नेभिगेशन
मनोरञ्जन

भाषा, संस्कृति र मौलिक पहिचानमा 'मिस नेवा'

नेपाली समाजमा सौन्दर्य प्रतियोगितालाई लामो समयसम्म केवल ग्ल्यामर, आकर्षक पहिरन र मनोरञ्जनसँग जोडेर हेर्ने काम भयो । धेरैका लागि यस्ता प्रतियोगिता ताज, उपाधि र ¥याम्पसम्म सीमित थिए । तर, यही परम्परागत धारणालाई चुनौती दिँदै सौन्दर्य प्रतियोगितालाई भाषा, संस्कृति, परम्परा, व्यक्तित्व विकास, नेतृत्व क्षमता विकास र सामाजिक उत्तरदायित्वसँग जोड्ने अभियानको नेतृत्व गरिन् हेमा मानन्धरले । उनले सौन्दर्यलाई केवल बाहिरी आकर्षणको परिभाषाभित्र सीमित नराखी ज्ञान, आत्मविश्वास, संस्कार, पहिचान र सामाजिक चेतनासँग जोडेर नयाँ दृष्टिकोण स्थापित गरिन् । नेप्लिज फेसन होमकी संस्थापक तथा अध्यक्षका रूपमा मानन्धरले विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा नेपाली समाजमा सांस्कृतिक पहिचान संरक्षण, महिला सशक्तीकरण र युवा नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएकी छन् । उनको नेतृत्वमा आयोजना हुँदै आएको ‘मिस नेवा’ प्रतियोगिता आज केवल एउटा सौन्दर्य प्रतियोगिता मात्र होइन, नेवार समुदायको मौलिक भाषा, लिपि, संस्कृति, कला, परम्परा, इतिहास र जीवनशैलीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने सशक्त अभियानका रूपमा विकसित भएको छ । विश्वव्यापीकरण, तीव्र शहरीकरण र आधुनिक जीवनशैलीको प्रभावसँगै परम्परागत भाषा, संस्कार र सांस्कृतिक मूल्य मान्यताहरू क्रमशः कमजोर बन्दै गएको वर्तमान समयमा हेमा मानन्धरले ‘मिस नेवा’लाई सांस्कृतिक पुनर्जागरणको एउटा प्रभावकारी माध्यम बनाएकी छन् । उनी मिस नेवा प्रतियोगितामा सहभागी हुन आउने युवतीहरूलाई केवल ¥याम्पमा प्रस्तुत हुने सीप मात्र सिकाउँदिनन्, उनीहरूलाई नेपाल भाषा, नेवार संस्कार, जात्रा–पर्व, मौलिक वेशभूषा, परम्परागत आभूषण, इतिहास, सभ्यता तथा समुदायप्रतिको जिम्मेवारीबारे समेत गहिरो प्रशिक्षण दिन्छिन् । यही कारण ‘मिस नेवा’ प्रतियोगितामा सहभागी भएका धेरै प्रतिभाहरू आफ्नो समुदायका सांस्कृतिक दूतका रूपमा पहिचान बनाउन सफल छन् ।
हेमा मानन्धरको ‘नेप्लिस फेसन हाउस’ मार्फत  सयौँ युवतीहरूले आफ्नो प्रतिभा उजागर गर्ने अवसर पाएका छन् । ती युवतीहरू मध्ये धेरै जना आजको दिनमा शिक्षा, सामाजिक सेवा, सञ्चार, पर्यटन, उद्यमशीलता, कला, संस्कृति लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकाम छन् । यसको चर्चित उदाहरण काठमाडौं महानगरपाकिलाकी कार्यवाहक प्रमुख सुनिला डंगोल पनि हुन् । उनी सन् २०११ को मिस नेवा प्रतियोगिताकी विजेता हुन् । ‘मिस नेवा’ प्रतियोगिताको विजयी यात्राले उनको नेतृत्व क्षमता र सामाजिक सहभागितालाई थप सुदृढ बनाएको देख्न सकिन्छ । उनले लामो समयसम्म नेप्लिज फेसन होममा आबद्ध भई नेवारी सांस्कृतिक