मानिसको जीवनसँगै उसका सामाजिक चाहना पनि बदलिन्छन् । अनुसन्धानले देखाएको छ, उमेर बढ्दै जाँदा हामीले साथी रोज्ने, सम्बन्ध जोगाउने र सामाजिक घेरा बनाउने तरिका परिवर्तन हुन्छ । यही परिवर्तन बुझ्न सके जीवन अझ खुसी र अर्थपूर्ण बन्न सक्छ ।
कतिपय मानिस नयाँ–नयाँ साथी बनाउन रुचाउँछन् भने कतिपय केही घनिष्ठ साथीसँग मात्र समय बिताउन चाहन्छन् । सामान्यतया यसलाई बहिर्मुखी वा अन्तर्मुखी स्वभावसँग जोडिन्छ । तर, अनुसन्धानले उमेर पनि यसलाई निर्धारण गर्ने महŒवपूर्ण कारक भएको देखाएको छ ।
धेरै अध्ययनले मित्रताले सबै उमेरका मानिसलाई फाइदा पु¥याउने निष्कर्ष निकालेका छन् । राम्रो मित्रताले मानसिक र शारीरिक स्वास्थ्य सुधार्नुका साथै आयुसमेत बढाउन मद्दत गर्न सक्छ । विशेष गरी वृद्धावस्थामा साथीहरू खुसी र जीवन सन्तुष्टिको प्रमुख आधार बन्छन् । कतिपय अवस्थामा घनिष्ठ साथीसँगको नियमित भेटघाटले परिवारका सदस्यसँगको सम्बन्धभन्दा पनि बढी आनन्द दिन सक्छ ।
यसको एउटा कारण मित्रता अन्य सम्बन्धभन्दा सहज र कम तनावपूर्ण हुनु हो । ६५ वर्षभन्दा माथिका अमेरिकीहरूमाथि गरिएको एक अध्ययनमा परिवारसँगको भेटभन्दा साथीसँगको भेट बढी सुखद भएको पाइएको थियो । यसले वृद्धावस्थामा परिवार मात्र सबैभन्दा ठूलो सहारा हुने पुरानो धारणालाई चुनौती दिएको छ ।
युवाको तुलनामा वृद्धहरूले सामाजिक सम्बन्धलाई फरक ढंगले व्यवस्थापन गर्छन् । युवाहरू नयाँ सम्बन्ध विस्तार गर्न उत्साहित हुन्छन् भने वृद्धहरू आफूसँग भएका सम्बन्धलाई छनोट गर्दै सामाजिक घेरा सानो बनाउँछन् । न्यूयोर्कस्थित एडेल्फी विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक क्याथरिन फियोरीका अनुसार यसका आफ्नै फाइदा र चुनौती छन् ।
फियोरी भन्छिन्, ‘मानिसको उमेर बढ्दै जाँदा भविष्यलाई हेर्ने दृष्टिकोण बदलिन्छ । उनीहरूलाई आफ्नो बाँकी समय सीमित भएको महसुस हुन्छ । त्यसपछि उनीहरूको प्राथमिकता भावनात्मक रूपमा अर्थपूर्ण सम्बन्धतर्फ सर्छ ।’
यसलाई सामाजिक–भावनात्मक छनोटको सिद्धान्त भनिन्छ । युवाहरूले भविष्य लामो देख्ने भएकाले नयाँ सम्बन्ध बनाउन प्राथमिकता दिन्छन् । तर वृद्धहरू आफूलाई राम्ररी चिन्ने र भावनात्मक रूपमा नजिक भएका मानिससँग समय बिताउन चाहन्छन् । त्यसैले उनीहरूले कमजोर सम्बन्धलाई बिस्तारै छोड्दै घनिष्ठ सम्बन्धलाई बलियो बनाउँछन् ।
यसरी सामाजिक घेरा सानो हुँदा त्यसको भावनात्मक घनत्व बढ्ने अनुसन्धानले देखाएको छ । वृद्धहरू आफ्ना नजिकका मानिसप्रति अझ क्षमाशील र सकारात्मक बन्छन् । उनीहरू बाँकी समय अर्थपूर्ण र आनन्दका साथ बिताउन चाहन्छन् ।
