नेभिगेशन
विश्व

प्रेमको नाममा ठगी !

केरलका सफिर मोहम्मदले काम गर्ने कोठामा एउटा स्पष्ट निर्देशन टाँसिएको थियो, ‘तिमीसँग प्रत्येक व्यक्तिलाई प्रेममा फसाउन चार दिनको समय छ ।’
मानव तस्करहरूले केरलका सफिर मोहम्मदलाई विदेशमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर म्यानमारस्थित एउटा स्क्याम सेन्टरमा पु¥याइदिए । मानिसहरूलाई ठग्ने त्यस अड्डामा सफिरले कुटपिटबाट जोगिनका लागि आफ्नो नयाँ अनलाइन पहिचान बनाउन बाध्य भए । उनले आफूलाई २८ वर्षीया सिंगापुरे युवतीका रूपमा प्रस्तुत गरे । उनको अनलाइन नाम थियो एला  ।
हरेक दिनको ड्युटीमा सफिरले १०० भन्दा बढी व्यक्तिसँग अनलाइन च्याट गर्थे । यस क्रममा सुपरभाइजर बिजुलीको झट्का दिने लाठी बोकेर सफिरसहित अन्य कामदारमाथि निरन्तर निगरानी गरिरहन्थ्यो ।
ठगहरूको अन्तर्राष्ट्रिय प्रेमजाल
एउटै महिनाभित्र सफिरले १७ देशका करिब ५० हजार मानिससँग सम्पर्क स्थापित गरेका थिए । अमेरिकी समाचार संस्था एपीले प्राप्त गरेका अभिलेखअनुसार, सफिरको जालमा पर्नेहरूमध्ये कुर्दिस्तानका एक विधुर दर्जी, टर्कीका एक पेस्ट्री बेकर, किर्गिस्तानका एक भेडापालक किसान, रूसका एक इन्जिनियर तथा इराकका सैनिकसमेत थिए ।
यसैबीच, एला नामबाट च्याट गरिरहेका सफिरले जर्मनीका एक पेन्टर, अर्जेन्टिनाका एक बन्दरगाह अधिकारी, इन्डोनेसियाका एक विद्यार्थी, पोल्यान्डका एक सुरक्षा गार्ड तथा जर्जियाका एक डेरी किसानसँग समेत सँगै घर बसाल्ने योजनासम्मका कुरा गरेका थिए ।
सफिरले यी सबै काम अमेरिकी प्रविधि कम्पनीहरूले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलहरूको सहयोगमा गरिरहेका थिए । एउटा आदेश (कमाण्ड) मार्फत उनले आफ्ना सन्देशहरू दर्जनौँ भाषामा अनुवाद गर्थे र त्यसपछि प्रत्येक देशका नागरिकसँग उनीहरूको आफ्नै भाषामा संवाद गर्थे । एआई उपकरणहरूको सहयोगमा प्रत्येक सम्भावित पीडितको विस्तृत व्यक्तिगत प्रोफाइलसमेत तयार गरिएको हुन्थ्यो ।
एपीको अनुसन्धान
अनुसन्धानका क्रममा अनलाइन ठगी गर्ने गिरोहहरूले सम्भावित शिकार पहिचान गर्न सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोग गर्ने गरेको पत्ता लाग्यो । त्यसपछि उनीहरूले अन्य एआई उपकरणहरूको सहयोगमा पीडितका बारेमा सकेसम्म धेरै जानकारी संकलन गर्थे ।
स्याटेलाइट डिशको प्रयोग गरेर ठगहरूले इन्टरनेटमा लगाइएका विभिन्न प्रतिबन्धहरू पनि छल्ने गरेका थिए । एपीका अनुसार अमेरिकी प्रविधि कम्पनीहरूले आफैं कुनै अपराध नगरे पनि उनीहरूले बनाएका उपकरणहरूको दुरुपयोग भने ठगहरूले गरिरहेका छन् ।
अमेरिकी एआई मोडेल, च्याटजीपीटी र जेमिनीको प्रयोग गरेर स्क्यामरहरूले विशेष प्रकारका सफ्टवेयर विकास गरेका थिए, जसका कारण उनीहरूले एकै समयमा धेरै भाषामा सजिलै काम गर्न सके । कन्जेन्ट कम्युनिकेसन, एटीएन्डटी, डिजिटल ओसन र ओराकलजस्ता सेवाहरूको पनि व्यापक रूपमा प्रयोग गरिएको थियो ।
हिंसा र सैन्य शासनको चपेटामा परेको म्यानमारको सीमावर्ती क्षेत्रको ठूलो भाग खुला सीमाका रूपमा रहेको छ । अमेरिकी अर्बपति इलोन मस्कको कम्पनी स्टारलिङ्क त्यहाँको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक बनेको छ । आईपी ठेगाना र स्याटेलाइट तस्बिरहरूको अध्ययनबाट कम्तीमा १३ वटा स्क्याम केन्द्रहरूले स्टारलिङ्कको इन्टरनेट प्रयोग गरिरहेको पत्ता लागेको थियो ।
अमेरिकी प्रविधि कम्पनीको धारणा 