अभियान तथा व्यक्तित्व विकासका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । सुनिता डंगोल मात्र होइन, ‘मिस नेवा’का पूर्वप्रतियोगीहरू आज नेपाल राष्ट्र बैंक, नेपाल टेलिभिजन, विभिन्न वाणिज्य बैंक, विमान सेवा, सञ्चार संस्था, पर्यटन उद्योग, फेसन क्षेत्र, सामाजिक संस्थाहरू तथा निजी क्षेत्रका प्रतिष्ठित निकायमा जिम्मेवार भूमिकामा कार्यरत छन् । कतिपयले उद्यमशीलताको यात्रा रोजेका छन् भने कतिपय सामाजिक अभियन्ता, सञ्चारकर्मी, शिक्षाविद् र सांस्कृतिक प्रवद्र्धकका रूपमा स्थापित भएका छन् । हेमा मानन्धरको दृष्टिमा ‘मिस नेवा’ केवल वार्षिक प्रतियोगिता नभई पुस्तान्तरण हुँदै गएको संस्कृति संरक्षणको जीवित अभियान, महिला सशक्तीकरणको विद्यालय र नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने प्रेरणादायी मञ्चका रूपमा स्थापित भएको छ । आज हेमा मानन्धर केवल एक आयोजक वा फेसन उद्यमी मात्र होइनन्; उनी संस्कृति संरक्षण, महिला नेतृत्व विकास र मौलिक पहिचान प्रवद्र्धनका लागि निरन्तर क्रियाशील अभियन्ताका रूपमा चिनिन्छिन् । उनले थालेको यात्रा दुई दशक पार गरिसकेको भए पनि यसको प्रभाव र सान्दर्भिकता झन् व्यापक बन्दै गएको छ । यही निरन्तरता, समर्पण र दूरदृष्टिले उनलाई नेपाली समाजमा संस्कृति, पहिचान र सशक्त महिलाको यात्राकी एक विशिष्ट सारथीका रूपमा स्थापित गरेको छ । 
संस्कृतिप्रतिको चिन्ताले जन्माएको ‘मिस नेवा’ प्रतियोगिता 
हेमा मानन्धरका लागि ‘मिस नेवा’ कुनै व्यावसायिक परियोजना वा मनोरञ्जनमुखी सौन्दर्य प्रतियोगिताको अवधारणा थिएन । यसको जगमा थियो, आफ्नै संस्कृति हराउँदै गएको देख्दाको चिन्ता, मौलिक पहिचानप्रतिको माया र नयाँ पुस्तालाई आफ्नो यो पहिचान हस्तान्तरण गर्दै जाने दृढ संकल्प । ‘संस्कृति भनेको केवल विगतको सम्झना होइन, हाम्रो वर्तमानको पहिचान र भविष्यको आधार पनि हो । त्यसैले यसलाई बुवा पुस्तादेखि छोरा छोरी हुँदै नाती नातिनाको पुस्तासम्म निरन्तरण हस्तान्तरण गर्न सकिएन भने हाम्रो मौलिक अस्तित्व नै कमजोर बन्छ,’ उनी भन्छिन् । उनलाई आज पनि त्यो समयको स्पष्ट सम्झना छ, जब नेवारी परम्परागत पोसाकलाई स्टेजमा नृत्य गर्ने ड्रेसको रूपमा हेरिन्थ्यो । तर, औपचारिक कार्यक्रमहरूमा लगाइने नेवारी पोशाक नृत्य गर्दा लगाउने मात्र नभई नेवारी संस्कृति र पहिचानको बिम्ब हो भन्ने कुराको अवगत सबैमा गराउनु पर्ने आवश्यकता महसुश गरेर नै नेप्लिज फेसन होममार्फत ‘मिस नेवा’ प्रतियोगिताको अवधारणा जन्मिएको उनी बताउँछिन् । आफ्नै समुदायका युवा युवतीले पनि आधुनिकता अपनाउने नाममा परम्परागत पहिरन, भाषा र संस्कृतिबाट दूरी बढाउँदै लगेको देखेपछि केही दशकपछि नेवार समुदायको मौलिक संस्कृति पुस्तकका पानामा, संग्रहालयका प्रदर्शनीमा वा विशेष अवसरमा मात्रै देखाइने