नेभिगेशन
विश्व

स्वतन्त्रताको घोषणापत्रको २५० वर्ष

हिजो जुलाई ४ मा अमेरिकाले आफूलाई बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र भएको घोषणा गरेको २५० वर्ष भयो । 
स्वतन्त्रताको घोषणापत्रका बारेमा जोन एडम्सले यसमा त्यस्तो कुनै नयाँ विचार नभएको र कंग्रेसमा दुई वर्षदेखि घिसिपिटी भइरहेका कुराहरू मात्र समावेश भएको बताएका थिए । जेफर्सन आफैँले पनि यसको उद्देश्य कुनै ‘मौलिक सिद्धान्त वा भावना’ प्रस्तुत गर्नु नभई ‘अमेरिकी मनको अभिव्यक्ति’ दिनु रहेको बताएका थिए । यसमा ठ्याक्कै कसको र केको प्रभाव थियो भन्ने विषय अझै पनि विद्वानहरूबीच छलफलको विषय भए पनि, यसका सबैभन्दा स्पष्ट स्रोतहरूमा थोमस पेनको ‘कमन सेन्स’, जर्ज मेसनले तयार पारेको भर्जिनियाको अधिकार घोषणापत्रको मस्यौदा र सन् १६८९ को बेलायतको अधिकार पत्र (बिल अफ राइट्स) पर्छन् । जेफर्सनले जोन लकको तर्कलाई पनि परिमार्जन गरेर राखेका थिए । लकले व्यक्तिलाई ‘जीवन, स्वतन्त्रता र सम्पत्ति’ को अहरणीय (खोस्न नमिल्ने) अधिकार हुन्छ भनेकामा जेफर्सनले सम्पत्तिको सट्टा ‘सुखको खोजी’ भन्ने वाक्यांश राखे । साथै, सरकार एउटा सामाजिक सम्झौतामा आधारित हुन्छ र त्यो सम्झौता तोडिएमा विद्रोह गर्न पाइन्छ भन्ने लकको मान्यतालाई पनि उनले अपनाएका थिए ।
अमेरिकाका तेस्रो राष्ट्रपति जेफर्सन लामो समयदेखि एक राष्ट्रिय नायक र विवादास्पद व्यक्ति दुवै रहँदै आएका छन् । उनी भर्जिनियाका एक धनी जमिन्दार परिवारका थिए । उनका ६१० भन्दा बढी दासहरू थिए र तीमध्ये स्याली हेमिंग्स नामकी एक दासीबाट सन्तान पनि जन्माएका थिए । डा. जोन्सनले आफ्नो पर्चा ‘ट्याक्सेसन नो टाइरनी’ (कर लगाउनु अत्याचार होइन) मा सोधेका थिए, ‘के कारणले गर्दा हामी निग्रो (अश्वेत) हरूलाई हाँक्नेहरूबाटै स्वतन्त्रताको लागि सबैभन्दा ठूलो चिच्याहट सुन्छौं ?’ यस घोषणापत्रले बेलायतीहरूले ‘निर्दयी रेड इन्डियन जङ्गलीहरू’सँग गरेको गठबन्धनको बारेमा पनि गुनासो गरेको छ ।
घोषणापत्र किन तयार पारियो ?
जुलाई १७७६ सम्ममा, ग्रेट ब्रिटेन र उत्तरी अमेरिकाको पूर्वी तटमा रहेका यसका १३ वटा उपनिवेशहरूबीच युद्ध सुरु भएको एक वर्षभन्दा बढी भइसकेको थियो । यो युद्ध सन् १७८३ सम्म चल्यो । लामो समयदेखि ‘अमेरिकी धर्मग्रन्थ’को रूपमा सम्मान गरिँदै आए पनि, स्वतन्त्रताको घोषणापत्र वास्तवमा एउटा सीमित र व्यावहारिक उद्देश्य बोकेको ’प्रेस विज्ञप्ति’ को रूपमा सुरु भएको इतिहासकार माइकल डी. ह्याटेम लेख्छन् । फिलाडेल्फियामा भेला भएका १३ उपनिवेशका प्रतिनिधिहरूको समिति ‘दोस्रो महादेशीय कंग्रेस’ले विश्वसामु आफ्नो विद्रोहलाई न्यायोचित ठहराउन र विदेशी सैन्य गठबन्धन सुरक्षित गर्न एउटा औपचारिक दस्तावेज चाहन्थ्यो । त्यसबेला, कतिपयले यसलाई जुलाई २ मा कंग्रेसले स्वतन्त्रताको पक्षमा मतदान गर्ने निर्णयभन्दा कम महŒवपूर्ण मानेका थिए । पछि अमेरिकाका दोस्रो राष्ट्रपति बनेका जोन एडम्सले आफ्नी पत्नीलाई पत्र लेख्दै जुलाई ४ होइन, जुलाई २ लाई अबदेखि सधैंका लागि यस महादेशको एक छेउदेखि अर्को छेउसम्म तामझाम, परेड, खेलकुद, बन्दुक, घण्टी, आगो बालेर र दीपावली गर्दै एक महान् वार्षिकोत्सवको रूपमा मनाउनुपर्ने बताएका थिए ।

के स्वतन्त्रता अपरिहार्य थियो ?
