नेभिगेशन
विश्व

परम्परागत पत्नीको लोकप्रियता बढ्दो !

पछिल्लो समय घरबाहिर काममा नजाने, घरैमा बस्ने बरु सन्तान हुर्काउने भूमिकामा महिलाहरूको रुचि बढ्दै गएको छ । यसलाई केहीले ट्र्याड वाइफ (परम्परागत पत्नी) नाम दिन थालेका छन् । तर यस्तो पुरुष र महिलाबीच जैविक तथा व्यवहारगत केही वास्तविक भिन्नता भए पनि सामाजिक सञ्जालमा लोकप्रिय बन्दै गएको ‘ट्रयाड वाइफ’ (परम्परागत पत्नी) संस्कृति ऐतिहासिक तथ्यमा आधारित नभएको एक विकासवादी मनोवैज्ञानिकले बताएका छन् ।
प्रकृति कि पालनपोषण (नेचर भर्सेज नर्चर) सम्बन्धी अध्ययनका विज्ञ स्टिभ स्टेवार्ट–विलियम्सका अनुसार इतिहासभर महिलाहरू घरभित्र मात्र सीमित थिए भन्ने धारणा गलत हो । उनका अनुसार महिलाहरूले सधैं घरबाहिरका काममा पनि सक्रिय भूमिका निर्वाह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत फैलिएको ‘ट्रयाड वाइफ’ अवधारणाले श्रीमान्लाई परिवारको एकमात्र आर्थिक अभिभावक, नेता र संरक्षकका रूपमा चित्रण गर्छ भने महिलालाई आश्रित र आज्ञाकारी भूमिकामा राख्छ । यसका समर्थकहरूले यसलाई परम्परागत लैंगिक भूमिकाको पुनस्र्थापना भन्दै प्रचार गर्ने गरेका छन् ।
तर युनिभर्सिटी अफ नटिङघम, मलेसियामा आबद्ध स्टुअर्ट–विलियम्सले आफ्नो नयाँ पुस्तक ‘अ बिलियन इयर्स अफ सेक्स डिफरेन्सेस’मा यस्तो दाबीलाई समर्थन गर्ने प्रमाण अत्यन्त कमजोर रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार मानव विकासक्रमको अधिकांश समय महिलाहरू घरमा बालबच्चा हुर्काएर बसेनन् । उनीहरू खाद्यान्न संकलनलगायत विभिन्न काममा संलग्न हुन्थे र अन्य वयस्कहरूसँग सामाजिक सम्पर्कमा रहन्थे ।
यद्यपि उनले पुरुष र महिलाको रुचि तथा पेशागत झुकावमा औसत रूपमा केही भिन्नता देखिने स्वीकार गरेका छन् । महिलाहरू प्रायः मानिससँग प्रत्यक्ष सम्बन्धित वा भाषा–केन्द्रित क्षेत्र, जस्तै मनोविज्ञान, शिक्षा, मानविकी तथा हेरचाहसम्बन्धी पेशातर्फ आकर्षित हुने गरेको उनको भनाइ छ । अर्कोतर्फ कम्प्युटर विज्ञान, भौतिकशास्त्र र गणितजस्ता क्षेत्रहरूमा पुरुषहरूको संख्या तुलनात्मक रूपमा बढी रहने गरेको उनले बताए ।
स्टुअर्ट–विलियम्सका अनुसार विकसित र लैंगिक समानता बढी भएका मुलुकहरूमा समेत पेशागत लैंगिक विभाजन घट्नुको सट्टा झन् बढ्ने प्रवृत्ति देखिएको छ । यसलाई ‘जेन्डर इक्वालिटी प्याराडक्स’ भनिन्छ । आर्थिक रूपमा सम्पन्न समाजमा व्यक्तिहरूले आफ्ना व्यक्तिगत रुचिअनुसार करियर रोज्न पाउने भएकाले प्राकृतिक झुकावहरू अझ स्पष्ट रूपमा देखिने उनको तर्क छ ।
उनले महिलाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा वा पुरुषहरूलाई हेरचाहसम्बन्धी पेशामा प्रवेश गर्न पूर्ण स्वतन्त्रता हुनुपर्ने बताए । तर हरेक पेशामा अनिवार्य रूपमा ५०–५० प्रतिशत लैंगिक प्रतिनिधित्व कायम गर्न खोज्नु स्वाभाविक नहुने उनको धारणा छ ।
स्टुअर्ट–विलियम्सका अनुसार केही लैंगिक भिन्नताहरू बाल्यकालदेखि नै देखिन थाल्छन् । विभिन्न अध्ययनले केटाहरू खेलमा झगडाजस्ता गतिविधि र खेलौना हतियारतर्फ बढी आकर्षित हुने, जबकि केटीहरू बच्चा हुर्काउने खेल वा गुडियासँग खेल्न रुचाउने देखाएका छन् ।
उनले भने, ‘सायद यो महिलाहरूमा देखिने अभिभावकीय प्रेरणाको प्रारम्भिक संकेत हुन सक्छ । अधिकांश केटा र केटीहरू आफ्नो लिंगसँग मिल्ने गतिविधितर्फ आकर्षित हुन्छन्, तर त्यसका अपवादहरू सधैं रहनेछन् ।’
उनका अनुसार व्यक्तिगत रुचि र क्षमतालाई प्राथमिकता दिनु महŒवपूर्ण हो तर मानिसलाई पूर्वनिर्धारित सामाजिक भूमिकामा जबर्जस्ती बाँध्नु भने गलत हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्