नेभिगेशन
विश्व
युद्धको खेल फेरिँदै

एआई र ड्रोनको आँधीले ट्यांक, लडाकु विमान र युद्धपोत विस्थापित

विश्वभर युद्ध लड्ने तरिका तीव्र गतिमा बदलिँदै गएको छ । कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन, स्वायत्त (अटोनोमस) प्रणाली तथा सस्तो तर अत्याधुनिक हतियारको विकासले परम्परागत सैन्य रणनीतिलाई चुनौती दिइरहेको छ । अब प्रश्न उठ्न थालेको छ—अमेरिका, उसका सहयोगी र प्रतिद्वन्द्वी राष्ट्रहरूले ट्यांक, लडाकु विमान र युद्धपोतमा खर्च गरिरहेका अर्बौं डलर भविष्यमा ‘मेसिनगनको युगमा घोडा र धनुष किन्नु’ जस्तै त हुने होइन ?
सुरुमा धेरै पश्चिमी सैन्य अधिकारीहरूले रुस–युक्रेन युद्धलाई आफ्ना लागि खासै पाठ नदिने संघर्ष ठानेका थिए । उनीहरूको विश्वास थियो कि अमेरिका वा उसका सहयोगी राष्ट्रले युद्ध लड्दा हवाई वर्चस्व र अत्याधुनिक ‘प्रिसिजन’ हतियारको प्रयोग गरेर छोटो समयमा निर्णायक विजय हासिल गर्न सक्नेछन् । तर, अमेरिका र इजरायलले ठूलो मात्रामा यस्ता हतियार प्रयोग गरे पनि इरानजस्तो क्षेत्रीय शक्तिलाई रणनीतिक रूपमा पराजित गर्न नसक्नुले यो धारणा कमजोर बनाइदिएको छ ।
विशेषज्ञहरूका अनुसार अब ड्रोन–केन्द्रित युद्ध स्थायी वास्तविकता बनिसकेको छ । सस्तो तर अत्यधिक सटीक हतियार, लामो दूरीका ब्यालिस्टिक तथा क्रुज मिसाइल, र एआईद्वारा सञ्चालित स्वायत्त प्रणालीले युद्धको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिरहेका छन् ।
आजको युद्धमा पहिले सुरक्षित मानिने पछाडिका सैन्य अड्डा पनि अब सुरक्षित छैनन् । पर्सियन गल्फस्थित अमेरिकी सैन्य अड्डादेखि युक्रेनबाट टाढाका रुसी सैन्य संरचनासम्म ड्रोन र मिसाइलको पहुँच पुगेको छ । साथै, सस्ता निगरानी उपकरण (सेन्सर) को व्यापक प्रयोगले ठूलो संख्यामा सैनिक वा ट्यांक एकै ठाउँमा जम्मा गरेर आक्रमण गर्ने पुरानो रणनीति झन् कठिन बनेको छ, किनकि त्यस्ता गतिविधि तुरुन्तै पत्ता लगाएर लक्ष्य बनाउन सकिन्छ ।
जर्मनीका रक्षा प्रमुख जनरल कास्र्टेन ब्रुअरका अनुसार युद्धको चरित्र नै मौलिक रूपमा बदलिएको छ । उनका अनुसार सेनाले नयाँ प्रविधि छिटो अपनाउन, सिक्न र अनुकूलन गर्न नसके भविष्यका युद्ध जित्न असम्भव हुनेछ । नेदरल्यान्ड्सका रक्षा प्रमुख जनरल ओन्नो आइखेल्सहाइमले पनि युद्धमा प्रविधि तीव्र गतिमा बदलिने भएकाले ढिलो अनुकूलन गर्ने राष्ट्रले सुरुआती चरणमै ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
युक्रेन युद्धमा एआईको प्रयोग तीव्र रूपमा बढिरहेको छ । जर्मन कम्पनी हेल्सिङका एआई–सञ्चालित ड्रोनहरूले कब्जामा रहेका क्षेत्रमा इन्धन बोकेका ट्रकजस्ता लक्ष्य पहिचान गरी मानवको अनुमति पाएपछि आफैं आक्रमण गर्न सक्छन् । अर्कोतर्फ, स्टारलिंक पहुँच नभएकाले रुसले पूर्ण रूपमा एआई–निर्देशित ‘मोल्निया’ ड्रोन प्रयोग गर्न थालेको छ ।
