लन्डन । मानिस अझै पनि विकास (इभोल्युसन) भइरहेका छन् ? भविष्यमा हाम्रो स्वरूप अहिलेभन्दा फरक हुन सक्छ ? हामी होचै हौँला वा अझ अग्ला ? के मानिसका शारीरिक विशेषताहरू फरक–फरक हुन सक्छन् वा भविष्यमा तिनीहरूलाई निश्चित आनुवंशिक मापदण्डअनुसार पूर्ण रूपमा डिजाइन गर्न सकिनेछ ?
सभ्यताको विकाससँगै मानिस पनि निरन्तर परिवर्तन हुँदै आएका छन् । पहिले रोग, भोकमरी र प्रतिकूल मौसमजस्ता प्राकृतिक चुनौतीहरूले मानव विकासलाई ठूलो प्रभाव पार्थे तर सभ्यता अघि बढ्दै जाँदा यी कारकहरूको प्रभाव क्रमशः घट्दै गयो ।
तर बेलायतको एंगलिया रस्किन विश्वविद्यालयका मानवविज्ञानी तथा विकासवादी आनुवंशिकीविद् डा. जेसन होज्सनका अनुसार मानव विकास अहिले पनि निःसन्देह जारी छ । उनी भन्छन्, “हामीलाई थाहा छ कि केही जीनहरू निश्चित जनसंख्यामा क्रमशः बढी सामान्य बन्दै गइरहेका छन् । तर यस्तो परिवर्तन धेरै पुस्तामा फैलिने भएकाले कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमै त्यो विकासवादी परिवर्तन प्रत्यक्ष देख्न सक्दैन ।”
मानव विविधता
अमेरिकाको स्मिथसोनियन नेसनल म्युजियम अफ नेचुरल हिस्ट्रीकी पेलियोएन्थ्रोपोलोजिस्ट ब्रियाना पोबिनरका अनुसार हाम्रो खानपानले हालको मानव विकासमा निकै ठूलो भूमिका खेलेको छ । उनी भन्छिन्, “आज विश्वको करिब एक तिहाइ जनसंख्याले वयस्क भएपछि पनि दूध पचाउन सक्छ । तर पाँचदेखि दश हजार वर्षअघि लगभग कसैले पनि यस्तो गर्न सक्दैनथ्यो । यो विकासवादी परिवर्तन निकै तीव्र गतिमा भएको उदाहरण हो ।”
यो परिवर्तन मानिसहरूले गाई, भैँसीजस्ता दुग्धजन्य जनावर पाल्न थालेपछि सुरु भएको हो । अनिकालका बेला दूध पचाउन सक्ने मानिसहरूले बोसो र प्रोटिनयुक्त आहार पाउँथे, जसले उनीहरूको बाँच्ने सम्भावना बढायो । उनीहरूले आफ्ना जीन सन्तानमा हस्तान्तरण गरे र समयसँगै ती जीन व्यापक रूपमा फैलिँदै गए । वातावरणीय अन्य कारकहरूले पनि मानव विकासलाई प्रभाव पारेका छन् ।
हजारौं वर्षअघि हाम्रो प्रजाति अफ्रिकाबाट संसारका विभिन्न भागमा फैलिँदा उसले फरक–फरक जलवायु सामना गर्नुप¥यो । त्यसअनुसार शरीरले नयाँ अनुकूलन विकास ग¥यो । उदाहरणका लागि, जहाँ सूर्यको पराबैंगनी (यूभी) किरण कम थियो, त्यहाँ हल्का छालाको विकास भयो ताकि शरीरले पर्याप्त भिटामिन डी उत्पादन गर्न सकोस् । डा. होज्सनका अनुसार स्थानीय विविधता त्यसबेला विकसित भयो, जब मानिसहरू एकअर्काबाट अलग भएर विभिन्न क्षेत्रमा बसोबास गर्न थाले तर अहिले बसाइँसराइ र विश्वव्यापीकरणका कारण विभिन्न जनसमूह पुनः एकअर्कासँग मिसिँदै गएका छन् । विश्वव्यापीकरणले जैविक विविधता घट्न सक्ने संकेत गरे पनि वास्तविकता त्यति सरल छैन ।