युद्धको सुरुमा, अमेरिकी पक्षका अधिकांश मानिसहरूले यसलाई स्वतन्त्रताको युद्धको रूपमा नभई बेलायती नागरिकको रूपमा आफ्ना कानुनी अधिकारहरूको अस्थायी रक्षाको रूपमा हेरेका थिए । जुलाई १७७५ मा, कंग्रेसले राजा जर्ज तेस्रोलाई सीधै एउटा निवेदन (ओलिभ ब्रान्च पिटिसन) पठायो, जसमा स्वतन्त्रता चाहने कुरालाई स्पष्ट रूपमा अस्वीकार गरिएको थियो तर राजाले त्यसलाई हेर्न अस्वीकार गरे र उपनिवेशवासीहरूलाई देशद्रोही घोषणा गर्दै उनीहरूलाई दबाउन ३० हजार जर्मन भाडाका सैनिकहरू तैनाथ गर्ने आदेश (प्रोक्लामेसन अफ रिबेलियन) जारी गरे । जनवरी १७७६ मा फिलाडेल्फियामा, बेलायती क्रान्तिकारी थोमस पेनले ‘कमन सेन्स’ नामक एउटा पुस्तिका प्रकाशित गरे । जसमा अमेरिकाले पूर्ण स्वतन्त्रताको माग गर्नुपर्छ भन्ने तर्क गरिएको थियो । यो पुस्तिका ठूलो मात्रामा बिक्री भयो र निकै प्रभावकारी साबित भयो । महादेशीय सेनाका कमान्डर जर्ज वासिङ्टनले यसलाई ‘अकाट्य’ घोषणा गरे । उपनिवेशवासीहरूले यो पनि महसुस गरे कि उनीहरूलाई फ्रान्स जस्ता विदेशी शक्तिहरूबाट मद्दत चाहिन्छ, र यदि उनीहरू बेलायती प्रजाहरूकै रूपमा वफादार रहिरहे भने त्यो मद्दत पाउन सक्दैनन् ।
यस दस्तावेजमा के भनिएको छ ?
यस दस्तावेजले १३ वटा उपनिवेशहरू बेलायती औपनिवेशिक शासनबाट मुक्त भएको र आफूलाई ‘संयुक्त राज्य अमेरिका’ (सोही वर्षको सुरुमा प्रयोग गरिएको शब्द) को रूपमा आफैँले प्रशासन चलाउने घोषणा गर्दछ । घोषणापत्रको प्रसिद्ध प्रस्तावनाले भन्छ, ‘हामी यी सत्यहरूलाई स्वयंसिद्ध मान्छौं कि सबै मानिसहरू समान रूपमा सृष्टि गरिएका छन्, उनीहरूलाई उनीहरूका सृष्टिकर्ताले केही निश्चित हरण गर्न नसकिने (खोस्न नमिल्ने) अधिकारहरू प्रदान गरेका छन्, जसमा जीवन, स्वतन्त्रता र सुखको खोजी पर्दछन् ।’ त्यसपछि यसले बेलायत र राजा जर्ज तेस्रोविरुद्ध अमेरिकीहरूका गुनासोहरूको रूपरेखा प्रस्तुत गर्दछ । राज्यहरूले यी गुनासोहरूको बारेमा ’हाम्रा बेलायती दाजुभाइहरूलाई’ जानकारी गराएको तर कुनै सुनुवाइ नभएको गुनासो गर्दै, यसले घोषणा गर्दछ कि अब १३ वटा राज्यहरूसँग बेलायतसँगको ‘सबै राजनीतिक सम्बन्ध’ तोड्नु बाहेक अर्को कुनै विकल्प छैन ।
दुई पक्ष कसरी युद्धको अवस्थामा पुगे ?
सन् १७६३ मा भएको सात वर्षे युद्धमा फ्रान्समाथि बेलायतको विजयपछि यी दुई बीचको सम्बन्ध निकै बिग्रिएको थियो । फ्रान्स र त्यसका आदिवासी अमेरिकी सहयोगीहरूबाट अमेरिकी सिमानाको रक्षा गर्दा बेलायत लगभग टाट पल्टिने अवस्थामा पुगेको थियो । करिब २० लाखको द्रुत रूपमा बढ्दो जनसंख्या भएका उपनिवेशहरूले आफ्नो मातृभूमिलाई लगभग कुनै कर तिर्दैनथे, जबकि भारी करको मारमा परेको बेलायतले उनीहरूको रक्षाको लागि खर्च गरिरहेको थियो । राजा जर्ज तेस्रो र उनका मन्त्रीहरूले राजस्व बढाउने बाटो खोजे । फलस्वरूप संसदले स्ट्याम्प एक्ट (१७६५) र टाउनसेन्ड एक्ट (१७६७) सहितका करका नियमहरू पारित ग¥यो । संसदलाई त्यसो गर्ने पूर्ण अधिकार छ भन्ने उनीहरूको विश्वास थियो । यता उपनिवेशवासीहरूले भने संसदमा आफ्नो प्रतिनिधित्व नभएकाले यस्ता कानुनहरूको कुनै वैधानिकता नभएको माने, र बहिष्कार तथा विरोध प्रदर्शन गर्दै कडा प्रतिकार गरे । तनाव बढ्दै गयो, र बोस्टन नरसंहार (१७७०) र बोस्टन टी पार्टी (१७७३) को रूपमा विस्फोट भयो । यसको प्रतिक्रिया स्वरूप, बेलायतले दण्डात्मक कानुन (कोअर्सिभ एक्ट्स – १७७४) लागू ग¥यो, बोस्टन बन्दरगाह बन्द ग¥यो र म्यासाचुसेट्सको स्वशासनको अधिकार खोस्यो । हिंसा बढ्दै गयो, र अप्रिल १७७५ मा लेक्सिङटन र कंकर्डका लडाइँहरूसँगै युद्ध सुरु भयो । राल्फ वाल्डो इमर्सनले यसलाई ‘संसारभर सुनिएको गोलीको आवाज’ भनेर नामकरण गरे ।
स्वतन्त्रताको घोषणापत्र कसरी लेखियो ?
