नेपाली सिनेमा उद्योग शुरुदेखि नै भारतीय सिनेमाबाट एकदमै धेरै प्रभावित थियो । हामी सिनेमामा आउनुभन्दा अगाडि एउटा समय त यस्तो पनि थियो रे, भारतीय सिनेमालाई हुबहु ट्रान्सक्राइब गरेर नेपाली भाषामा सिनेमा बनाउने प्रचलनको जगजगी थियो । त्यो बेला सिनेमा लेखनमा सक्रिय हुने साहित्यकारहरुले अहिले पनि भन्नुहुन्छ । त्यस्तो बेलामा पनि कताकति मौलिक सिनेमा बनाउने कोसिस नभएको भने होइन तर त्यो प्रयास पर्याप्त थिएन । जब नवीन सुब्बाको नुमाफुङ, निश्चल बस्नेतको लुट लगायतका सिनेमा रिलिज भए, यिनले सिनेमा निर्माणका कतिपय पुराना मान्यताहरुलाई भत्काइदिए । चलचित्रमा गरिने अभिनयको शैली, संवाद शैली, सिनेमामा सांस्कृतिक पक्षको प्रयोग, सेटिङको शैली र अलिकति कथा भन्ने शैलीलाई नै परिवर्तन गरिदिए । म त्यस्तो भाग्यमानी मध्येको एक अभिनेता हुँ जसले कपीपेष्ट सिनेमा खेल्नु परेन । पुरानो शैलीका कपीपेष्ट सिनेमा मैले दर्शकको रुपमा हेरें । तर सिनेमा खेल्ने बेलामा समय परिवर्तन भइसकेको थियो । त्यसैले अलिकति मौलिक कथाहरुमा बनेका, आफ्नै ठाउँका, हाम्रै कथाहरुमा सिनेमा खेल्ने अवसर पाएको छु ।
मेरो फिल्म करियरको दोस्रो फिल्म टलकजंग भर्सेस टुल्के नै हामी केही साथीहरु मिलेर निर्माण गरेको सिनेमा हो । त्यसैले म कलाकारको रुपमा स्थापित नुहुँदैदेखि फिल्म निर्माणमा संलग्न भएँ । मनपर्ने कामलाई दुःखी काम सम्झेको भए धेरै पहिलै फिल्म निर्माण छोडिन्थ्यो होला। मेरो जीवनमा फिल्म निर्माण जीवनको अभिन्न अंग बनिसकेको छ । दुःख केलाई मान्ने अथवा नमान्ने व्यक्तिमा भर पर्छ । त्यसैले मेरो नजरमा फिल्म निर्माणमा कुनै दुःख छैनन् । नियमित फिल्म निर्माण गर्ने निर्माताले आफू कसरी सुरक्षित भएर सिनेमा निर्माण गर्ने भन्ने कुरा भने सोच्नैपर्छ । अरु क्षेत्रमा जस्तै समयले फिल्म क्षेत्रमा पनि नयाँ नयाँ समस्याहरु लिएर आउँछ । ती समस्याहरुलाई चिर्दै अगाडि बढ्ने हो । पछिल्लो समयमा फिल्म रिलिजको क्रममा शुरुमा निर्माताले टिकट किन्ने प्रचलन बढ्दै गइरहेको छ । तत्काललाई यो फाइदा देखिए पनि दीर्घकालमा यसले सिनेमा उद्योगलाई नराम्रो असर गर्छ । यो कुरा हामी निर्माताले बुझ्न जरुरी छ तर हामीले बुझ्न खोजिरहेका छैनौँ ।
सरकारी कागजमा उल्लेख भएअनुसार नेपाली फिल्म क्षेत्र होइन, नेपाली फिल्म उद्योग नै हो । तर हामी सिनेमाकर्मीकै उदासीनता र राजनीतिक व्यक्तित्वहरुको सिनेमालाई हेर्ने दृष्टिकोणको कारणले नेपाली फिल्म क्षेत्र उद्योगको रुपमा स्थापित हुन सकेको छैन । उद्योग हेर्ने मन्त्रालयले नेपाली फिल्म क्षेत्रलाई उद्योगको कागजी मान्यता दिएको छ । यता तालुकदार मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरेर उद्योगको मान्यता पाइसकेको क्षेत्रलाई राज्यबाट के कस्ता सुविधा उपलव्ध गराउनु पर्ने हो, त्यो कुरामा एकदमै उदासीन देखिएको छ । उद्योगमा उत्पादनलाई प्रमुख मानिन्छ तर यहाँ त सबैभन्दा हेपिएको र चेपिएको नै फिल्म निर्माण क्षेत्र छ । पछिल्लो समयमा केही आशालाग्दा कामहरुको शुरुवात भएको छ । फिल्म निर्माता, प्रर्दशक, निर्देशकहरु सबै लागेर केही न केही टुङ्गोमा पु–याउनु पर्छ भनेर लागेका छौँ ।