यस्तो परिवर्तन वृद्धहरूमा मात्र सीमित छैन । सन् २०१६ को एक अध्ययनले जीवन सीमित भएको अनुभूति गराइएपछि युवाहरूले पनि धेरै सम्बन्ध विस्तार गर्नुभन्दा केही अर्थपूर्ण सम्बन्धलाई प्राथमिकता दिएको देखाएको थियो । कोभिड–१९ महामारीका बेला पनि सबै उमेर समूहका मानिसले भावनात्मक रूपमा महŒवपूर्ण सम्बन्धलाई बढी प्राथमिकता दिएका थिए ।
अनुसन्धानकर्ताहरूका अनुसार मानिसको सामाजिक व्यवहार वास्तविक उमेरभन्दा पनि आफूले भविष्यलाई कसरी हेर्छ भन्ने कुराले बढी निर्धारण गर्छ । अर्थात्, बाँकी समय सीमित छ भन्ने अनुभूतिले सम्बन्धप्रतिको दृष्टिकोण बदलिदिन्छ ।
तर यसको अर्थ नयाँ साथी बनाउन बन्द गर्नुपर्छ भन्ने होइन । फियोरी र उनका सहकर्मीहरूका अनुसार सामाजिक घेरा अत्यधिक सानो बनाउनु पनि राम्रो हुँदैन । मानिसलाई जीवनभर विभिन्न प्रकारका सम्बन्ध आवश्यक पर्छन्, किनकि प्रत्येक सम्बन्धले फरक–फरक आवश्यकता पूरा गर्छ ।
फियोरी भन्छिन्, ‘मित्रताले मानिसको जीवनभर नै कल्याणमा ठूलो योगदान पु¥याउँछ । हाम्रा सबै सम्बन्धले एउटै भूमिका निर्वाह गर्दैनन् । सबैभन्दा घनिष्ठ सम्बन्धले भावनात्मक र सामाजिक सहयोग दिन्छन्, तर अन्य प्रकारका सम्बन्धबाट पनि उत्तिकै महŒवपूर्ण लाभ प्राप्त हुन्छ ।’
मित्रताले परिवारभन्दा फरक किसिमको साथ दिन्छ । साझा रुचि, स्वतन्त्रता र रमाइला अनुभवले साथीसँगको सम्बन्धलाई विशेष बनाउँछ । बेलायतको न्युक्यासल विश्वविद्यालयकी मानसिक स्वास्थ्य अनुसन्धानकर्ता अलेक्जान्ड्रा थम्पसनका अनुसार परिवारका सम्बन्धमा कहिलेकाहीँ दायित्व र तनाव मिसिएको हुन्छ, तर मित्रता साझा रुचि र स्वेच्छामा आधारित भएकाले यसले सकारात्मक भावना बढाउँछ ।
सन् २०२१ मा ९९ देशका तीन लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनले वृद्धवृद्धा, महिला, कम शिक्षित तथा व्यक्तिवादी समाजमा बस्ने मानिसका लागि मित्रता स्वास्थ्य र खुसीसँग अझ गहिरो रूपमा जोडिएको देखाएको छ । अध्ययनका अनुसार बुढेसकालमा सामाजिक सम्बन्धलाई महŒव दिनु कठिन परिस्थितिसँग जुध्ने प्रभावकारी उपाय पनि हुन सक्छ ।
कतिपय साथी परिवारजत्तिकै नजिक हुन्छन् । फियोरीका अनुसार यस्ता सम्बन्धले रगत वा विवाहको नाताभन्दा बाहिर पनि परिवारको अनुभूति दिलाउन सक्छ । तर उनी भन्छिन्, परिवारजस्तै आत्मीय सम्बन्ध बनाउँदैमा अन्य चिनजान र सामान्य मित्रतालाई त्याग्न आवश्यक छैन । गुणस्तरीय सम्बन्ध नै सबैभन्दा महŒवपूर्ण हुन्छ ।
थम्पसनका अनुसार धेरै साथी हुनु भन्दा राम्रो साथी हुनु बढी महŒवपूर्ण हो । उनको अनुसन्धानले वृद्धावस्थामा करिब चार जना घनिष्ठ साथी हुनु मनोवैज्ञानिक रूपमा पर्याप्त हुन सक्ने देखाएको छ । उनी भन्छिन्, उद्देश्य नयाँ साथीको संख्या बढाउनु होइन, भएका सम्बन्धलाई अझ गहिरो र आत्मीय बनाउनु हो ।