औपचारिक परम्परामा सीमित हुने महसुश गरेर उनले २ दशक अघिबाट हरेक वर्ष ‘मिस नेवा’ प्रतियोगिता आयोजना गर्दै आएकी छन् । कोभिड–१९ महामारीको समयमा बाहेक हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ । यो वर्षपनि आगामी भदौ ६ गते १९औं संस्करणको ‘मिस नेवा’ प्रतियोगिता हुँदैछ । उनले २ दशक अगाडि परिकल्पना गरेको ‘मिस नेवा’ प्रतियोगिताको यो मञ्च आजको दिनसम्म आइपुग्दा अझै फराकिलो र वृहत बन्दै गएको छ । यो मञ्चमा सहभागी हुने युवतीहरूले आफ्नो मातृभाषा बोल्न सिकून्, संस्कार र परम्पराको अर्थ बुझून्, इतिहाससँग परिचित बनून्, आफ्ना मौलिक पहिरनप्रति गर्व गर्न सकून् र विश्वसामु आत्मविश्वासका साथ आफ्नो पहिचान प्रस्तुत गर्न सकून् र यसलाई जीवन्त राखुन् भन्ने उनी चाहान्छिन् । आज नेप्लिस फेसन होममा ‘मिस नेवा’ मा सहभागी हुने युवतीहरूले केवल ¥याम्पमा हिँड्ने कला मात्र सिक्दैनन् । उनीहरूले नेपाल भाषा, नेवार सभ्यता, परम्परागत आभूषणको महत्त्व, जात्रा–पर्वको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक शिष्टाचार, सार्वजनिक अभिव्यक्ति कसरी दिने, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व कसरी निर्वाह गर्ने भन्नेबारेमा समेत प्रशिक्षण प्राप्त गर्छन् । यही कारण प्रतियोगिताबाट निस्किएका धेरै प्रतिभाहरू आफ्नो समुदायका सांस्कृतिक प्रतिनिधि र प्रेरणादायी युवा नेतृत्वका रूपमा समाजमा स्थापित छन् । 
नेप्लिज फेसन होमले सञ्चालन गर्ने ‘मिस नेवा’ प्रतियोगितामा सहभागी हुन नेवार समुदायकी १६ देखि २२ वर्ष उमेर समूहका युवतीहरू योग्य मानिन्छन् । प्रतियोगितामा छनोटमा पर्नका लागि तोकिएको उमेर समूह भित्र पर्ने नेवार युवती भएर मात्रै हुँदैन । प्रतियोगिताको मूल मापदण्ड नेवारी भाषा, संस्कृति, परम्परा र समुदायप्रतिको सम्मान, सिक्ने इच्छा, आत्मविश्वास तथा नेतृत्व क्षमता पनि हुन आवश्यक हुन्छ । यही विशेषताले पनि ‘मिस नेवा’लाई आज अन्य सौन्दर्य प्रतियोगिताभन्दा फरक बनाएको छ । प्रतियोगिताले हरेक वर्ष नयाँ विजेता घोषणा गरे पनि यसको वास्तविक उपलब्धि त समाजलाई सयौँ आत्मविश्वासी, सक्षम, संस्कृतिप्रति प्रतिबद्ध र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्व प्रदान गर्नु हो ।
‘मिस नेवा’ प्रतियोगिताको तयारी आफैंमा एउटा व्यवस्थित प्रशिक्षण हो । प्रतियोगिता अगाडि सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, सञ्चार सीप, स्टेज प्रस्तुति, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, शिष्टाचार, ड्रेसिङ सेन्स, समय व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्राप्त गर्छन् । तर ‘मिस नेवा’को सबैभन्दा महत्वपूर्ण पक्ष यसको सांस्कृतिक पाठ्यक्रम हो । प्रतियोगिताका सहभागीहरूलाई नेपाल भाषा (नेवारी), रञ्जना लिपि, नेवार