विज्ञहरूका अनुसार अमेरिकी प्रविधि कम्पनीहरूले चाहेमा यस्तो ठगी रोक्न सक्छन् । तर त्यसका लागि कुनै स्पष्ट कानुनी संरचना छैन, साथै यसो गर्दा आफ्नो व्यापारमा असर पर्ने चिन्ता पनि कम्पनीहरूलाई छ । अमेरिकामा अपराध अनुसन्धानसँग सम्बन्धित संघीय आयोगका अनुसार सन् २०२४ मा यस्ता अनलाइन ठगीका कारण अमेरिकीहरूले करिब २०० अर्ब अमेरिकी डलर बराबरको नोक्सानी बेहोरे ।
ओपनएआई र गुगलले भने स्क्यामरहरूले आफ्ना उपकरणहरूको दुरुपयोग गर्न नसकून् भनेर आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका छन् । उता स्टारलिङ्कले यस विषयमा एपीलाई कुनै प्रतिक्रिया दिएको छैन । ओपनएआईका अनुसार प्रयोगकर्ताहरूको गतिविधि विश्लेषण गरेर उसले ठगी पत्ता लगाउन सफलता हासिल गरिरहेको छ । कम्पनीका अनुसार उसले ९५ प्रतिशत शुद्धताका साथ प्रत्येक महिना एक लाख स्क्याम खाता बन्द गरिरहेको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको भनाइमा उनीहरूले आफ्ना प्रयोगकर्ताले कस्तो सामग्री साझा गरिरहेका छन् भन्ने हेर्न सक्दैनन् । गोपनीयतासम्बन्धी नियम र कानुनले उनीहरूलाई त्यसो गर्न रोक्छ । सबै इन्टरनेट कम्पनीहरूले गुनासो प्राप्त भएपछि कानुन कार्यान्वयन गर्ने निकायहरूसँग सधैं सहकार्य गरेको बताएका छन् ।
बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच अक्टोबर २०२५ मा म्यानमारको सैन्य सरकारले धेरै स्क्याम सेन्टरहरू ध्वस्त पारेको थियो । सेनाले त्यस कारबाहीका भिडियोहरू पनि सार्वजनिक गरेको थियो । तर जनवरी २०२६ मा ध्वस्तीकरण गरिएको स्थानबाट करिब ३० किलोमिटर टाढा फेरि नयाँ स्क्याम सेन्टरहरू निर्माण हुन थाले । अनुसन्धानकर्ताहरूका अनुसार अक्टोबरको कारबाहीपछि म्यानमारमा कम्तीमा २५ नयाँ स्थानबाट यस्ता अनलाइन ठगी सञ्चालन भइरहेका छन् । समाचार संस्था एपीका अनुसार स्याटेलाइट तस्बिरहरूले पनि यी दाबीको पुष्टि गर्छन् । र यी नयाँ केन्द्रहरूमा पनि एउटा कुरा समान छ— स्टारलिङ्कको इन्टरनेट । 
केरलबाट सफिर कसरी म्यानमार पुगे ?
दक्षिण भारतको केरल राज्यका सफिरले एक दिन इन्टरनेटमा थाइल्यान्डमा पर्यटनसँग सम्बन्धित एउटा रोजगारीको विज्ञापन देखे । उनले त्यसमा क्लिक गरे । त्यसपछि उनलाई नियमित रूपमा निर्देशनहरू आउन थाले । केही महिनापछि उनी बैंकक विमानस्थलमा ओर्लिए । त्यहाँ उनको प्रतीक्षामा कालो रंगको एउटा कार तयार थियो । उनी त्यसमा चढे र कार रातभरि चलिरह्यो । सफिरका अनुसार अर्को बिहान उनी आफूलाई हतियारधारी मानिसहरूले घेरिएको अवस्थामा पाए ।
सफिर र उनका साथीलाई म्यानमार सीमावर्ती क्षेत्रमा रहेको मोई नदी पार गराइयो र ताइ चाङस्थित एउटा स्क्याम सेन्टरमा लगेर थुनियो ।
सुरुमा दुवैले मानिसहरूलाई ठग्ने काम गर्न अस्वीकार गरेपछि उनीहरूलाई निर्ममतापूर्वक कुटपिट गरियो । केही तस्बिरहरूमा सफिरको शरीर चोटका कारण राताम्मे भएको र उनको अनुहार सुन्निएको देखिन्छ । त्यसपछि पनि स्क्यामिङका क्रममा उनीमाथि पटक–पटक कुटपिट हुने गरेको थियो ।
सफिरका शब्दमा, ‘जब उनीहरू मेरो कम्प्युटरनजिक आउँथे, मेरा हात काँप्न थाल्थे र पसिना निस्किन थाल्थ्यो ।’
डरका कारण दुवै साथी एउटा साँघुरो गल्लीमा सँगै सुत्थे । सन् २०२५ मा कुनै प्रकारले बाहिरी संसारसँग सम्पर्क स्थापित गरेपछि सफिरले आफ्नो स्थान र आफूमाथि भएको घटनाबारे जानकारी गराए । त्यसपछि प्रत्येक व्यक्तिका लागि पाँच लाख भारतीय रुपैयाँ तिरेर सफिर, उनका साथी तथा अन्य २१ भारतीयलाई त्यहाँबाट मुक्त गरियो ।
अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार म्यानमार, कम्बोडिया र नाइजेरियामा सञ्चालित यस्ता स्क्याम सेन्टरहरूमा कम्तीमा १९ देशका नागरिक काम गरिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्