हेल्सिङका सह–प्रमुख गुन्डबर्ट शेर्फका अनुसार स्वायत्त प्रणाली अहिले मात्र युद्धभूमिमा देखिन थालेको भए पनि आगामी पाँचदेखि दस वर्षभित्र यसले युद्धको स्वरूप नै बदल्नेछ । अमेरिकी रक्षा प्रविधि कम्पनी पालान्टिरका युरोप प्रमुख लुइस मोस्लीले सन् २०२६ लाई बारुदको आविष्कारसरह सैन्य प्रविधिमा ऐतिहासिक मोडका रूपमा सम्झिने सम्भावना रहेको बताएका छन् ।
विशेषज्ञहरूका अनुसार अब युद्ध जित्ने मुख्य आधार कुनै एक अत्याधुनिक हतियार होइन, बरु नयाँ प्रविधिमा छिटो सुधार गर्ने क्षमता हो । रुस–युक्रेन युद्धमा केही महिनाअघि अत्याधुनिक मानिएको प्रविधि पनि छोटो समयमै पुरानो बन्न थालेको छ ।
युक्रेनले ड्रोन खरिद प्रणालीसमेत पूर्ण रूपमा परिवर्तन गरेको छ । अहिले युद्धमा भएका शत्रु क्षतिको ९० प्रतिशतभन्दा बढी ड्रोनमार्फत भइरहेको दाबी गरिन्छ । नयाँ प्रणालीअनुसार युद्धमा रुसी सैनिक वा उपकरण सफलतापूर्वक नष्ट गर्ने युक्रेनी ब्रिगेडले भिडियो प्रमाणका आधारमा ‘ई–पोइन्ट’ प्राप्त गर्छ । ती अंकलाई बजेटमा रूपान्तरण गरी सम्बन्धित ब्रिगेडले निर्मातासँगै सिधै नयाँ ड्रोन तथा उपकरण खरिद गर्न सक्छ । यसले हतियारलाई एकपटक किनिने वस्तुभन्दा निरन्तर अद्यावधिक हुने ‘सेवा’ जस्तै बनाएको छ ।
ड्रोन युद्धले ‘हवाई वर्चस्व’ को परम्परागत अवधारणामै प्रश्न उठाएको छ । अत्याधुनिक एफ–३५ लडाकु विमानसहित इरानको आकाश नियन्त्रणमा लिए पनि अमेरिका आफ्ना प्रमुख सैन्य अड्डालाई इरानी ड्रोन र मिसाइलबाट पूर्ण रूपमा जोगाउन सफल हुन सकेन ।
युक्रेनले ड्रोन युद्धलाई केवल सहायक हतियार नभई छुट्टै युद्ध क्षेत्रका रूपमा विकास गरिरहेको छ । युक्रेनी ड्रोन निर्माता यूफोर्सका प्रमुख ओलेग रोगिन्स्कीका अनुसार अब लक्ष्य पहिचानदेखि आक्रमणसम्मको प्रक्रिया सकेसम्म छोटो बनाउने राष्ट्र नै युद्धमा अघि रहनेछ ।
यद्यपि, युद्धबाहिर रहेका देशका लागि युक्रेनको तीव्र सुधार गर्ने मोडेल अपनाउन सजिलो छैन । किनकि लाखौं ड्रोन उत्पादन गर्दा केही महिनामै ती प्रविधि पुराना हुन सक्छन् । त्यसैले भविष्यको युद्धका लागि तयारी गर्दा वर्तमान सुरक्षालाई पनि कमजोर पार्न नहुने सैन्य अधिकारीहरूको निष्कर्ष छ ।

जर्मनीका रक्षा प्रमुख ब्रुअर भन्छन्, ‘भविष्यका लागि सेनाको आधुनिकीकरण आवश्यक छ, तर त्यसका लागि आजको प्रतिरक्षा क्षमता रोक्न सकिँदैन । हामी शत्रुलाई ‘सन् २०३९ मा फेरि आउनू’ भन्न सक्दैनौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्