अमेरिकीहरूले ठूलो संख्यामा अमेरिका छाडिरहेका छन् र त्यहाँबाट चाँडोभन्दा चाँडो बाहिरिन उनीहरूले सयौँ डलर खर्च गरिरहेका छन् । तर गुगलका पूर्व इन्जिनियर एवं ’रुब्रिक’का सह–संस्थापक अरविन्द जैनको विचारमा उनीहरूले ठूलो गल्ती गरिरहेका छन् ।
जैनले फच्र्युन पत्रिकासँग कुरा गर्दै आजको दिनमा अमेरिकामा केही कुराहरू चुनौतीपूर्ण रहेको स्वीकार गरे । तर पनि यो अझै पनि अवसरको भूमि र उद्यमशीलताको सम्मान हुने ठाउँकै रूपमा रहेको उनको भनाइ छ ।
जैन उत्तर भारतको एउटा सानो सहर जयपुरबाट, जहाँ उनको आफ्नै भनाइअनुसार ९५ प्रतिशत मानिस कहिल्यै बाहिर जाँदैनथे, सन् १९८६ मा एउटा इन्जिनियरिङको डिग्री मात्र लिएर अमेरिका आएका थिए । पछि उनी गुगलका एक प्रतिष्ठित इन्जिनियर बने र त्यसपछि एउटा मात्र नभएर दुई–दुई वटा युनिकोर्न (एक अर्ब डलरभन्दा बढी मूल्यका कम्पनी) को स्थापना गरे । तीमध्ये एउटा क्लाउड डेटा कम्पनी ’रुब्रिक’ हो भने अर्को हालै स्थापना भएको ’ग्लीन’ हो, जसको बजार मूल्य अहिले करिब ७.२ अर्ब डलर छ ।
अहिले अमेरिका बढ्दो महँगी, राजनीतिक अस्थिरता र आफ्ना संस्थाहरूप्रतिको घट्दो विश्वाससँग जुधिरहेको हुन सक्छ । तर जैनका अनुसार जोसुकै व्यक्तिले पनि आफूलाई स्थापित गर्दै उनी जस्तै अर्बौं डलरको कम्पनी (वा दुई वटा कम्पनी) खडा गर्न सक्ने संसारकै एक मात्र ठाउँ अझै पनि अमेरिकै हो ।
उनी भन्छन्, ’तपाईं कलेजबाट भर्खरै उत्तीर्ण हुनुभएको छ र कुनै अनुभव छैन भने पनि यदि तपाईंसँग आइडिया छ भने लगानी गर्न तयार हुने मानिसहरू फेला पार्न सक्नुहुन्छ । मलाई लाग्छ यी सबै कुराहरू अझै पनि कायमै छन् ।’
यस सम्बन्धी तथ्यांकहरूले भने फरक र गम्भीर चित्र देखाउँछन् । ब्रुकिङ्स इन्स्टिच्युसनका अनुसार सन् २०२५ मा अमेरिकामा खुद बसाइँसराइको दर १० हजारदेखि २ लाख ९५ हजारको बीचमा ऋणात्मक रह्यो, जुन कम्तीमा ५० वर्षमा पहिलो पटक भित्रिनेभन्दा बाहिरिने मानिसको संख्या बढी भएको अवस्था हो । यसलाई प्रस्टसँग बुझ्दा, अमेरिकामा यस्तो ऋणात्मक खुद बसाइँसराइ झन्डै एक शताब्दीअघिको ’महामन्दी’ (ग्रेट डिप्रेसन) यता कहिल्यै भएको थिएन ।
राजनीतिक अस्थिरता, आप्रवासनमा गरिएको कडाइ र उच्च आम्दानी गर्ने (वार्षिक लाखौं डलर कमाउने) हरूलाई समेत समस्यामा पार्ने महँगीका कारण झन्डै ४ लाख ५ हजार मानिसले स्वेच्छाले देश छाडे ।