पछिल्लो समय हाम्रो एउटा समूह मनोज पण्डित, निश्चल बस्नेत, शैलेन्द्र डि. कार्कीजी भएर मन्त्रीज्यूलाई भेट्न पुगेका थियौँ । नेपाली दर्शकहरु विभिन्न देशमा छरिएर रहनु भएको छ । नेपालीहरु बसोबास गरिरहेका देशसँग नेपालले नयाँ वाणिज्य सन्धि गर्दा वा पुरानो सन्धिलाई पुनरावलोकन गर्दा नेपाली सिनेमालाई पनि नेपालबाट निर्यात हुने वस्तु मानेर निर्यातजन्य वस्तुको सुचीमा समावेश गरियोस् भन्नलाई हामीले मन्त्रीज्यूलाई भेटेका थियौँ । र, भारतीय सिनेमा नेपालमा जसरी सहज रुपमा सेन्सर भएर रिलिज हुन्छन्, त्यस्तै सुविधा भारतमा पनि नेपाली सिनेमालाई होस् भन्ने हाम्रो मागलाई मन्त्रालयले नै समन्वय गरेर अगाडि बढाउँछ भन्ने हामीले आशा लिएका छौँ ।
यही आशाले पनि पाइपलाइनमा प्रशस्तै फिल्महरू राखेका छौँ । अब तिनलाई धमाधम निर्माण गर्नुछ । किनभने हाम्रो पहिचान भन्नु नै भाषा र संस्कृति हो । यसैमा आधारित रहेर हामीले काम गरिरहेका छौँ । खासमा हाम्रो भाषा र संस्कृति अरूले बनाइदिँदैन । आफैँले बनाउनु पर्छ । अरुले भविष्य बनाइदिऊन भनेर आग्रह राख्ने मान्छेको लागि केही चिजमा पनि भविष्य हुँदैन । आफैँले भविष्य बनाउँछु भनेर लाग्ने मान्छेलाई जे कुरामा पनि भविष्य हुन्छ । फ्रि मार्केटमा मेरै मात्र देखाऊ, बजाऊ भन्न मिल्दैन । नेपाली फिल्मप्रति नेपाली दर्शक, मेकर, राज्यका विभिन्न निकाय संवेदनशील हुनुपर्छ । नेपाली फिल्मको मार्केट बिगार्न कसैले सक्दैन ।
धेरैले मलाई प्रतिवर्ष फिल्म निर्माणको संख्या बढ्ने र व्यापार गर्ने फिल्मको संख्या घट्नेलाई कसरी हेर्नुहुन्छ भनेर सोध्नुहुन्छ । सुन्तलाको बोटमा सधैँ एकनासले सुन्तला फल्दैनन् । यो स्वभाविक प्रक्रिया हो । फिल्ममा पनि त्यस्तै हुन्छ भन्ने मलाई लाग्छ ।
नेपाली सिनेमा क्षेत्र औपचारिक क्षेत्र बनिसकेको अवस्था छैन । यसलाई अझै व्यवस्थित गरेर योगदानमा आधारित पेन्सन व्यवस्थामा लैजान सके राम्रो हुन्थ्यो । पहिला हामी आफैँ यो कुरामा जागरुक हुनुपर्छ । त्यसपछि मात्र सरकारसँग समन्वय गर्न सकिन्छ । अर्को कुरा, फिल्म क्षेत्रलाई उद्योगको मान्यता दिइएको छ त्यसैले तत् तत् अनुसार फिल्म उद्योगलाई पनि राज्यबाट उद्योगले पाउने सुविधा दिइयोस् । र, अन्त्यमा यो क्षेत्रलाई राज्यबाट बुझ्ने कोसिस भएको छैन । यसको महत्त्व, राज्यलाई यो क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने कुरामा पनि सरकार अलि संवेदनशील बन्नु प–यो । सिनेमा क्षेत्र फगत हाँस्य रसले भरिएको मान्छेलाई हँसाउने चिज मात्र भन्ने बुझाइबाट माथि उठ्नु प–यो । यसले हाम्रो भाषा, संस्कृति, हाम्रा मान्यताहरु, हाम्रो पर्यटनलाई कसरी विश्वसामू प्रर्वदन गर्न सक्छ भन्ने कुरा राज्यले राम्रोसँग बुझ्नु प–यो ।
एउटा निर्माता निर्देशकको आफ्नै बलबुतामा नेपाली फिल्मले पछिल्लो समयमा जुन खालको सफलता पाएका छन् त्यो अद्भूत छ । तर एउटा तीतो कुरा के भने, नेपाली नागरिकले नेपाली फिल्म बनाउन अन्य देशहरुबाट फण्ड लिनुपर्ने जुन बाध्यता र विवशता छ त्यो राष्ट्रिय लज्जाको विषय हो । यस्तो किन भइरहेको छ भने, राज्यका निकायहरु र तिनका नेतृत्वहरुले सिनेमाको शक्ति नबुझेकै कारणले यस्तो भएको छ । अब कुरा गरौँ, घरेलु बक्स अफिस ठूलो कुरा कि अन्तर्राष्ट्रिय पुरस्कारको । समग्र सिनेमा उद्योगको विकास र विस्तारका लागि यी दुवै कुरा एकदमै जरुरी छन् । हामीले हाम्रो सिनेमाको घरेलु बक्स अफिस पनि बढाउनु छ र अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमालाई विस्तार गरी स्थापित पनि गर्नु छ ।