समुदायको इतिहास, परम्परागत संस्कार, जीवनचक्रसँग सम्बन्धित धार्मिक तथा सामाजिक विधि, जात्रा–पर्व, मौलिक खानपान, परम्परागत गहना र पहिरनको सांस्कृतिक महत्त्व समुदायभित्र रहेका विभिन्न जातीय उपसमूहहरूको योगदानबारे विस्तृत जानकारी दिइन्छ । विशेष रूपमा अन्तिम प्रतिस्पर्धामा सोधिने प्रश्नको उत्तर नेपाल भाषामै दिनुपर्ने व्यवस्था प्रतियोगिताको अर्को विशिष्ट पक्ष हो । यसले सहभागीहरूलाई आफ्नो मातृभाषा सिक्न र प्रयोग गर्न प्रेरित गरेको छ । भाषा संरक्षणका लागि यो अभ्यास प्रभावकारी माध्यम बनेको छ । 
संस्कृति जोगाउनु नै इतिहास जोगाउनु हो
हेमा मानन्धरको दृष्टिमा नेवारी भाषा, संस्कृति र पहिचान जोगाउनु भनेको इतिहासलाई जीवन्त राख्नु हो । उनका लागि संस्कृति संरक्षण कुनै समुदायको परम्परा बचाउने सीमित प्रयास मात्र होइन, यो राष्ट्रको इतिहास, सभ्यता र मौलिक पहिचानलाई सुरक्षित राख्ने दीर्घकालीन अभियान हो । आफ्नो भाषा, लिपि, संस्कार र सांस्कृतिक सम्पदालाई जोगाउन नसक्ने समाजले अन्ततः आफ्नो ऐतिहासिक पहिचान पनि गुमाउने उनको ठहर छ । विशेष गरी नेपाल भाषा, रञ्जना लिपि, नेवार समुदायका मौलिक संस्कार, जात्रा–पर्व, परम्परागत बाजागाजा, वास्तुकला, हस्तकला, धातुकला, काष्ठकला, धार्मिक परम्परा तथा मौलिक खानपानले समय क्रमसँगै अन्तर्राष्ट्रिय पहिचान पाउँदै गएकोमा उनी खुशी व्यक्त गर्छिन् । नेवारी खाना, भाषा, संस्कृति, धार्मिक परम्परा लगायतले अन्तर्राष्ट्रिय मान्यता पाउनु नेवारी समुदायका लागि मात्र नभई देशकै लागि गर्व लाग्ने कुरा भएको उनी बताउँछिन् । उनी विश्वव्यापीकरणको प्रभावसँगै अन्तर्राष्ट्रिय समुदायमा नेवारी खानाको बढ्दो लोकप्रियतालाई उत्साहजनक मान्छिन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायतलगायत विभिन्न देशमा बसोबास गर्ने नेपाली तथा नेवार समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई जीवन्त राख्न उल्लेखनीय भूमिका खेलेको उनी बताउँछिन् । आज धेरै अन्तर्राष्ट्रिय स्तरका होटल तथा रेस्टुरेन्टहरूले समेत नेवारी परिकारलाई आफ्नो मेनुमा समावेश गर्न थालेकोमा यो केवल खानाको लोकप्रियता मात्र नभई नेपाली मौलिक संस्कृतिले अन्तर्राष्ट्रिय समुदायमा स्वीकार्यता प्राप्त गरिरहेको सकारात्मक संकेत भएको उनलाई लाग्छ । 
एक्लै सुरु गरेको यात्रामा सबैको साथ
आज ‘मिस नेवा’ नेपालको सबैभन्दा प्रतिष्ठित सांस्कृतिक सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित भए पनि यसको सुरुआत भने निकै कठिन परिस्थितिबाट भएको थियो । हेमा मानन्धरले यो यात्रा कुनै ठूलो आर्थिक लगानी, संस्थागत संरचना वा बलियो प्रायोजनको आधारमा सुरु गरेकी थिइनन् । आफ्नो नेवारी संस्कृतिप्रतिको गहिरो प्रेम, आफ्नो उद्देश्यप्रतिको अटल विश्वास र निरन्तर अघि बढ्ने साहसबाट सुरु भएको यो यात्रामा आर्थिकरूपमा सहायता गर्ने कोही थिएन । सुरुवातका केही संस्करणमा आर्थिक संकटकाबीच पनि उनले ‘मिस नेवा’ प्रतियोगिता एक्लो प्रयासमा सम्पन्न गरिन् ।  