भान, (एजेन्सी) । इरानी पर्यटकहरूलाई लक्षित गरेर सञ्चालन गरिएको भान सहरको लोकप्रिय नाइटक्लब ‘क्विन फेस्टा’का ३२ वर्षीय प्रबन्धक हुसेइन आशान मध्यराततिर ग्राहकहरू आउन थालेपछि कालो सिसाको टेबलमा चिया पिउँदै बसेका थिए ।
बिस्तारै जोडीहरू आउन थाले । पूरै परिवार नै नाच्ने मञ्च वरिपरिका टेबलमा बस्न थाले । केही पुरुषहरू सोफामा बसेका थिए भने बारका कर्मचारीहरूले चिभास रिगल ह्विस्कीका बोतलहरू बरफले भरिएका बाल्टिनमा राखिरहेका थिए । त्यसैबीच डिजेले आफ्नो स्थान सम्हालेर फारसी र टर्किस गीतहरू बजाउन थाले ।
आशानले भने, ‘अहिले मानिसहरूको मनोबल केही सुधारिएको छ ।’
अमेरिकासँग भएको अस्थिर युद्धविराम लागू भएको केही दिनपछि टर्कीको भान नजिकैको सीमाबाट प्रवेश गर्ने इरानीहरूले युद्ध रोकिएकोमा राहत व्यक्त गरे । तर, पछिल्ला छ महिनामा आफ्नो देशमा देखिएको अभूतपूर्व राजनीतिक हिंसा र युद्धले उनीहरू अझै अन्योलमा छन् ।
केही महिनाअघि मात्रै अमेरिका–इजरायलको तीव्र बमबारी अभियान चलिरहेका बेला पहाडी क्षेत्रमा रहेको कापिकोय सीमा नाका युद्धबाट भाग्ने वा युद्धग्रस्त क्षेत्रमा फसेका आफन्तको अवस्था बुझ्न घर फर्कने सर्वसाधारणका लागि इरान आउजाउ गर्ने सीमित मार्गमध्ये एक थियो ।
तर अहिले त्यो सीमा नाका विस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । फेरि व्यापारीहरू सामान ओसारपसार गर्न र पर्यटकहरू भान सहर घुम्न आउन थालेका छन् । पूर्वी अनातोलियाको कुर्दबहुल यस सहरमा इरानीहरू आफ्नै देशमा प्रतिबन्धित लुगा किन्छन्, ताल किनारमा आराम गर्छन् र तेहरानमा सम्भव नभएका नाइटक्लबहरूमा रमाइलो गर्छन् ।
तेहरानकी ३० वर्षीया एक सामाजिक सञ्जाल व्यवस्थापकले भनिन्, ‘हामी युद्धबाट भर्खरै बाहिरिएका छौं, त्यसैले अब केही रमाइलो गर्न चाहन्छौं ।’ उनी आफ्नी साथीसँग एक साताका लागि किनमेल र मनोरञ्जन गर्न भान जान सीमा नाकामा गाडीको प्रतीक्षा गरिरहेकी थिइन् ।
भानमै जन्मिएका र दुवै देशमा पारिवारिक सम्बन्ध भएका कुर्द समुदायका आशानका अनुसार उनको क्लब टर्कीमा इरानी ग्राहकलाई लक्षित सबैभन्दा ठूलो नाइटक्लब हो । युद्धअघि यहाँ करिब ३५० जना, अधिकांश इरानी पर्यटक, पार्टी गर्न आउँथे । युद्धका क्रममा व्यापार ७० प्रतिशतले घटेको थियो, तर अहिले फेरि विस्तारै सुधार भइरहेको उनले बताए ।
क्लबका डिजेले गीतको माग गर्न आग्रह गरे । टेबलमा बसेका ग्राहकहरूले एकै स्वरमा ‘अजेरी ! अजेरी !’ भन्दै कराए । त्यसपछि डिजेले उत्तरपश्चिम इरानबाट आएका ग्राहकलाई लक्षित गर्दै अजरबैजानी गीत बजाए ।
आशानले भने, ‘इरानका रेस्टुरेन्टहरूमा नाच्न पाइँदैन । उनीहरूको मनभित्र नाच्ने तीव्र चाहना दबिएको हुन्छ ।’
युद्धविरामले आर्थिक संकट, राजनीतिक दमन र युद्धले थलिएको एक वर्षपछि इरानीहरूलाई केही राहतको अनुभूति गराएको छ ।
ताब्रिजकी एक रोगविशेषज्ञ चिकित्सक छुट्टी मनाउन टर्कीको समुद्री सहर अन्टाल्या जाँदै थिइन् । उनले भनिन्, ‘हामी युद्ध सकिएको होस् भन्ने चाहन्छौं । तर भोलि के हुन्छ भन्ने कसैलाई थाहा छैन ।’
