेलमा एकपटक ।
त्यसपछि आउँछन् व्यक्तिपरक समीक्षा अर्थात् सब्जेक्टिभ रिभ्युज, जहाँ रेफ्री स्वयं मोनिटर हेर्न जानुपर्छ । विश्वकपमा यस्ता छवटा समीक्षा भएका छन् । प्रिमियर लिगमा ५७ वटा भए पनि, प्रति खेल दर ०.१५ नै रहन्छ । च्याम्पियन्स लिगमा भने यो दर ०.३६ छ अर्थात् प्रति खेल मोनिटर हेर्नुपर्ने अवस्था दोब्बरभन्दा बढी । यी सबै तथ्यांकले अन्य प्रतियोगिताहरूमा भिडियो समीक्षा बढी हस्तक्षेपकारी हुनुपर्ने देखाउँछन् ।
विश्वकपमा भीएआर किन धेरै राम्रो महसुस हुन्छ ?
तथ्यांक कहिलेकाहीँ भ्रमपूर्ण पनि हुन सक्छ । विश्वकपमा भीएआर हस्तक्षेप प्रिमियर लिगभन्दा बढी हुँदा पनि किन उल्टो अनुभूति हुन्छ । यसका केही कारण छन् । सबैभन्दा ठूलो कारण गति हो । ढिलाइले शंका जन्माउँछ । कोलिनाको स्पष्ट दर्शन छ— उनका भीएआर अधिकारीहरूले छिटो र निर्णायक निर्णय गर्नुपर्छ । गल्तीहरू स्पष्ट रूपमा देखिनुपर्छ र भिडियो अधिकारीहरूले अत्यधिक विश्लेषण गर्नुहुँदैन ।
यसका कारण पेनाल्टी वा रातो कार्डजस्ता व्यक्तिपरक निर्णयहरूमा समीक्षा अवधि निकै छोटिएको छ । प्रिमियर लिगमा भने कहिलेकाहीँ निर्णय लिन ढिलाइ गर्ने, पुनःप्रसारणहरूमा धेरै समय खर्चिने र अत्यधिक सोच्ने प्रवृत्ति देखिन्छ । यसले लामो भीएआर समीक्षा निम्त्याउँछ, अर्ध–स्वचालित अफसाइड प्रविधिको आफ्नै संस्करण प्रयोग हुँदा समेत । प्रिमियर लिगका रेफ्री प्रमुख होवार्ड वेबको सोच पनि कोलिनासँग मिल्दोजुल्दो छ ।
तर ३८० खेलमा समान परिणाम प्राप्त गर्नु स्वाभाविक रूपमा बढी चुनौतीपूर्ण हुन्छ । फिफाको उन्नत अर्ध–स्वचालित अफसाइड प्रविधिले पनि मद्दत गरेको छ । खेलाडी १० सेन्टिमिटर वा सोभन्दा बढी अफसाइड हुँदा सहायक रेफ्रीले अडियो संकेत पाउँछन् । यसले ढिलो झण्डा उठाउने अभ्यासलाई लगभग समाप्त गरिदिएको छ । यसले धेरै निराशाजनक खेलक्रम हटाएको छ र केही अस्वीकृत गोलमा भीएआर समीक्षा आवश्यक नै नपर्ने बनाएको छ । यद्यपि केही समस्या भने आएका छन् । उदाहरणका लागि स्पेन र साउदी अरेबियाबीचको खेलमा प्रविधिले दुई खेलाडीलाई गडबड पार्दा एउटा अफसाइड निर्णयमा तीन मिनेट लागेको थियो ।
तर समग्रमा हेर्दा ढिलाइ कम गर्ने यसको फाइदा स्पष्ट छ । प्रसारण शैलीले पनि ठूलो फरक पार्छ । अर्को एउटा अप्रत्यक्ष कारणलाई कम आँक्न हुँदैन । विश्वकपमा प्रत्यक्ष खेल दृश्यहरू प्रतियोगिताका आयोजकले उपलब्ध गराउँछन् भने टेलिभिजन संस्थाहरूले केवल कमेन्ट्री प्रदान गर्छन् । फिफा र युईएफए दुवैसँग स्पष्ट नीति छ । सम्भावित रातो कार्ड वा पेनाल्टीको समीक्षा भइरहेका बेला घटना एक वा बढीमा दुई पटक मात्रै पुनःप्रसारण गरिन्छ ।
दर्शकलाई भीएआरको स्क्रिन पनि रेफ्री मैदानछेउको मोनिटरमा पुगेपछि मात्रै देखाइन्छ । यसको तुलना प्रिमियर लिगसँग गर्दा ठूलो अन्तर देखिन्छ । त्यहाँ प्रसारणकर्ताहरूको पहिलो जिम्मेवारी नै घटनाको विश्लेषण गर्नु हो । उनीहरूले एउटै दृश्यलाई सम्भव भएसम्म धेरै कोणबाट देखाउँछन् । कहिले स्लो मोसन, कहिले तीव्र गतिमा, अनि त्यसपछि विशेषज्ञ विश्लेषककहाँ पठाइन्छ— गल्ती भयो कि भएन भन्ने बहसका लागि । समालोचकहरूसँग भीएआर केन्द्रको प्रत्यक्ष अडियो र भिडियो पहुँचसमेत हुन्छ । उनीहरूले जुनसुकै बेला त्यो दृश्य दर्शकलाई देखाउन सक्छन् । यसले प्रत्येक सम्भावित घटनाप्रति पूर्णतः फरक दृष्टिकोण सिर्जना गर्छ ।
प्रतियोगिता आयोजकहरू विवाद कम देखाउन चाहन्छन्, जबकि प्रसारण अधिकारधारीहरू विवादलाई अझ आकर्षक सामग्रीका रूपमा प्रस्तुत गर्न चाहन्छन् । प्रिमियर लिगलाई शायद निराशा लाग्दो हो कि तथ्यांक विश्वकपसँग मिल्दाजुल्दा हुँदाहुँदै पनि धेरै समर्थकहरू भीएआर इंग्ल्यान्डमा बढी खराब छ भन्ने विश्वास गर्छन् । दुईवटा महŒवपूर्ण पाठ स्पष्ट छन्— भिडियो समीक्षाको सफलताका लागि शुद्धता सबैभन्दा महŒवपूर्ण भए पनि गति त्यसको सबैभन्दा ठूलो सम्पत्ति हो र भीएआरलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले पनि दर्शकको धारणामा ठूलो प्रभाव पार्छ ।