डा. होज्सनले ‘असोर्टेटिभ मेटिङ’सम्बन्धी अध्ययन गर्छन् । यसको अर्थ मानिसहरूले आफूजस्तै विशेषता भएका साथी रोज्ने प्रवृत्ति हो । उनका अनुसार यस्तो प्रवृत्तिले प्राकृतिक छनोटको प्रभाव अझ बलियो बनाउन सक्छ र कुनै जनसंख्यामा विशेष गुणहरूलाई बढावा दिन सक्छ । अनुसन्धानहरूले देखाएका छन् कि अग्लो व्यक्तिले अग्लो जीवनसाथी रोज्ने सम्भावना बढी हुन्छ । उनका अनुसार उचाइ, तौल र अनुहारको बनोटजस्ता धेरै विशेषतामा यस्तो समानता देखिन्छ, यद्यपि सबै गुणमा होइन । यसले अन्ततः जीनको आवृत्तिमा प्रभाव पार्छ ।
यसको केही भाग सामाजिक तथा सांस्कृतिक कारणसँग पनि जोडिएको छ । उदाहरणका लागि, धेरै मानिसहरूले आफ्नै जातीय वा सांस्कृतिक समूहभित्र विवाह गर्ने गर्छन् । यद्यपि केही समाजमा यो प्रवृत्ति परिवर्तन हुँदै गएको छ । डा. होज्सन भन्छन्, “यस्ता धेरै कारकहरूले आज पनि मानव विकासलाई निरन्तर प्रभावित गरिरहेका छन् ।“ तर केही परिवर्तनहरू यस्ता पनि छन्, जसले विकासवादी प्रक्रियालाई प्रभाव पार्दैनन् । पोबिनरका अनुसार यदि तपाईं जिम गएर कसरत गरेर मांसपेशी बलियो बनाउनुभयो भने, त्यसको अर्थ तपाईंका सन्तानले पनि त्यही गुणका जीन प्राप्त गर्छन् भन्ने होइन । अचेल दाँतको उपचारदेखि सौन्दर्य शल्यक्रियासम्म धेरै शारीरिक विशेषता एकै जीवनकालमा परिवर्तन गर्न सकिन्छ । यी परिवर्तनहरू प्राकृतिक छनोटभन्दा सामाजिक रोजाइबाट बढी प्रभावित हुन्छन् ।
इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार सन् २०२४ मा विश्वभर करिब चार करोड शल्यक्रियात्मक तथा गैर–शल्यक्रियात्मक सौन्दर्यसम्बन्धी प्रक्रिया गरिएका थिए, जुन सन् २०२० को तुलनामा ४० प्रतिशतले बढी हो । यसले मानिसहरू जन्मजात रूपभन्दा फरक देखिन चाहने प्रवृत्ति बढ्दै गएको देखाउँछ ।
डेनमार्कको आरहस विश्वविद्यालयका पूर्व सहप्राध्यापक तथा बायोइन्फर्मेटिक्स विशेषज्ञ थोमस मेलुन्डका अनुसार चिकित्सा विज्ञानले मानिसको बाह्य स्वरूप परिवर्तन गर्ने क्षमता बढ्दै जाँदा मानिस सधैं आफ्ना जीनले निर्धारण गरेजस्तै देखिन्छ भन्ने अवस्था अब रहेन । भविष्यमा हामी केवल बाहिरी रूप मात्र होइन, जीनसमेत परिवर्तन गर्न सक्षम हुन सक्छौं ।
वैज्ञानिकहरूले क्रिस्पर नामक प्रविधिबाट मानव जीन सम्पादन गरिरहेका छन् । यस प्रविधिमा एउटा भागले लक्षित डीएनए पत्ता लगाउँछ भने अर्को भागले त्यसलाई परिवर्तन गर्छ । यो प्रविधि निरन्तर सुधार भइरहेको छ र केही सीमित आनुवंशिक रोग, विशेषगरी केही रक्तसम्बन्धी रोगहरूको उपचारमा यसको प्रयोग सुरु भइसकेको छ । यदि यो प्रविधि अझ विकसित भएर व्यापक रूपमा उपलब्ध भयो भने, सिद्धान्ततः भविष्यमा मानवका अन्य गुणहरू पनि आनुवंशिक तहमै परिवर्तन गर्न सकिने सम्भावना रहन्छ । यसका लागि धेरै पुस्ता कुर्नुपर्ने छैन, एउटै पुस्तामै इच्छित गुणहरू विकास गराउन सकिने अवस्था आउन सक्छ ।
