अन्तरिक्ष यात्राले अन्तरिक्षयात्रीहरूको मस्तिष्कमा पार्ने असर भविष्यका चन्द्रमा र मंगल ग्रहका अभियानका लागि ठूलो चुनौती बन्न सक्छ ।
मानव शरीर अर्बौं वर्षको विकासक्रमसँगै पृथ्वीको गुरुत्वाकर्षणमा बाँच्न अभ्यस्त छ । अन्तरिक्ष युगको सुरुवातमा मानिस शून्य गुरुत्वाकर्षण भएको ठाउँमा कसरी बाँच्ला, रगत जम्ला कि वा हड्डीहरू टुट्लान् कि भन्ने स्वाभाविक डर थियो । तर, जनावर र मानिसमा गरिएका विभिन्न परीक्षणले मानिस अन्तरिक्षमा बाँच्न र काम गर्न सक्छ भन्ने प्रमाणित गरिसकेका छन् ।
युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का अन्तरिक्षयात्री लुका पार्मितानोका अनुसार अन्तरिक्षमा शरीरले गर्ने अनुकूलन अचम्मको हुन्छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को प्रशिक्षणका क्रममा उनले भनेका थिए, ‘केही सातापछि तपाईंको शरीर पृथ्वीमा हुँदा जस्तो रहँदैन । तपाईंका खुट्टा पातला हुन्छन् र अनुहार गोलो बन्छ ।’ सन् २०२७ को आर्टेमिस–३ अभियानका लागि छानिएका पार्मितानोले मानव जातिको सफलता नै यही अनुकूलन क्षमता भएको बताए । उनका अनुसार, ‘केही सातामै शरीरमा यति धेरै परिवर्तन हुनु र नयाँ वातावरणसँग सहजै मिल्नु साँच्चै अचम्म लाग्ने अनुभव हो ।’
अन्तरिक्षले मांसपेशी र हड्डीमा पार्ने असरबारे धेरै अध्ययन भए पनि मस्तिष्कमा पर्ने प्रभावबारे निकै कम जानकारी छ । गुरुत्वाकर्षण नहुँदा शरीरले कुनै भार बोक्नु पर्दैन, जसले गर्दा हड्डी र मांसपेशी कमजोर हुन थाल्छन् । शरीरको तरल पदार्थ माथितिर सर्ने हुँदा अन्तरिक्षयात्रीको अनुहार फुलेको जस्तो देखिन्छ । यसबाट बच्न उनीहरू आईएसएसमा दैनिक दुई घण्टा व्यायाम गर्छन् । तैपनि पृथ्वी फर्किंदा उनीहरूलाई स्ट्रेचरमा बोक्नुपर्छ र हड्डी पूर्ण रूपमा सामान्य अवस्थामा आउन चार वर्षसम्म लाग्न सक्छ ।
तर, उनीहरूको मस्तिष्कमा के भइरहेको हुन्छ भन्ने कुरा अझै रहस्यमय छ । ईएसएका फ्लाइट सर्जन अलेसान्ड्रो अल्सिबियाडे भन्छन्, ‘मस्तिष्क सम्भवतः हाम्रो सबैभन्दा महत्वपूर्ण अंग हो । यदि प्रभावकारी रूपमा काम गर्ने मस्तिष्क लिएर अन्तरिक्षमा जान सक्नुभएन भने अरू सबै कुरा व्यर्थ हुन्छ ।’
यस विषयमा अनुसन्धान निकै सीमित छ । तर, हालै बेलायतको बिर्कबेक विश्वविद्यालयका वैज्ञानिकहरूले ३७७ जना सहभागी भएका १५ वटा मस्तिष्क इमेजिङ अध्ययनको नतिजालाई एकै ठाउँमा राखेर अनुसन्धान गरेका छन् । उनीहरूले शून्य गुरुत्वाकर्षणमा मस्तिष्कमा हुने परिवर्तनहरू पहिचान गरेको बताएका छन् ।
प्रमुख अनुसन्धानकर्ता तथा प्राध्यापक एलिसा राफाएला फेरे भन्छिन्, ‘यो अत्यन्त सुन्दर न्युरोप्लास्टिसिटी (मस्तिष्कको परिवर्तनशीलता) हो । गुरुत्वाकर्षण नहुँदा परिवर्तन हुने मस्तिष्कका क्षेत्रहरूको एउटा समूह हामीले पहिचान गरेका छौं ।’ अर्थात्, शरीर जस्तै मस्तिष्कले पनि नयाँ वातावरणअनुसार आफूलाई शारीरिक रूपमै बदल्छ ।