‘एक्सप्याट्सी’की सह–संस्थापक जेन बार्नेटले सिएनबिसि मिडियालाई बताएअनुसार गत मे महिनामा आयोजित ‘मुभ अब्रोड कन’ कार्यक्रममा ६०० अमेरिकीहरू विशेष गरी देश छाड्ने योजना बनाउन भेला भएका थिए । त्यसमा सहभागी १० मध्ये झन्डै ९ जनाले यसको दोष सरकारलाई दिएका थिए ।
वास्तवमा, सन् २०२४ को जुन महिनामा भएको ट्रम्प र बाइडेनबीचको बहसकै रात अमेरिकी प्रयोगकर्ताहरूले इन्टरनेटमा ‘क्यानडा कसरी सर्ने,’ ‘इटाली कसरी सर्ने’ र ‘पोर्चुगल कसरी सर्ने’ भन्नेजस्ता कुराहरू अत्यधिक खोजेका थिए । यस्तो खोजी सबैभन्दा बढी राष्ट्रपति ट्रम्प पहिलो पटक निर्वाचित हुँदा भएको थियो ।
ओपनएआईकी पूर्व अनुसन्धानकर्ता मिकी ह्याब्रिन पनि देश छाड्न चाहँदिनथिन्, तर उनीसँग कुनै विकल्प बाँकी रहेन । वार्षिक लाखौं डलरको तलब, सान फ्रान्सिस्कोमा आफ्नै घर र सपनाको जागिर भएकी यी इन्जिनियरले आफ्नो परिवारलाई लिएर स्टकहोम बसाइँ सरिन् । ट्रम्पको अमेरिकामा आफू रातभर सुत्न समेत नसकेको उनले बताइन् ।
ह्याब्रिनले यसअघि फच्र्युन म्यागेजिनसँग भनेकी थिइन्, ‘म यस्तो मोडमा पुगेँ जहाँ मलाई अब यहाँबाट जाने बेला भयो भन्ने लाग्यो । म यहाँ केही नगरी बस्न सक्ने अवस्था थिएन, तर मेरो पहिचान र स्थितिका कारण केही गर्नु पनि मेरा लागि निकै जोखिमपूर्ण थियो । चुनाव प्रचारका क्रममा सञ्चारमाध्यमहरूमा आप्रवासी र पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिहरूविरुद्ध मात्र कुराहरू छाएका थिए र म यी दुवै भएकाले मलाई दुवै तर्फबाट निसाना बनाइएको थियो ।’
बार्नेटका अनुसार धेरैजसो मानिसहरू नयाँ अनुभव, व्यक्तिगत विकास र महिनाको अन्त्यमा आफ्नो खल्तीमा बढी पैसा जोगाउने चाहनाले अमेरिकाबाट बाहिरिएका छन् । यससँगै अमेरिका भित्रिने मानिसहरूको संख्या पनि घटेको छ । सन् २०२४ मा २७ लाख मानिस अमेरिका भित्रिएकोमा गत गृष्म ऋतुमा यो संख्या घटेर १३ लाखमा सीमित भयो ।
यो परिवर्तन जैनले पनि महसुस गरेका छन् । अचेल अमेरिका आउने निर्णय गर्ने मानिसहरूको संख्या कम हुँदै गएको र अमेरिकी विश्वविद्यालयहरू रोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा पनि ठूलो गिरावट आएको उनले बताए ।
तर उनको नजरमा अमेरिका जानका लागि योभन्दा उत्तम समय अरू हुन सक्दैन । विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सले सिलिकन भ्यालीलाई विश्व अर्थतन्त्रको केन्द्रविन्दु बनाइरहेका बेला यो झनै उपयुक्त छ ।
उनले थपे, ’शायद हामी एउटा भ्रममा बाँचिरहेका छौं होला तर म सिलिकन भ्यालीमा बस्छु र आजको दिनमा यो नवीनताको भूमि हो । अहिले एआई नै सबैभन्दा ठूलो कुरा हो र यस क्षेत्रका अधिकांश स्टार्टअपहरू यहीँ स्थापना भइरहेका छन् ।’
