न्यू योर्क, (सीएनएन) । अमेरिकाका प्रमुख हतियारहरूको मौज्दात अझै पनि उल्लेखनीय रूपमा घटेको अवस्थामा रहेको छ । यदि इरानविरुद्धको सैन्य आक्रमण हालकै गतिमा जारी रह्यो भने यी भण्डारमाथि थप ठूलो दबाब पर्नेछ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको युद्धविराम “समाप्त भइसकेको“ बताएका छन् ।
विशेषज्ञहरूका अनुसार यस्तो अवस्था रहिरहे अमेरिकाले भविष्यमा चीन वा उत्तर कोरियासँग सम्भावित युद्ध लड्ने सैन्य क्षमता प्रभावित हुन सक्छ ।
स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का रक्षा विश्लेषक तथा अमेरिकी मरीन कोप्र्सका अवकाशप्राप्त कर्णेल मार्क क्यान्सियनले भने, “यदि पछिल्ला पाँच दिनजस्तै दरमा युद्ध जारी रह्यो भने अमेरिकी हतियार भण्डार यति घट्न सक्छ कि इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ र अझ ठूलो सुरक्षा जोखिम सिर्जना हुनेछ ।”
’अपरेसन एपिक फ्युरी’ नाम दिइएको इरान युद्धको प्रारम्भिक चरणमा अमेरिकी सेनाले लामो दूरीका सटीक आक्रमण गर्न प्रयोग हुने तथा शत्रुको हवाई र मिसाइल आक्रमण रोक्न प्रयोग गरिने हजारौं अत्यावश्यक मिसाइल खर्च गरेको विश्लेषकहरू तथा यसअघिका सीएनएन रिपोर्टहरूले देखाएका छन् ।
ब्रुकिङ्स इन्स्टिच्युटका वैदेशिक नीति अनुसन्धान प्रमुख माइकल ओ’ह्यानलनले अमेरिकी हतियार भण्डार “हामीले चाहेजति स्तरमा नरहेकोमा कुनै शंका छैन“ भने ।
सीएसआईएसको विश्लेषणअनुसार, अप्रिलमा अमेरिका–इरानबीचको पूर्णस्तरीय लडाइँ रोकिँदासम्म अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आफ्नो थाड ब्यालिस्टिक मिसाइल अवरोधक प्रणालीको कम्तीमा आधा, प्याट्रियट हवाई रक्षा प्रणालीका करिब आधा अवरोधक मिसाइल तथा टमाहक भूमि–आक्रमण मिसाइलको करिब ३० प्रतिशत प्रयोग गरिसकेको थियो । सीएनएनले रक्षा मन्त्रालयको आन्तरिक मौज्दातसम्बन्धी जानकारीसँग परिचित तीन स्रोतमार्फत यो विश्लेषण सही भएको पुष्टि गरेको थियो ।
त्यसपछि भएका सीमित स्तरका प्रतिआक्रमणका कारण अमेरिकी मिसाइलको खपत घटेको र युद्धविरामले केही राहत दिएको थियो तर क्यान्सियनका अनुसार प्रमुख मिसाइलहरूको पुनःउत्पादन निकै सुस्त छ । चालु आर्थिक वर्षको वितरण तालिकाअनुसार पेन्टागनले प्रतिमहिना करिब १५ वटा नयाँ टमाहक र २० वटा नयाँ प्याट्रियट मिसाइल मात्र प्राप्त गरिरहेको छ । सन् २०२६ मा थाड प्रणालीका नयाँ मिसाइल उपलब्ध हुने कुनै योजना छैन । सीएसआईएसका अनुसार इरान युद्धअघिको स्तरमा यी भण्डार फर्काउन कम्तीमा तीन वर्ष वा त्योभन्दा बढी समय लाग्नेछ ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटकी वरिष्ठ अनुसन्धानकर्ता तथा पेन्टागनकी पूर्व कार्यवाहक नियन्त्रक इलेन म्याककस्करले अधिकांश हतियार पुनःभर्न “दुईदेखि पाँच वर्षसम्म“ लाग्ने बताइन् ।
उक्त संस्थासँग आबद्ध अमेरिकी सेनाका अवकाशप्राप्त दुईतारे जनरल जोन फेरारीले भने, “युद्ध सुरु भएयता एउटा मिसाइल प्रतिस्थापन गर्न पनि अमेरिकी कांग्रेसले अतिरिक्त बजेट विनियोजन गरेको छैन । अहिले पनि सामान्य शान्तिकालीन वार्षिक खरिद प्रक्रियामै निर्भर रहनुपरेको छ ।“
हालै ह्वाइट हाउसले इरान युद्ध र केही अन्य कार्यक्रमको खर्च बेहोर्न अतिरिक्त बजेट माग्दै कांग्रेससमक्ष प्रस्ताव पेश गरेको छ । तर त्यसलाई स्वीकृति दिलाउन कठिन हुने अनुमान गरिएको छ । पेन्टागनका एक अधिकारीले सीएनएनसँग कुरा गर्दै अमेरिकी रक्षा औद्योगिक आधारलाई तीव्र गतिमा विस्तार गर्न विभाग प्रतिबद्ध रहेको बताए । राष्ट्रपति ट्रम्पले जुन महिनामा ’डिफेन्स प्रोडक्सन एक्ट’ लागू गर्दै नियामकीय झन्झट हटाएर मिसाइल उत्पादन तीव्र बनाउन निर्देशन दिएका थिए । रक्षा मन्त्रालयले उत्पादन क्षमता विस्तार गर्न विभिन्न कम्पनीहरूसँग सम्झौतासमेत गरिसकेको छ ।