जुन १७७६ मा स्वतन्त्रताको प्रस्ताव पेस गरिएपछि, कंग्रेसले घोषणापत्रको मस्यौदा तयार गर्न पाँच सदस्यीय समिति (जोन एडम्स, बेन्जामिन फ्र्याङ्कलिन, थोमस जेफर्सन, रोबर्ट लिभिङस्टन र रोजर सेर्मन) गठन ग¥यो । यसलाई जेफर्सनले १७ दिनको अवधिमा, धेरैजसो मैनबत्तीको उज्यालोमा पहिलो पटक लेखेका थिए । अन्य चार जनाले सानातिना परिवर्तन गरे; त्यसपछि यसलाई कंग्रेसले सम्पादन ग¥यो । परिमार्जित पाठ जुलाई ४ मा अनुमोदन गरियो, र यसमा हस्ताक्षर गर्ने ५६ संस्थापक पिताहरूमध्ये धेरैले अगस्ट २ मा हस्ताक्षर गरे ।
त्यसबेला घोषणापत्रले कस्तो भूमिका खेल्यो ?
फिलाडेल्फियामा, यसलाई जोन डनल्यापले छापेका थिए (आज, यी ‘डनल्याप ब्रोडसाइड्स’ २६ वटा मात्र अस्तित्वमा रहेको विश्वास गरिन्छ) । र जुलाई ६ मा, यसलाई पेन्सिलभेनिया इभिनिङ पोस्टमा पुनः प्रकाशित गरियो । यसले एक असाधारण जनप्रतिक्रिया उत्पन्न गरायो । सार्वजनिक पठनपाठनलाई जयजयकार र तोपको सलामीका साथै राजाको निशान छापजस्ता शाही प्रतीकहरू हटाइयो । न्युयोर्कमा वासिङ्टनको सेनामा सेवा गरिरहेका सिपाहीहरूलाई पढेर सुनाइएको थियो, जसले घोडामा चढेका जर्ज तृतीयको सिसाको मूर्ति ढालेर त्यसलाई पगाली बन्दुकको गोली बनाएका थिए । यसको पहिलो वार्षिकोत्सव समारोह सन् १७७७ मा भएको थियो । सन् १७८१ मा जुलाई ४ लाई आधिकारिक उत्सवको दिन बनाउने म्यासाचुसेट्स पहिलो राज्य थियो ।
यसको विरासत के हो ?
स्वतन्त्रताको घोषणापत्र मानव इतिहासकै सबैभन्दा महŒवपूर्ण दस्तावेजमध्ये एक हो । यसले फ्रान्सेली क्रान्तिको मानव अधिकारको घोषणापत्रलाई प्रेरित ग¥यो, जसको मस्यौदा तयार गर्न जेफर्सनले मद्दत गरेका थिए । भेनेजुएला (१८११) देखि भियतनाम (१९४५) सम्मका दर्जनौं स्वतन्त्रता घोषणापत्रहरूले यसकै भाषालाई गुञ्जायमान गर्छन् वा सीधै नक्कल गर्छन् । अब्राहम लिंकनले यसले संयुक्त राज्य अमेरिकाका साँचो सिद्धान्तहरू व्यक्त गरेको विश्वास गर्थे । उनले सन् १८६३ को आफ्नो गेटिसबर्ग सम्बोधनमा यसलाई ‘स्वतन्त्रतामा जन्मिएको र सबै मानिस समान रूपमा सृष्टि गरिएका हुन् भन्ने प्रस्तावनाप्रति समर्पित राष्ट्र’ भनेर उल्लेख गरेका थिए । मार्टिन लुथर किङ जुनियरले आफ्नो ‘आइ ह्याभ अ ड्रिम’ भाषणमा यसलाई ‘प्रतिज्ञापत्र’ (प्रोमिसरी नोट) भनेका थिए र अमेरिकीहरूलाई यो ‘चेक साट्न’ माग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्