अध्ययनकी सहलेखिका सिल्भिया सेघेजीका अनुसार चालचलन र सन्तुलनसँग जोडिएका मस्तिष्कका भागहरूमा परिवर्तन देखिएको छ । यी सबै संकेतहरू मस्तिष्कको ‘ओपर्कुलम’ भनिने भागमा प्रशोधन हुन्छन् । गुरुत्वाकर्षणलाई मस्तिष्कले सधैं महसुस गरिरहेको हुन्छ । फेरे भन्छिन्, ‘हामी गुरुत्वाकर्षणलाई प्रत्यक्ष देख्दैनौं, तर यो वातावरणको स्थायी विशेषता हो जसलाई मस्तिष्कले निरन्तर प्रशोधन गरिरहेको हुन्छ । विकासोन्मुख भ्र्रूणले प्राप्त गर्ने पहिलो संकेत नै गुरुत्वाकर्षण हो ।’
मस्तिष्कको यो अनुकूलन क्षमता अन्तरिक्षयात्रीका लागि राम्रो कुरा हो, तर चुनौती भनेको यो परिवर्तन कति छिटो हुन्छ भन्ने हो । फेरे भन्छिन्, ‘अपोलो अभियानका अन्तरिक्षयात्रीहरू चन्द्रमामा हिँड्दा सन्तुलन मिलाउन कति संघर्ष गरिरहेका थिए भन्ने स्पष्ट देखिन्छ । यो केवल भारी अन्तरिक्ष पोशाकले गर्दा मात्र होइन, गुरुत्वाकर्षण नहुँदा उनीहरूको सन्तुलन प्रणाली नै बदलिएको थियो । मस्तिष्कले अनुकूलन त गर्छ, तर यसका लागि समय र ऊर्जा दुवै लाग्छ ।’
यो समस्या आईएसएसमा त्यति धेरै देखिँदैन किनभने त्यहाँ पुगेपछि केही समयमै उनीहरू अभ्यस्त हुन्छन् र पृथ्वी फर्केपछि विशेष हेरचाह पाउँछन् । तर, मंगल ग्रह जस्ता लामो अभियानमा अन्तरिक्षयात्रीले बारम्बार गुरुत्वाकर्षण परिवर्तनको सामना गर्नुपर्ने हुन्छ । मंगल ग्रह पुग्दा उनीहरूको मस्तिष्क शून्य गुरुत्वाकर्षणमा यति बानी परिसकेको हुन्छ कि त्यहाँ ओर्लिएर हिँड्न र तत्काल सही निर्णय लिन गाह्रो हुन सक्छ ।
‘तपाईंसँग उत्कृष्ट रकेट हुन सक्छ,’ फेरे भन्छिन्, ‘तर यदि यी संवेदनात्मक परिवर्तनका कारण सही निर्णय लिन सक्नुभएन भने ठूलो समस्या आउन सक्छ । त्यसैले मानिसलाई आवश्यक सहयोग उपलब्ध गराउनु र अनुकूलनलाई सहज बनाउनु अत्यन्त आवश्यक छ ।’
यसको एउटा समाधान भनेको कृत्रिम गुरुत्वाकर्षण सिर्जना गर्ने अन्तरिक्षयान बनाउनु हो । सर्जन अल्सिबियाडे भन्छन्, ‘त्यो सबैभन्दा राम्रो समाधान हुनेछ । यसले हड्डी र मांसपेशीको क्षय कम गर्छ । तर, अन्तरिक्षमा तौलको अर्थ पैसा हो, त्यसैले यो निकै महँगो हुन्छ ।’
हाल फेरे मस्तिष्कको लचकता बढाउन सानो विद्युतीय प्रवाह पठाउने नयाँ प्रविधिको विकासमा लागेकी छन् । उनी वैज्ञानिकहरूले यसको समाधान खोज्ने कुरामा विश्वस्त छिन् । उनी भन्छिन्, ‘अन्तरिक्ष यात्रा चुनौतीपूर्ण छ, तर यसले हाम्रो मस्तिष्कलाई यस्तो तरिकाले बुझ्ने अवसर दिन्छ, जुन अवसर हामीले पृथ्वीमा बसेर प्राप्त गर्न सक्दैनौं ।’ बीबीसी