समय क्रमसँगै यो प्रतियोगिताको पहिचान स्थापित हुँदै जाँदा स्पोनरहरूपनि जोडिँदै गए र यात्रा सहज बन्दै गयो । सुरुवाती यात्रामा उनले अनेकौँ चुनौतीको सामना गर्नुपरेपनि विस्तारै आवश्यक स्रोत जुटाउने, उपयुक्त प्रायोजक खोज्ने, प्रतियोगिताप्रति विश्वास दिलाउने, सहभागी युवती तथा उनीहरूका परिवारलाई यसको उद्देश्य बुझाउने जस्ता कार्यले नै हेमा मानन्धरको आजसम्मको यात्रालाई सहज बनाउँदै लगेको हो । र, आज दुई दशकको यात्रा पार भइसक्दा नेवार समुदायले उनले सुरु गरेको ‘मिस नेवा’ अभियान र हेमा मानन्धरको नेप्लिज फेसन होमलाई एउटा औपचारिक संस्था मात्र नभई साझा परिवारको स्वरूप स्वीकार गरेको छ । हेमा मानन्धरका लागि यही संस्थागत संस्कृति दुई दशक लामो यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।
युवा पुस्तालाई सन्देशः प्रविधिसँगै जीवनका मूल्य पनि आवश्यक
दुई दशकभन्दा बढी समयदेखि युवापुस्तासँग प्रत्यक्ष रूपमा काम गर्दै आएकी हेमा मानन्धर अहिलेको पुस्ताको क्षमता, सिर्जनशीलता र आत्मविश्वासप्रति आशावादी छिन् । तर, त्यससँगै उनी आधुनिक जीवनशैलीले ल्याएका केही चुनौतीप्रति गम्भीर चिन्ता पनि व्यक्त गर्छिन् । विशेषगरी बढ्दो डिजिटल निर्भरता, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, परिवारभित्र घट्दो संवाद र त्यसका कारण युवामा देखिन थालेका मानसिक तनावका समस्या उनका लागि चिन्ताको विषय हुन् । उनी भन्छिन्, ‘प्रविधि आजको आवश्यकता हो,तर त्यसको असन्तुलित प्रयोगले मानिसलाई आफ्नै परिवार, समाज र संस्कृतिबाट टाढा लैजान सक्छ ।’ सामाजिक सञ्जालमा बित्ने अत्यधिक समयले वास्तविक सम्बन्ध कमजोर बनाइरहेको र युवाहरूको भावनात्मक संसारलाई समेत प्रभावित गरिरहेकाले प्रविधिलाई उपयोगी साधनका रूपमा मात्र प्रयोग गर्नुपर्नेमा उनी जोड दिन्छिन् । 
‘आत्मविश्वासी बन, सिर्जनशील बन र उत्पादनमुखी सोच विकसित गर । युवा पुस्ताले आफ्नो प्रतिभा पहिचान गर्न, निरन्तर सिक्न, मेहनत गर्न र समाजलाई केही नयाँ दिन सक्ने क्षमता विकास गर्नुपर्छ,’ उनी भन्छिन् । उनी युवाहरूलाई आफ्नो मौलिक पहिचानप्रति गर्व गर्न पनि आग्रह गर्छिन् । आधुनिक बन्नु भनेको आफ्ना जरा बिर्सनु होइन, बरु आफ्नो भाषा, संस्कृति, परम्परा र इतिहासलाई आत्मसात् गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु हो भन्ने उनको धारणा छ । यही सन्तुलित सोचले नयाँ पुस्तालाई विश्वव्यापी अवसरसँग जोड्नुका साथै आफ्नो सांस्कृतिक पहिचान पनि सुरक्षित राख्न सक्ने उनी विश्वास व्यक्त गर्छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्