श्रीनगर (भारत) – हरेक बिहान हिमालको काखमा फैलिएको सुन्दर डल तालमा लामो र साँघुरा काठका डुंगा ‘शिकारा’हरू बिस्तारै तैरिन्छन् । काश्मिरको पहिचान बनेको यो दृश्य कुनै पोस्टकार्डको तस्बिरजस्तै देखिन्छ । तर बाहिरबाट देखिने यो सौन्दर्यभित्र डल ताल गम्भीर संकटसँग जुधिरहेको छ ।
स्थानीय बस्तीबाट निस्कने प्रदूषण, जैविक विविधताका लागि खतरा बनेका बाहिरी वनस्पति, पानीको घट्दो सतह र जलवायु परिवर्तनका कारण बढेको तापक्रमले दक्षिण एसियाको चर्चित यो तालसहित भारत प्रशासित काश्मिरका सयौं तालहरूको भविष्य जोखिममा परेको छ ।
डल ताललाई सफा राख्न स्थानीय सरकारले दैनिक रूपमा कामदार परिचालन गर्दै आएको छ । तर प्रदूषित पानीका कारण कामदारहरूले पनि सावधानी अपनाउनुपर्ने अवस्था छ । ताल सफा गर्ने कामदार गुलाम रसुलका अनुसार नांगो हातले पानी छुनै डर लाग्छ ।
‘हामी हातमा पञ्जा लगाएर मात्रै काम गर्छौं । पञ्जा नलगाई पानीमा हात हाल्दा छालामा एलर्जी देखिन्छ,’ उनले भने । रसुलका अनुसार ताल सफा राख्ने प्रयास कहिलेकाहीँ असम्भवजस्तै लाग्छ । ‘ढलका नालीहरू सिधै तालमा मिसिन्छन् । पहाडबाट आउने पानीसँगै डायपर र अन्य फोहोर पनि बगेर आउँछ,’ उनले भने ।
जलवायु परिवर्तन, प्रदूषण र अव्यवस्थित विकासका कारण भारतका तालहरू तीव्र रूपमा कमजोर बन्दै गएका छन् । यसको असर केवल वातावरणमा मात्र होइन, स्थानीय माछा मार्ने समुदाय र पर्यटन क्षेत्रमा समेत परेको छ ।
भारत सरकारको गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार काश्मिर क्षेत्रमा रहेका ६९७ प्राकृतिक तालमध्ये सन् १९६७ यता ३१५ वटा हराइसकेका छन् भने २०३ वटा आकारमा साना भएका छन् । विगतमा रहेका धेरै ताल अहिले उथला दलदल, मौसमी सिमसार क्षेत्र वा खेतीयोग्य जमिन र अन्य संरचनामा परिणत भएका छन् ।
काश्मिरका तालहरू परम्परागत रूपमा स्थानीय जीवनको केन्द्र रहँदै आएका छन् । डल तालका प्रसिद्ध तैरिने बजारहरूमा स्थानीयले तरकारीदेखि हस्तकलाका सामग्रीसम्म बिक्री गर्छन् । तर पछिल्ला दशकमा अनियमित वर्षा, नदीबाट बढेको माटोको थुप्रो र अतिक्रमणका कारण तालको सीमाना साँघुरिँदै गएको छ ।
डल तालको किनार र भित्री भागमा खेतीयोग्य जमिन र घरहरू विस्तार हुँदै गएका छन् । कतिपय ठाउँमा तालभित्र बनेका साना टापुजस्ता जमिनमा खेती भइरहेको छ भने कतिपय क्षेत्रमा अवैध घरहरू जोडिएका काठका पुलहरू देखिन थालेका छन् ।
तालमा प्रशोधन नगरिएको ढल मिसिँदा पानीमा नाइट्रोजन, फस्फोरसजस्ता पोषक तत्व बढ्छन्, जसले झार र अन्य वनस्पतिको अत्यधिक वृद्धि गराउँछ । प्लास्टिक र अन्य फोहोरले समस्या थप गम्भीर बनाएको छ ।
डल ताल सफा गर्न हरेक दिन दर्जनौं कामदार खटिन्छन् । उनीहरूले हटाएका झारका थुप्रा तालका विभिन्न भागमा देखिन्छन् । झार र फोहोर हटाउन डुंगासँगै एक्स्काभेटर र अन्य भारी उपकरण पनि प्रयोग गरिन्छ ।
स्थानीय अधिकारीहरू थप बजेट र काम आवश्यक रहेको स्वीकार गर्छन् । सन् १९९७ मा स्थापना गरिएको काश्मिरको ताल संरक्षण तथा व्यवस्थापन प्राधिकरणमा इन्जिनियर, वैज्ञानिक, वन अधिकारी र प्रहरी अधिकारीहरू संलग्न छन् ।