यदि अमेरिकी सपना अझै पनि ज्युँदै छ भन्ने थप प्रमाण चाहिन्छ भने अमेरिकाका केही ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई हेरे पुग्छ, जसमध्ये धेरैजसो अमेरिकामा जन्मेका होइनन् । जैन जस्तै उनीहरूले पनि आफ्नो जन्मभूमिले दिन सक्नेभन्दा कयौं गुणा ठूला कम्पनी र जीवन यहीँ निर्माण गर्न सफल भए ।
जेन्सन हुआङको जन्म ताइवानमा भएको थियो र ९ वर्षको उमेरमा अमेरिका बसाइँ सर्नुअघि उनी केही समय थाइल्यान्डमा हुर्किएका थिए । उनको पहिलो जागिर डेनिज रेस्टुरेन्टमा भाँडा माझ्ने थियो र पछि उनले ’एनभिडिया’ स्थापना गरे । यो अहिले विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । उनकी दिदीकी छोरी एवं एएमडीकी अध्यक्ष तथा सिइओ लिसा सु पनि ३ वर्षको उमेरमा ताइवानबाट अमेरिका आएकी थिइन् र उनले संकटमा परेको एउटा चिप निर्माता कम्पनीलाई ८७६ अर्ब डलरको एआई पावरहाउसमा परिणत गरिदिइन् ।
कार्य व्यवस्थापनसम्बन्धी प्लेटफर्म ’असाना’का सिइओ ड्यान रोजर्सले राम्रो करियरको खोजीमा बेलायत छाडेर अमेरिका रोजेका थिए । उनले १४ वर्षको उमेरदेखि नै अमेरिका सर्ने योजना बनाएका थिए र सान फ्रान्सिस्कोमा शीर्ष पद पाउनुअघि उनले डेल, माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, सेल्सफोर्स र सर्भिसनाउ जस्ता कम्पनीहरूमा काम गरे ।
आफू किन बे एरियामा काम गर्न चाहन्थे भन्ने कुराको व्याख्या उनले गणितीय हिसाबले फच्र्युनसँग यसरी गरे, ’मैले ’फच्र्युन ५० एआई’ को सूची हेरेँ, जसमध्ये ५० मा ३० वटा कम्पनी बे एरियामै छन् । त्यहाँ कम्पनीहरूको यस्तो असाधारण जमघट छ र यही केन्द्रीकरणका कारण यो क्षेत्र आफैँमा अझ बलियो बन्दै गएको छ ।’
महŒवाकांक्षी मानिसहरूलाई सबैभन्दा चर्चित प्रविधि कम्पनीहरू कहाँ छन् भन्ने थाहा हुन्छ । त्यसैले उनीहरू त्यतै ओइरिन्छन् र लगानीकर्ताहरू पनि त्यहीँ पुग्छन् । यसरी यो क्षेत्र निरन्तर नवप्रवर्तनको केन्द्र बनिरहेको छ । अथवा आफ्नो सोचलाई एउटा साम्राज्यमा बदल्न चाहने जोसुकैका लागि यो पहिलो गन्तव्य बनेको छ ।
रोजर्स भन्छन्, ’सिलिकन भ्याली एआई कम्पनीहरूसँगै फेरि एक पटक केही विशेष गर्न चाहने र ठूलो प्रभाव छोड्न चाहने मानिसहरूका लागि वास्तविक चुम्बक बनेको छ । यहाँको व्यस्तता, कामप्रतिको लगाव, उत्कृष्ट प्रतिभा, लगानीको उपलब्धता र नयाँ विचारहरूको पहुँच संसारमै अतुलनीय छ ।’