यदि यस्तो सम्पादन शुक्राणु र अण्डाणु बन्ने जर्मलाइन कोशिकामा गरियो भने, ती परिवर्तनहरू आगामी पुस्तामा पनि वंशानुगत रूपमा सर्नेछन् तर वैज्ञानिकहरू अझै पनि यस्तो प्रविधिलाई पूर्ण रूपमा सुरक्षित र भरपर्दो बनाउन निकै टाढा छन् । डा. होज्सन भन्छन्, “हाल मानिसमा यस्तो प्रयोग गर्नु उचित मानिँदैन । यसलाई व्यापक रूपमा अनैतिक ठानिन्छ ।” तर उनको अनुमानमा भविष्यमा यो धारणा बदलिन सक्छ । उनका अनुसार, “अबदेखि पाँच हजार वर्षपछि स्थिति उल्टो पनि हुन सक्छ । वंशानुगत रोग हटाउन सक्ने अवस्थामा पुगेपछि जीन सम्पादन नगर्नु नै अनैतिक ठानिन सक्छ ।”
यदि यो प्रविधि सबैका लागि उपलब्ध भयो भने, आमाबुबाले आफ्ना सन्तानको रूपरङ्ग वा अन्य विशेषता पनि जीन सम्पादनमार्फत छनोट गर्न सक्ने सम्भावना रहनेछ । डा. होज्सनका अनुसार मानव विकासको भविष्य अन्ततः मानिसकै हातमा पुग्न सक्छ । तर हामी अहिले त्यस्तो अवस्थाबाट धेरै टाढा छौं । यस प्रविधिबारे अझ धेरै कुरा बुझ्न बाँकी छ, र उनी आफ्नो जीवनकालमै यस्तो अवस्था नआओस् भन्ने अपेक्षा गर्छन् ।
नयाँ प्रजातिको सम्भावना
थोमस मेलुन्डका अनुसार भविष्यमा मानिस कस्ता देखिनेछन् भन्ने अनुमान गर्न असम्भव छ, जबसम्म भविष्यको वातावरण कस्तो हुनेछ भन्ने थाहा हुँदैन । यदि धेरै टाढाको भविष्यको कुरा गर्ने हो भने, सम्भवतः मानिस नयाँ प्रजातिमा विकसित भइसकेका हुनेछन् । झन्डै १० लाख वर्षअघि होमो इरेक्टसजस्ता मानव प्रजातिहरू पृथ्वीमा थिए । हाम्रो आफ्नै प्रजाति होमो सेपियन्स भने करिब तीन लाख वर्षअघि विकसित भएको हो ।
मेलुन्ड भन्छन्, “यदि हामी अर्को १० लाख वर्ष पर्खियौं भने, हाम्रो सन्तान हामीभन्दा त्यति नै फरक हुनेछ, जति होमो इरेक्टस हामीभन्दा फरक थियो ।“ तर उनी चेतावनी पनि दिन्छन् कि प्रजातिबीचको भिन्नता हामीले सोचेजति स्पष्ट नहुन पनि सक्छ । उनका अनुसार, “हामी होमो इरेक्टसलाई देखेर उनी हामीभन्दा निकै फरक छन् भनेर सजिलै छुट्याउन सक्छौं भन्नेमा म निश्चित छैन ।”
यो पनि सम्भव छ कि भविष्यमा मानव प्रजाति दुई भागमा विभाजित होस् । उदाहरणका लागि, यदि केही मानिस चन्द्रमा वा मंगल ग्रहजस्ता अन्तरिक्षीय वातावरणमा स्थायी रूपमा बसोबास गर्न थाले भने । मेलुन्डका अनुसार चन्द्रमा र मंगलमा पृथ्वीभन्दा कम गुरुत्वाकर्षण भएकाले त्यहाँको वातावरणअनुसार मानव शरीरले नयाँ अनुकूलन विकास गर्नुपर्ने हुन्छ ।
यद्यपि वास्तवमै नयाँ प्रजाति विकसित हुन ती जनसंख्याहरू धेरै पुस्तासम्म पृथ्वीका मानिसहरूबाट पूर्ण रूपमा अलग रहनुपर्नेछ तर यदि हामीले मानव विकासलाई केवल प्राकृतिक प्रक्रियामा मात्र नछोड्ने हो भने ? मेलुन्डका अनुसार जीन प्रविधिमार्फत आफ्नै जीन परिवर्तन गर्न सकिने सम्भावना बढ्दै जाँदा अब मुख्य प्रश्न जीवविज्ञानले हामीसँग के गर्छ भन्ने होइन, बरु हामी आफैंले के रोज्छौं भन्ने हुनेछ । बीबीसी