काश्मिर लेक कन्जर्भेसन एन्ड म्यानेजमेन्ट अथोरिटीका वरिष्ठ इन्जिनियर मुजामिल अहमद रफिकीका अनुसार श्रीनगरका ७५ प्रतिशतभन्दा बढी मानिस ढल प्रशोधन प्रणालीसँग जोडिएका छन् । तर बाँकी घरबाट निस्कने ढल अझै पनि ताल प्रदूषणको ठूलो कारण बनेको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पनि ठूलो असर पु¥याइरहेको छ । विश्वका सबैभन्दा तातो वर्षहरूमध्ये पछिल्ला वर्षहरू पर्न थालेपछि हिमालय क्षेत्र विश्व औसतभन्दा छिटो तातिरहेको विज्ञहरू बताउँछन् । हिउँ छिटो पग्लिनु, हिमपात घट्नु र अत्यधिक वर्षाका घटनाले नदी र तालमा पुग्ने पानीको मात्रा र समय दुवै परिवर्तन गरिरहेको छ ।
काठमाडौंस्थित जलवायु संरक्षणका लागि दक्षिण एसियामा काम गरिरहेको संस्था इसिमोडका हिमनदी विज्ञ शेर मोहम्मदका अनुसार बदलिँदो जलवायुका कारण तालहरूले कहिले अचानक धेरै पानी पाउने र कहिले लामो समयसम्म सुक्खा अवस्थाको सामना गर्नुपर्ने भएको छ ।
हिमनदी पग्लिँदा सुरुमा नदी र तालमा पानीको मात्रा बढ्न सक्छ । तर दीर्घकालमा हिमनदीमा रहेको प्राकृतिक पानी भण्डारण घट्दै जाँदा सुक्खा समयमा नदी र ताललाई टिकाइराख्ने स्रोत कमजोर हुने विज्ञहरूको भनाइ छ ।
काश्मिरस्थित युनिभर्सिटी अफ काश्मिरका वातावरण वैज्ञानिक इरफान रसिदका अनुसार जलवायु परिवर्तनले काश्मिरको अर्थतन्त्रका धेरै क्षेत्र प्रभावित भएका छन् । जलविद्युत् उत्पादन, पर्यटन, स्याउ र केसर खेतीजस्ता क्षेत्रहरू अनियमित र चरम मौसमका कारण प्रभावित भएका छन् ।
डल तालबाट करिब ६५ किलोमिटर उत्तरपश्चिममा रहेको वुलर ताल पनि यस्तै संकटमा छ । त्यहाँका माछा मार्नेहरूका अनुसार ताल फोहोर बन्दै गएको छ । तालको केही जलाधार क्षेत्र वृक्षरोपणका लागि प्रयोग गरिएको छ ।
माछा मार्ने काममा कठिनाइ बढेको छ र माछाको संख्या घटेको छ । ४५ वर्षीय माछा व्यवसायी अब्दुल रसिदका अनुसार पहिले उनी दैनिक करिब एक हजार रुपैयाँ कमाउँथे । अहिले रातभर माछा मारे पनि १०० देखि २०० रुपैयाँ मात्र आम्दानी हुन्छ । ‘मेरो बाल्यकालको समयभन्दा अहिले धेरै परिवर्तन आएको छ,’ उनले भने ।
वुलर तालमा पनि खेती र बस्ती विस्तारले अतिक्रमण बढाएको छ । प्रशोधन नगरिएको ढल र खेतीबाट बग्ने रसायनले पानीको गुणस्तर बिगारेको छ । कतिपय क्षेत्रमा पानीको सतह हरियो लेदोले ढाकिएको छ ।
सन् २००७ मा संरक्षण संस्था वेटल्यान्ड्स इन्टरनेसनलले गरेको विस्तृत अध्ययनले वुलर ताल पछिल्लो एक शताब्दीमा ४५ प्रतिशतले सानो भएको देखाएको थियो । अध्ययनले ताल कमजोर हुँदा काश्मिर उपत्यकामा बाढीको जोखिम बढ्ने चेतावनी दिएको थियो, किनकि वुलर ताल परम्परागत रूपमा झेलम नदीको अतिरिक्त पानी थाम्ने सबैभन्दा ठूलो प्राकृतिक भण्डार थियो ।
वुलर तालमा निर्भर धेरै माछा मार्नेहरू अब भविष्यका पुस्ताले यही पेसाबाट जीवन चलाउन नसक्ने चिन्ता व्यक्त गर्छन् । दशकौंदेखि माछा मार्दै आएका ५५ वर्षीय बशिर अहमदका अनुसार पहिले अनुभव नभएको युवाले पनि एक दिनमा करिब चार किलो माछा लिएर फर्किन्थ्यो । अहिले दक्ष माछा मार्नेले समेत एक किलोभन्दा बढी माछा पाउन मुस्किल भएको उनले बताए । (एपी)