ती अधिकारीले भने, “अमेरिकी नवप्रवर्तन जहाँ भए पनि त्यसलाई रक्षा उत्पादनसँग जोड्दै ठूलो परिमाणमा उत्पादन गर्ने र आपूर्ति शृंखलालाई अझ मजबुत बनाउने दिशामा विभाग आक्रामक रूपमा अघि बढिरहेको छ ।” तर क्यान्सियनका अनुसार डिफेन्स प्रोडक्सन एक्टले केही सहयोग गरे पनि यसको प्रभाव सीमित हुनेछ, किनभने उत्पादन क्षमता विस्तार गर्न समय लाग्छ ।
जर्मनी र युक्रेनजस्ता देशलाई प्याट्रियट अवरोधक मिसाइल आफ्नै देशमा उत्पादन गर्न अनुमति दिने सम्झौताले पनि अमेरिकी उत्पादनमाथिको दबाब घटाउन सहयोग पुग्न सक्छ । ट्रम्पले टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनका क्रममा बिहीबार युक्रेनलाई यस्तो अनुमति दिएको घोषणा गरेका थिए । यद्यपि यस्ता परियोजना पनि छिटो सम्पन्न हुँदैनन् । जापानले आफ्नै प्याट्रियट उत्पादन कारखाना बनाउन तीन वर्ष लगाएको थियो भने जर्मनीले सन् २०२२ मै उत्पादन लाइन सुरु गरे पनि अहिलेसम्म एउटा पनि प्याट्रियट मिसाइल उत्पादन गर्न सकेको छैन ।
सीएसआईएसका अनुसार ‘प्रिसिजन स्ट्राइक मिसाइल’ र ‘जोइन्ट एयर–टु–सर्फेस स्ट्यान्डअफ मिसाइल’ जस्ता अन्य मिसाइलहरूको मौज्दात भने अपेक्षाकृत छिटो पुनःस्थापित हुने र सन् २०२७ को मध्यदेखि अन्त्यसम्म युद्धअघिकै स्तरमा पुग्ने सम्भावना छ ।
क्यान्सियनले चीनसँग सम्भावित युद्ध मात्रै होइन, उत्तर कोरियासँगको सम्भावित द्वन्द्व पनि ठूलो जोखिम रहेको बताए । विश्लेषकहरूका अनुसार उत्तर कोरियाविरुद्धको युद्ध योजनामा शत्रुका लक्ष्यमा आक्रमण गर्न र प्योङयाङबाट हुन सक्ने व्यापक मिसाइल आक्रमणबाट अमेरिकी सेना तथा दक्षिण कोरियाको राजधानी सियोलको रक्षा गर्न ठूलो संख्यामा अमेरिकी मिसाइल आवश्यक पर्नेछ ।
पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले भने, “अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली सेना हो । राष्ट्रपतिले जुन समय र स्थान रोज्नुहुन्छ, त्यहाँ आवश्यक कारबाही गर्न अमेरिकासँग पर्याप्त क्षमता र हतियार उपलब्ध छन् ।”
उनले थपे, “हामीले विभिन्न सैन्य कमान्डअन्तर्गत सफल अभियान सञ्चालन गरेका छौँ र अमेरिकी जनता तथा राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै सैन्य क्षमता सुरक्षित राखेका छौँ ।”
ब्रुकिङ्स इन्स्टिच्युटका ओ’ह्यानलनका अनुसार हालसम्म अमेरिकी सेनाको चीन वा उत्तर कोरियालाई रोक्ने क्षमता कमजोर भएको आफूलाई लाग्दैन तर उनले चेतावनी दिँदै भने, “कुनै न कुनै बिन्दुमा यस्तो प्रतिरोध क्षमता कमजोर पर्न सक्छ । त्यो बिन्दु कहिले आउँछ भन्ने मापन गर्न वा ठ्याक्कै भन्न सकिँदैन, किनभने त्यो धेरै हदसम्म सम्भावित प्रतिद्वन्द्वीको मनोविज्ञानमा निर्भर हुन्छ ।”
खामेनी हत्याको बदला लिइने सूचीमा ट्रम्प पनि
इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ ।
गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भने, “बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ । सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न सक्दैनन् ।”
तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो ।
यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन । पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको सङ्केत पनि छैन । उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा समावेश गरिएको छैन ।
‘इन्फोग्राफिक’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्ज लगायतका नेता समावेश छन् ।
युद्धका क्रममा इरानले युरोपेली मुलुकले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग पु–याएको आरोप लगाउँदै आएको छ ।
मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखा परेका छैनन् । उनका पिता मारिएको आक्रमणमा उनी पनि घाइते भएको बताइएको छ ।