नेभिगेशन
अर्थतन्त्र

धानमा एजोला प्रयोगदेखि पशुपालनसम्मका व्यावहारिक उपाय अपनाउन आग्रह

काठमाडौं । मनसुनको सक्रिय अवधि चलिरहेका बेला कृषि विशेषज्ञ तथा नेपाल कृषि अनुसन्धान परिषद्ले किसानलाई खाद्यान्न, फलफूल, तरकारी र पशुपालन क्षेत्रमा अपनाउनुपर्ने व्यावहारिक उपायहरूबारे सल्लाह दिएका छन् । विशेषज्ञहरूका अनुसार यस समयमा पानी व्यवस्थापन, मलखादको सही प्रयोग, रोगकीरा नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिएमा उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ ।
विशेषज्ञहरूले धानबालीमा हरियो मलका रूपमा एजोला प्रयोग गर्न सिफारिस गरेका छन् । एजोला २० केजी प्रतिकठ्ठा वा ३० केजी प्रतिरोपनीका दरले प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । एजोला वृद्धिका लागि कम्तीमा १० दिनसम्म धानखेतमा पानीको गहिराइ ५ देखि १० सेन्टिमिटर कायम राख्नुपर्छ र खेतबाट पानी तथा एजोला बगेर जान नदिनुपर्ने सल्लाह दिइएको छ ।
असार महिनामा लगाइएको र खेतमा राम्रोसँग ढाकेको एजोला धानको पहिलो गोडाइमा माटोमा राम्ररी मिलाउनुपर्ने वा गाडिदिनुपर्ने बताइएको छ । २१ देखि २५ दिन पुगेका धानका बेर्ना प्रतिरोपो २ देखि ३ वटाको दरले रोप्नुपर्छ । हारदेखि हार २० सेन्टिमिटर र रोपोदेखि रोपो १५ सेन्टिमिटर दूरी कायम गर्नुपर्नेछ । वर्णशंकर धानका हकमा भने एक वटा बेर्नाको दरले हारदेखि हार २० सेन्टिमिटर र रोपोदेखि रोपो २० सेन्टिमिटर दूरीमा रोप्न सुझाव दिइएको छ ।
धानको टपड्रेसका लागि नेपाल कृषि अनुसन्धान परिषद्बाट अध्यावधिक गरिएको सिफारिसअनुसार युरिया प्रयोग गर्नुपर्नेछ । विशेषज्ञहरूका अनुसार  विशेष युरियाको विकल्पका रूपमा नानो झोल युरिया ४ मिलिलिटर प्रतिलिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी छर्न सकिन्छ । टपड्रेस गरेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुपर्ने विशेषज्ञहरूको भनाइ छ । मलखाद व्यवस्थापनमा पनि परिषद्को सिफारिस मात्राअनुसार नै प्रयोग गर्न आग्रह गरिएको छ ।
उनीहरूले भने, ‘झारपात नियन्त्रणका लागि बिस्पाइरिबेक  प्रयोग गर्न सकिन्छ ।’ एक रोपनीमा २५ लिटर पानीमा १२ मिलिलिटर वा एक कठ्ठामा १७ लिटर पानीमा ८ मिलिलिटरको दरले धान छरेको १५ देखि २५ दिनभित्र माटोमा छिपेछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजल प्रयोग गरी स्प्रे गर्नुपर्ने सल्लाह छ । लाइनमा लगाइएको धान गोडमेल गर्न कोनो वीडर प्रयोग गर्न सकिने सल्लाह विशेषज्ञहरूले दिएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार गबारो कीराका कारण गुबो मर्ने समस्या हुनसक्ने भएकाले नियमित अनुगमन आवश्यक छ । खेतमा ५ प्रतिशत मृत गुबो वा प्रतिमिटर कीराको फूलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क कीरा देखिएमा मात्र व्यवस्थापन विधि अपनाउनुपर्छ । वयस्क गबारो कीरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिने हुँदा पातको टुप्पोको तल्लो भागमा अण्डा पारेको अवलोकन गरी नष्ट गर्नुपर्ने बताइएको छ ।
धान रोपेको २ देखि ३ हप्तापछि निरन्तर पानी जमेको अवस्थामा फेद कुहिने रोग लाग्नसक्ने हुँदा नियमित अवलोकन गर्नुपर्छ । रोगी बोट उखेलेर नष्ट गर्नुपर्ने र प्रकोप बढी देखिएमा खेतको पानी निकास गरेर २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा मिसाई ८ देखि १० दिनको फरकमा २ देखि ३ पटक छर्न सकिन्छ ।