जनवरीमा इरानको बिग्रँदो अर्थतन्त्रका कारण सुरु भएको सरकारविरोधी आन्दोलन दबाउन सरकारी सुरक्षाबलले हजारौं आफ्नै नागरिकको ज्यान लिएको थियो । त्यसपछि अमेरिका र इजरायलको महिनौं लामो बमबारीले नागरिकहरू रातभर त्रसित भएर ब्युँझिन बाध्य भए ।
सीमातर्फ जाँदै गरेका ५८ वर्षीय एक व्यक्ति दुईवटा सुटकेस बोकेर लंगडाउँदै हिँडिरहेका थिए । उनी विदेशमा बस्दै आएका थिए, तर युद्ध सुरु भएपछि वृद्ध आमाको सुरक्षा सुनिश्चित गर्न तेहरान फर्किएका थिए । त्यही क्रममा उनी बस्ने भवनमाथिको तलामा बम खस्दा छत भत्किएको थियो । त्यस घटनामा उनको हात भाँचिएको थियो भने ढाड र खुट्टामा पनि चोट लागेको थियो ।
तर उनले त्यस बमबारीका लागि अमेरिका वा इजरायललाई दोष दिएनन् ।
उनले भने, ‘युद्ध होइन, तर केही न केही त हुनैपथ्र्यो । उनीहरूले आफ्नै मानिस मारिरहेका थिए ।’
उनले किशोरावस्थामा स्वयंसेवकका रूपमा इरान–इराक युद्ध लडेका थिए । अहिले पनि इरानको राजनीतिक उथलपुथल अन्त्य नहुने उनको विश्वास छ ।
उनले भने, ‘यो सकिएको छैन । युवाहरूको रगत अझै उम्लिरहेको छ ।’
जनवरीको सरकारी दमन र त्यसपछि भएको अमेरिका–इजरायलको बमबारी अभियानले इरानभित्रको राजनीतिक विभाजन अझ गहिरो बनाएको छ ।
सीमा नाकातर्फ जाने सडकछेउमा ताब्रिजका ५१ वर्षीय मेकानिक रसुल खुर्बानी आफ्नो परिवारसँग पालमा बसेर भान जाने सवारीको प्रतीक्षा गरिरहेका थिए । उनले युद्धका क्रममा इरानको रिजर्भ फौजमा स्वयंसेवक बन्ने प्रस्ताव गरेका थिए ।
उनले भने, ‘इरानले युद्ध जित्यो । इरानले अमेरिकालाई घुँडा टेकायो । इरान भेनेजुएला होइन, इराक होइन, अफगानिस्तान होइन, गाजा पनि होइन । यो हाम्रो भूमि हो । हामी अमेरिकालाई इरानमा पाइला टेक्न नदिएकोमा धेरै खुसी छौं ।’
तेहरानकी एक जुत्ता पसल प्रबन्धक भने युद्धविरामबाट निराश देखिइन् ।
उनले भनिन्, ‘ट्रम्पले इरानी जनतालाई सहयोग गर्ने वाचा गरेका थिए, तर त्यो पूरा गरेनन् । युद्ध सुरु गरेर अचानक रोक्नुको अर्थ के हो ?’
युद्धविरामसँगै इरानमा नयाँ राजनीतिक अवस्था सुरु भएको छ । धार्मिक शासन व्यवस्था केवल टिक्न मात्रै सफल भएन, मध्यपूर्वमा आफ्नो प्रभाव पनि विस्तार गर्न सफल भएको छ । साथै अमेरिकालाई नाकाबन्दी हटाउन र वर्षौंदेखिका केही प्रतिबन्ध फुकुवा गर्न पनि बाध्य बनाएको छ । यस सम्झौतापछि तेल निर्यातबाट राज्यको आम्दानी पुनः बढ्ने अपेक्षा गरिएको छ, जसले समस्याग्रस्त इरानी अर्थतन्त्रलाई केही राहत दिन सक्छ ।
भान रेल स्टेशनमा जोडीहरू र साना बालबालिकासहितका परिवारहरू ट्याक्सीबाट ओर्लिएर आफ्नो सामान बोकेर राति ९ बजे तेहरान जाने रेल चढिरहेका थिए । टर्कीमा केही दिन बिताएका कारण उनीहरू केही आरामदायी देखिन्थे, तर घर फर्किएपछि के अवस्था भेटिने हो भन्ने चिन्ताले उनीहरू त्रसित थिए ।
तेहरानका २७ वर्षीय एक मेडिकल प्रयोगशाला प्राविधिकले बमबारी रोकिएकोमा राहत महसुस भएको बताए । तर युद्धविराम लामो समय टिक्नेमा भने उनलाई विश्वास छैन ।
उनले भने, ‘यो युद्ध कसले जित्यो, मलाई थाहा छैन । तर यति चाहिँ निश्चित छ, हार्ने भने जनता नै भए ।’