नेभिगेशन
विश्व

क्युबालीको सहारा बन्दै विद्युतीय ट्राइसाइकल

हाभाना (एपी) । क्युबाको पहिचान मानिने पुराना क्लासिक कारहरू अहिले सडकबाट लगभग गायब भइसकेका छन् । तिनको ठाउँमा चीनमा निर्मित साना विद्युतीय ट्राइसाइकलहरूले लिएका छन्, जसले लामो समयदेखि जारी इन्धन संकटसँग जुधिरहेका लाखौं क्युबालीहरूको मुख्य यातायात साधनको रूप लिएको छ । यी साधारण विद्युतीय ट्राइसाइकल भने होइनन् । धेरै क्युबालीहरूले आफ्ना ट्राइसाइकलमा सौर्य प्यानल जडान गरेका छन्, जसका कारण देशको कमजोर र बारम्बार अवरुद्ध हुने विद्युत् आपूर्ति प्रणालीमा निर्भर नभई सौर्य ऊर्जाबाटै ब्याट्री चार्ज गर्न सकिन्छ ।
एक वर्षअघिसम्म कालो धुवाँ उडाउँदै सडकमा गुड्ने पुराना गाडीहरूको ठाउँ अहिले यी तीनपांग्रे सवारीले लिएका छन् । ४० वर्षीय लिएसेर दे ला क्रुज भन्छन्, ‘अहिले मानिसहरू यही साधन प्रयोग गरेर आवतजावत गर्छन् ।’ दुई हजारदेखि चार हजार अमेरिकी डलरसम्म पर्ने यी ट्राइसाइकल सामान ढुवानी गर्न तथा पहिले बसले सञ्चालन गर्ने निश्चित मार्गमा यात्रु ओसार्न प्रयोग भइरहेका छन् । यद्यपि यसको मूल्य अधिकांश क्युबालीहरूको पहुँचभन्दा बाहिर छ । त्यसैले कतिपयले आफ्ना पेट्रोलबाट चल्ने पुराना गाडी बेचेर ट्राइसाइकल किनेका छन् । केहीले विदेशमा रहेका आफन्तमार्फत ल्याएका छन्, जहाँ यस्ता सवारी तुलनात्मक रूपमा सस्ता छन् । साना व्यवसायीहरूले पनि भविष्यमा लागत उठ्ने विश्वासका साथ आफ्नो नाफा लगानी गरेर यस्ता ट्राइसाइकल किनेका छन् ।
यस वर्ष जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने देशहरूमाथि भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका थिए । क्युबाले आफ्ना आवश्यक इन्धनको करिब ४० प्रतिशत मात्र उत्पादन गर्न सक्छ । त्यसयता मार्चको अन्त्यमा एउटा मात्र तेल ट्यांकर क्युबा पुगेको छ जबकि यसअघि प्रत्येक महिना औसत आठवटा ट्यांकर आउने गर्थे । यसको प्रत्यक्ष असर क्युबालीहरूको दैनिक जीवनमा परेको छ ।
देशभर लोडसेडिङ बढेको छ । यसले पाँच वर्षदेखि आर्थिक संकट झेलिरहेको क्युबाको जनजीवनलाई थप कठिन बनाएको छ । खाद्यान्न र औषधिको अभाव चर्किएको छ भने सार्वजनिक यातायात सेवा उल्लेखनीय रूपमा घटेको छ । यही संकटका बीच विद्युतीय ट्राइसाइकलहरू अत्यावश्यक साधन बनेका छन् । तिनले सामान ढुवानी गर्छन्, बसले छाडेका मार्गमा यात्रु बोक्छन् र राजधानी हवानाका केही क्षेत्रमा फोहोर संकलन गर्न समेत प्रयोग गरिन्छ ।
भारी किनमेलका झोला बोकेका मानिसहरूले यिनै ट्राइसाइकलमा यात्रा गर्छन् । यात्रा ढिलो, गर्मी र केही असहज भए पनि हिँडेर जानुभन्दा धेरै सहज हुन्छ । मध्य हवानाको एउटा पसलमा साताको चार दिन काम गर्ने ५२ वर्षीया कर्मचारी बेर्ता फेरर भन्छिन्, “यदि भाडा तिर्न सकिन्छ भने यही चढिन्छ, नत्र कतै जानै सकिँदैन ।” उनी एउटा यात्राका लागि करिब ५०० क्युबाली पेसो (एक अमेरिकी डलरभन्दा कम) तिर्छिन् । तर राज्य क्षेत्रका कर्मचारीको औसत मासिक तलब करिब १० डलर र निजी क्षेत्रका कामदारको औसत आम्दानी करिब ४० डलर मात्र रहेको देशमा यो पनि ठूलो खर्च हो ।
चीनका जोन्सेन र जिनपेङजस्ता कम्पनीका विद्युतीय ट्राइसाइकल अहिले क्युबाका सडकमा सर्वत्र देख्न सकिन्छ । धेरैजसो ट्राइसाइकल पनामा लगायतका देशबाट आफन्त वा आयातकर्तामार्फत ल्याइन्छ र पुनः बिक्री गरिन्छ । यी ट्राइसाइकल जेल वा लिथियम ब्याट्रीबाट चल्छन् । चीनसँगको सहकार्य अन्तर्गत भेड्का ब्रान्डका ट्राइसाइकल भने क्युबामै एसेम्बल गरिन्छ । धेरै मालिकहरूले ट्राइसाइकलको छानामाथि सौर्य प्यानल जडान गरेका छन् । यसले यात्रा गरिरहेकै बेला ब्याट्री चार्ज गर्न सकिन्छ र बारम्बार हुने विद्युत् कटौती तथा ऊर्जा संकटका बीच पनि सवारी सञ्चालन निरन्तर राख्न मद्दत पुग्छ ।
२९ वर्षीय इन्जिनियर तथा विद्युतीय सवारी मर्मत कार्यशाला सञ्चालक कार्लोस आल्भारेज भन्छन्, ‘हवानामा यति धेरै ट्राइसाइकल छन् कि कुनै पनि सडकमा १० मिनेट उभिँदा दर्जनौं ट्राइसाइकल गुडिरहेको देख्न सकिन्छ ।’ उनले त्यसबेला एउटा ट्राइसाइकलमा सौर्य प्यानल जडान गर्न स्टिलको आधार बनाइरहेका थिए । उनका अनुसार सौर्य प्यानल जडान गर्न करिब ५०० डलर खर्च लाग्छ, तर इन्धन अभाव र लोडसेडिङबाट जोगिन सकिने भएकाले त्यो लगानी छोटो समयमै उठ्छ ।

ट्राइसाइकलका मालिक तथा इन्जिनियर रिकार्डो क्विन्तेरो आफ्नो परिवारले सञ्चालन गर्ने तरकारी पसलसम्म कृषि उपज ढुवानी गर्न यही सवारी प्रयोग गर्छन् । उनले आफ्नो तीनपांग्रे सवारीतर्फ हेर्दै भने, ‘मलाई लाग्छ, यो अब क्युबाको जीवनशैलीको स्थायी हिस्सा बन्नेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्