नेभिगेशन
खेलकुद

पैसाले सफलता किन्न सकिन्न

फुटबल र पूर्वाधारमा अथाह पैसा खन्याएका साउदी अरेबिया र कतार जस्ता खाडी मुलुकहरू विश्वकपबाट लज्जास्पद रूपमा बाहिरिएका छन् । यसले खेलकुदको यो सबैभन्दा ठूलो मञ्चमा ठूलो पैसाले मात्रै सफलताको ग्यारेन्टी गर्दैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।
साउदी अरेबिया सबैभन्दा सुरुवाती चरणबाटै बाहिरिएको छ, त्यो पनि फेरि एकपटक । ऊ यस्तो समूहको पुछारमा रह्यो, जसमा विश्वकप खेल्ने तेस्रो सबैभन्दा सानो देश केप भर्डे सामेल थियो । केप भर्डे पहिलोपटक नकआउट चरणमा पुग्न सफल भएको छ ।
हालैका वर्षहरूमा क्रिस्टियानो रोनाल्डो, नेयमार र करिम बेन्जेमा जस्ता खेलाडीहरूलाई भिœयाएर साउदी अरेबियाले क्लब फुटबलमा ठूलो हलचल ल्याएको थियो । तर, अन्तर्राष्ट्रिय मञ्चमा भने उसले अझै लामो यात्रा तय गर्न बाँकी छ, जबकि सन् २०३४ को विश्वकप आयोजना गर्न अब आठ वर्ष मात्र बाँकी छ ।
यसैबीच, आइतबार साउदी अरेबियन फुटबल फेडेरेसनका अध्यक्ष यासेर अल–मिसेहलले राजीनामा दिएका छन् । विश्वकपको असफल यात्राको पूर्ण जिम्मेवारी लिँदै उनले आफ्नो राजीनामाले साउदी फुटबलको नेतृत्वमा ‘नयाँ चरण’ सुरु गर्न बाटो खोल्ने बताए ।
चार वर्षअघिको आयोजक कतार पनि मात्र तीन खेल खेलेर घर फर्किसकेको छ भने अन्य खाडी मुलुक इरान र इराकको अवस्था पनि त्यस्तै रह्यो । यस विश्वकपमा १० मध्ये ९ टोली अन्तिम ३२ मा पुगेका अफ्रिकी देशहरूको सफलताको तुलनामा खाडी मुलुकहरू आफ्नो प्रभाव छाड्न नराम्ररी संघर्ष गरिरहेका छन् ।
केप भर्डेविरुद्धको गोलरहित बराबरीसँगै साउदी अरेबियाको सन् १९९४ पछि पहिलोपटक समूह चरण पार गर्ने सपना सकिएको थियो । साउदीका प्रशिक्षक जर्जियोस डोनिसले हामी जस्तै स्तरको टोलीसँग खेल्दा पनि प्रदर्शन राम्रो हुन नसकेकाले यो चिन्ताको विषय भएको बताए ।
कतारले भने स्विट्जरल्याण्डविरुद्ध खेलको अन्तिम समयमा बराबरी गोल गर्दै विश्वकपमा आफ्नो पहिलो अंक जोडेर इतिहास त रच्यो, तर सन् २०२२ मा आफ्नै देशमा भएको विश्वकपमा जस्तै यसपटक पनि टोली सुरुवाती दुई खेलपछि नै प्रतियोगिताबाट बाहिरिनु निराशाजनक रह्यो । कतारका प्रशिक्षक जुलेन लोपेटेगुईले आफ्ना खेलाडीले यस्ता खेलमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखाएको दाबी गरे ।
स्पेन र रियल म्याड्रिडका पूर्व प्रशिक्षक लोपेटेगुईको नियुक्तिले कतारले विश्वमञ्चमा आफ्नो प्रदर्शन सुधार्न कस्तो लगानी गरिरहेको छ भन्ने प्रष्ट पार्छ । साउदी अरेबिया जस्तो कतारले युरोपका पाका स्टार खेलाडीहरूलाई आफ्नो घरेलु लिगमा आकर्षित गर्ने आक्रामक रणनीति भने अपनाएको छैन ।
करिब ३० लाख जनसंख्या र मात्र ३ लाख रैथाने नागरिक भए तापनि कतारले आफ्नै देशका खेलाडीहरू उत्पादन गरेर हालैका वर्षहरूमा लगातार दुईपटक एसियन कप जित्न सफल भएको छ । उसले जापान र दक्षिण कोरिया जस्ता बलिया टोलीहरू भएको क्षेत्रमा आफ्नो दबदबा कायम राखेको छ ।