कोदोका हकमा २५ देखि ३० दिन पुगेका बेर्ना रोप्नुपर्छ । जग्गा तयारीका बेला ५०० केजी कम्पोष्ट, १.५ केजी युरिया, ३.३ केजी डीएपी र १.७ केजी म्युरेट अफ पोटास प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाउनुपर्ने सल्लाह दिइएको छ ।
फलफूल बालीः सरसफाइ र रोग नियन्त्रणमा जोड
मनसुनी वर्षाका कारण सबै फलफूलका बगैंचामा सरसफाइ, झारपात व्यवस्थापन र पानी निकासको उचित व्यवस्था गर्न विशेषज्ञहरूले आग्रह गरेका छन् । विषादी छर्दा मौसमको अवस्था हेरेर मात्र गर्नुपर्छ । कडा घाम, धेरै हावा वा पानी परिरहेको बेला छर्न हुँदैन । विषादीमा स्टिकर मिसाएर प्रयोग गर्नुपर्ने र विशेष सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार नर्सरीमा कलमी गरिएको भागभन्दा तलबाट आएका चोर हाँगाहरू काँटछाँट गर्नुपर्छ । लिचीमा बोटको फेदबाट एक मिटर टाढा घेरा बनाई ३० केजी कम्पोष्ट, २ केजी पिना, ३०० ग्राम डीएपी, ३०० ग्राम युरिया र २०० ग्राम म्युरेट अफ पोटास प्रतिबोट राख्न सकिन्छ ।
आरु, आरुवखडा र खुर्पानीमा पानी नपरेको दिन ईन–सिटु चिप बडिङ्ग गरी शून्य दशमलव ५ प्रतिशतको बोर्डो मिश्रण छर्नुपर्ने सल्लाह छ । आँपमा इनाचिङ्ग विधिबाट कलमी गर्ने उपयुक्त समय भएकाले कलमी गर्नुपर्छ र नर्सरीमा ८० देखि ९० प्रतिशत आद्र्रता कायम राख्नुपर्छ ।
सुन्तलाजात फलफूल तथा हलुवाबेदको जरा कुहिने समस्या व्यवस्थापनका लागि एक प्रतिशत बोर्डो मिश्रण वा कार्बेन्डाजिमयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा घोली १२ देखि १५ दिनको फरकमा २ देखि ३ पटक ड्रेन्चिङ गर्नुपर्छ । क्याङ्कर रोग नियन्त्रणका लागि रोगी हाँगा काँटछाँट गरी जलाउनुपर्ने र कपर अक्सिक्लोराइड ३ ग्राम प्रतिलिटर पानीका दरले स्प्रे गर्नुपर्ने बताइएको छ ।
तरकारीबालीः बेर्ना सुरक्षा र आलु व्यवस्थापन
तरकारीका बेर्ना जोगाउन खर, पराल वा प्लास्टिकको छानो राख्न विशेषज्ञहरूले सुझाव दिएका छन् । मध्यपहाडमा भदौमा लगाउने आलुका लागि खुमल सेतो–३, खुमल रातो–४ र कुफ्रिज्योती जस्ता स्वस्थ बीउको व्यवस्था गर्नुपर्छ । उच्च पहाडमा लगाएको आलुमा पानी निकासको व्यवस्था मिलाउनुपर्ने र परिपक्व भइसकेको आलु मौसम हेरी खन्नुपर्ने सल्लाह छ । खनेको आलु अँध्यारो, सुख्खा र १० देखि १५ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा भण्डारण गर्नुपर्छ ।
मुला तथा गाँजर लगाइएको स्थानमा पानी जमेमा कुहिने समस्या देखिनसक्ने हुँदा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरिएको छ ।
पशुपालन तथा मत्स्यपालनः जैविक सुरक्षामा जोड
वर्षातको समयमा गाईभैंसीमा भ्यागुते रोग र खोरेँत देखिनसक्ने भएकाले जैविक सुरक्षामा ध्यान दिनुपर्ने विशेषज्ञहरूको भनाइ छ । रोगी पशुलाई बथानबाट अलग राख्नुपर्छ । बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको जोखिम बढ्दै गएकाले खोरको सरसफाइ र निसंक्रमणमा विशेष ध्यान दिनुपर्ने सल्लाह दिइएको छ ।
माछा पोखरीमा धमिलो पानी (भेल) पस्न नदिनुपर्छ । यसले आइमेरिया रोग लाग्नसक्छ । रोग देखापरेमा टोल्ट्राजुरिल १५ मिलिग्राम प्रतिकेजी माछाको तौलका दरले दानामा मिसाई सात दिनसम्म खुवाउन सकिन्छ । कुखुराको खोरमा ओस आउन नदिनुपर्ने र तापक्रम १८ देखि २५ डिग्री सेल्सियस कायम राख्नुपर्ने बताइएको छ ।
कृषि विशेषज्ञहरूले किसानलाई यी सल्लाहहरू पालना गरी मनसुन अवधिमा बाली र पशुपक्षीको स्वास्थ्य जोगाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्