अनुसन्धानले राम्रो मित्रताले मानसिक स्वास्थ्य मात्र होइन, स्मरणशक्ति, शारीरिक स्वास्थ्य र दीर्घायुमा समेत सकारात्मक प्रभाव पार्ने देखाएको छ । तीन लाखभन्दा बढी मानिसलाई साढे सात वर्षसम्म पछ्याइएको एक अध्ययनले बलियो सामाजिक सम्बन्ध भएका मानिसमा बाँच्ने सम्भावना कमजोर सामाजिक सम्बन्ध भएकाभन्दा करिब ५० प्रतिशत बढी रहेको निष्कर्ष निकालेको थियो ।
यद्यपि उमेर बढ्दै जाँदा नयाँ साथी बनाउन सजिलो हुँदैन । विद्यालय, विश्वविद्यालय र कार्यस्थलजस्ता सामाजिक अवसर समाप्त हुन्छन् । जीवनसाथी वा पुराना साथी गुमाउनु, शारीरिक कमजोरी, हिँडडुलमा कठिनाइ वा अन्तर्मुखी स्वभावले पनि नयाँ सम्बन्ध बनाउन बाधा पु¥याउन सक्छ । वृद्ध पुरुषमा सामाजिक एक्लोपन महिलाको तुलनामा बढी देखिने केही अध्ययनले देखाएका छन् ।
तर फियोरीका अनुसार सबैभन्दा ठूलो कुरा मानिसको आफ्नै सोच हो । उनी भन्छिन्, ‘यदि कसैले आफूलाई ‘मेरो स्वास्थ्य खस्किँदै गएको छ, अब मसँग कोही साथी बन्न चाहँदैन, मेरो जीवनमा केही बाँकी छैन’ भन्ने ठान्छ भने उसले नयाँ साथी बनाउन प्रयास नै गर्दैन । तर वृद्धावस्थालाई सकारात्मक रूपमा हेर्ने मानिस भने नयाँ सम्बन्ध बनाउन अघि सर्छ ।’
उनी थप्छिन्, ‘वृद्धावस्थाप्रतिको आफ्नै धारणा आफैं पूरा हुने भविष्यवाणी जस्तै बन्न सक्छ । यदि कसैले बुढेसकाल भनेकै एक्लोपन हो भन्ने विश्वास ग¥यो भने उसले सम्बन्धमा लगानी गर्न छाड्छ । तर अझै नयाँ योजना बनाउन र नयाँ गतिविधिमा सहभागी हुन सकिन्छ भन्ने विश्वास गर्ने मानिसले सम्बन्धमा बढी समय र ऊर्जा लगानी गर्छ, जसले अन्ततः उसको जीवनलाई अझ सुखी बनाउँछ ।’
फियोरीका अनुसार उमेरसँगै मानिसको सामाजिक सीप पनि परिपक्व बन्छ । त्यसैले धेरै वृद्धहरू युवाभन्दा विवाद टार्न र सम्बन्ध जोगाउन सक्षम हुन्छन् ।
अनुसन्धानले एक्लै बस्नु र एक्लोपन एउटै कुरा नभएको पनि देखाएको छ । सेवानिवृत्तिपछि खाली समय बढ्दा छिमेकीसँग घुलमिल हुने, स्वयंसेवामा सहभागी हुने वा सामुदायिक गतिविधिमा जोडिने अवसर पनि बढ्न सक्छ । शारीरिक व्यायामसँगै सामाजिक भेटघाट गराउने कार्यक्रमहरूले एक्लोपन घटाउन सहयोग गरेको पाइएको छ । त्यस्तै, प्रविधिको प्रयोगले पनि वृद्धहरूलाई परिवार, साथीभाइ र समाजसँग जोडिराख्न मद्दत गर्न सक्छ ।
समग्रमा अनुसन्धानको निष्कर्ष स्पष्ट छ—उमेर बढ्दै जाँदा धेरै साथी बनाउनेभन्दा विश्वासिलो र आत्मीय सम्बन्धलाई प्राथमिकता दिने प्रवृत्ति स्वाभाविक हो । तर त्यससँगै नयाँ सम्बन्धका लागि खुला रहनु पनि उत्तिकै आवश्यक छ । जीवनभर अर्थपूर्ण मित्रता कायम राख्न सके त्यसले मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यलाई बलियो बनाउने आधार तयार गर्छ ।