तर, कतारले त्यो प्रदर्शनलाई विश्वकपमा उतार्न सकेको छैन । रंगशाला निर्माणमा अर्बौं डलर खर्च गरेर प्रतियोगिता आयोजना गरेको चार वर्ष नबित्दै यसरी सुरुमै बाहिरिनु निकै निराशाजनक छ । लोपेटेगुईले कतार सानो देश भए पनि फुटबलमा ठूलो लगाव र लगानी रहेको र भविष्यका लागि सकारात्मक हुनुपर्ने बताए ।
सन् २०३४ को विश्वकप आयोजनाको अधिकार पाएको साउदी अरेबियाका लागि पनि अबको ध्यान भविष्यमै केन्द्रित छ । प्रिमियर लिग क्लब न्युक्यासल खरिद गर्नेदेखि लिएर लिभ गल्फ सुरु गर्ने, विश्व बक्सिङ र फर्मुला वान आयोजना गर्नेसम्मका काम गरेर साउदीले खेलकुद संसारमा आफ्नो प्रभाव बढाउने अभियान चलाइरहेको छ । खनिज तेलमाथिको निर्भरता कम गर्दै आम्दानीका अन्य क्षेत्रहरू खोज्ने प्रयासमा विश्वकपको आयोजना साउदीका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
साउदीले आफ्नो देशमा हुने विश्वकपमा राष्ट्रिय टोलीले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहन्छ । रोनाल्डो जस्ता सुपरस्टार खेलाडीहरूको आगमनले घरेलु लिगको चर्चा बढाए पनि, यसले स्थानीय खेलाडीको स्तर पनि सुधार्ने अपेक्षा गरिएको छ । चार वर्षअघि विजेता बन्ने टोली अर्जेन्टिनालाई हराएर विश्वकपकै सबैभन्दा ठूलो उलटफेर गरेको साउदीले यसपटक भने कुनै सम्झनायोग्य क्षण दिन सकेन र लगातार छैटौं पटक समूह चरणबाटै बाहिरियो ।
प्रशिक्षक डोनिसले घरेलु लिगमा स्टार खेलाडीहरू हुँदा प्रतिस्पर्धात्मक वातावरण बन्ने र त्यसले खेलाडीलाई फाइदा पुग्ने भए पनि राष्ट्रिय टोलीबाट खेल्दा फरक मानसिकता चाहिने उल्लेख गरे ।
सन् २०३४ नजिकिँदै गर्दा साउदीले अहिले आफ्नै देशभित्रका प्रतिभा पहिचान र विकासमा ध्यान दिएको देखिन्छ । विदेशबाट आउने महँगा स्टार खेलाडीहरूको क्रम धेरै घटेको छ भने नेयमार जस्ता केही ठूला नामहरू बाहिरिइसकेका छन् । साउदीले युवा खेलाडीको विकासका लागि अमेरिकी फुटबलका खेलकुद निर्देशक म्याट क्रोकरलाई भित्र्याएको छ र विगत तीन वर्षमा युवा फुटबलको लगानी दोब्बर बनाएको छ ।
साउदी अरेबिया र कतारले भर्खरै ठूलो रकम खर्च गरेर फुटबलमा तहल्का मच्चाउन खोजेका हुन् भने इरान सन् १९७८ देखि नै विश्वकप खेल्दै आएको अनुभवी टोली हो । संयुक्त राज्य अमेरिकासँगको तनावका कारण तयारी र यात्रामा निकै कठिनाइ भोगेको इरानले तीनवटा खेल बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोली बनेर नकआउटमा पुग्ने मौका थोरैले गुमायो । सातौँ पटक विश्वकप खेल्दा पनि इरान कहिल्यै समूह चरणभन्दा माथि जान सकेको छैन ।
४० वर्षको अन्तरालमा दुईपटक मात्र विश्वकप खेलेको इराकको कथा पनि उस्तै छ । अहिले ४८ टोली सहभागी हुने ठूलो विश्वकपमा केप भर्डे र कंगोजस्ता देशले इतिहास रचिरहँदा, खाडी मुलुकहरू भने अझै पनि आफ्नो सुखद क्षणको पर्खाइमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्