काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३÷०८४ का लागि प्राकृतिक व्यक्तिको आयकरको नयाँ दर सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ अनुसार सार्वजनिक गरेको विवरणमा करयोग्य आयको तहअनुसार १ प्रतिशतदेखि २९ प्रतिशतसम्म आयकर लाग्ने व्यवस्था गरिएको छ ।
विभागको विवरणअनुसार एकल तथा दम्पती दुवैका लागि १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ । १० लाख रुपैयाँभन्दा बढी १५ लाख रुपैयाँसम्मको थप आयमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको थप आयमा २० प्रतिशत र २५ लाखदेखि ४० लाख रुपैयाँसम्मको थप आयमा २७ प्रतिशत कर लाग्नेछ ।
४० लाख रुपैयाँभन्दा माथिको करयोग्य आयमा भने २७ प्रतिशतको दरमा थप दुई प्रतिशत विन्दुको अतिरिक्त कर लाग्नेछ । यसरी ४० लाख रुपैयाँभन्दा माथिको आयमा २९ प्रतिशत करदर कायम हुनेछ ।
विभागले दिएको उदाहरणअनुसार ६० लाख रुपैयाँ करयोग्य आय हुने व्यक्तिले कुल १२ लाख ४५ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ । यसमा पहिलो चार तहमा लाग्ने करका अतिरिक्त ४० लाख रुपैयाँभन्दा माथिको आयमा २९ प्रतिशतका दरले लाग्ने अतिरिक्त करसमेत समावेश छ ।
पहिलो १० लाखमा १० हजार कर
नयाँ कर संरचनाको पहिलो तहमा १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ । अर्थात् यो तहको कर रकम १० हजार रुपैयाँ हुनेछ ।
१० लाख रुपैयाँभन्दा बढी १५ लाख रुपैयाँसम्मको थप पाँच लाख रुपैयाँ आयमा १० प्रतिशतका दरले ५० हजार रुपैयाँ कर लाग्नेछ । त्यसपछि १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको थप १० लाख रुपैयाँ आयमा २० प्रतिशतका दरले दुई लाख रुपैयाँ कर लाग्नेछ ।
२५ लाखदेखि ४० लाख रुपैयाँसम्मको थप १५ लाख रुपैयाँ आयमा २७ प्रतिशतका दरले चार लाख पाँच हजार रुपैयाँ कर लाग्नेछ ।
४० लाख रुपैयाँभन्दा माथिको आयमा २७ प्रतिशतको दरमा थप दुई प्रतिशत विन्दु जोडिएपछि २९ प्रतिशत कर लाग्ने व्यवस्था छ । ६० लाख रुपैयाँ करयोग्य आय हुने करदाताको हकमा ४० लाख रुपैयाँभन्दा माथिको २० लाख रुपैयाँ आयमा २९ प्रतिशतका दरले पाँच लाख ८० हजार रुपैयाँ कर लाग्ने र सबै तह जोड्दा कुल कर १२ लाख ४५ हजार रुपैयाँ पुग्ने विभागको विवरणमा उल्लेख छ ।
केही करदातालाई पहिलो १ प्रतिशतसमेत नलाग्ने
आयकरको सामान्य दरसँगै केही अवस्थाका करदाताका लागि छुटको व्यवस्था गरिएको छ ।
एकलौटी फर्म दर्ता भएका करदाताको निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा पहिलो तहको १ प्रतिशत कर नलाग्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी स्वीकृत अवकाश कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिले पाँच लाख रुपैयाँ वा आफ्नो निर्धारणयोग्य आयको एकतिहाइमध्ये जुन कम हुन्छ, सो रकम करयोग्य आयबाट घटाउन पाउनेछन् ।
यस व्यवस्थाअनुसार अवकाश कोषमा गरेको योगदानको सम्पूर्ण रकम असीमित रूपमा करयोग्य आयबाट घटाउन पाइने होइन । पाँच लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एकतिहाइमध्ये कम रकमसम्म मात्र यस्तो सुविधा उपलब्ध हुनेछ ।
दुर्गम क्षेत्रमा काम गर्नेलाई १० देखि ५० हजारसम्म छुट
दुर्गम क्षेत्रमा कार्यरत व्यक्तिले आफ्नो करयोग्य आयबाट निश्चित रकम घटाउन पाउने व्यवस्था गरिएको छ ।
‘क’ वर्गको क्षेत्रमा काम गर्ने व्यक्तिले ५० हजार रुपैयाँ, ‘ख’ वर्गमा ४० हजार, ‘ग’ वर्गमा ३० हजार, ‘घ’ वर्गमा २० हजार र ‘ङ’ वर्गमा १० हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउनेछन् ।
नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले प्राप्त गर्ने वैदेशिक भत्ताको २५ प्रतिशत रकम पनि करयोग्य आयबाट घटाउन पाउने व्यवस्था छ ।
पेन्सन पाउनेलाई २५ प्रतिशत थप छुट
निवृत्तिभरण आय भएका बासिन्दा प्राकृतिक व्यक्तिले आफूले पाउने छुट सीमामा थप २५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन् ।
अपाङ्गता भएका बासिन्दा प्राकृतिक व्यक्तिका लागि भने छुट सीमामा थप ५० प्रतिशत रकम घटाउन सकिनेछ ।
यसरी एउटै कर स्ल्याबभित्र रहे पनि करदाताको अवस्था र आयको प्रकृतिअनुसार करयोग्य आय घटाउने सुविधा फरक हुने व्यवस्था गरिएको छ ।
बीमा गरे करयोग्य आय घटाउन पाइने
करदाताले गरेको बीमा खर्चमा पनि निश्चित सीमासम्म कर सुविधा दिइएको छ । लगानी बीमाको हकमा वार्षिक रूपमा तिरेको प्रिमियम वा ४० हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सो रकम करयोग्य आयबाट घटाउन सकिनेछ ।
स्वास्थ्य बीमाको वार्षिक प्रिमियम वा २० हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम पनि करयोग्य आयबाट घटाउन पाइनेछ । आफ्नै स्वामित्वमा रहेको निजी भवनको बीमाका लागि तिरेको वार्षिक प्रिमियम वा १० हजार रुपैयाँमध्ये कम रकम करयोग्य आयबाट घटाउन सकिने व्यवस्था छ ।
सन्ततिको शिक्षामा खर्च गर्दा २५ हजारसम्म कट्टी
आफ्नो सन्ततिको शिक्षाका लागि तिरेको वार्षिक शिक्षण शुल्कको २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम करयोग्य आयबाट घटाउन सकिनेछ ।
यसका अतिरिक्त पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला करदातालाई तिर्नुपर्ने कर रकममा १० प्रतिशत छुट दिइनेछ ।
औषधि उपचारका लागि बिलबमोजिम भएको वास्तविक खर्चको १५ प्रतिशत वा ७५० रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम कर मिलान गर्न सकिने व्यवस्था पनि छ ।
३० लाखसम्म कारोबार गर्ने साना व्यवसायीलाई निश्चित कर
प्राकृतिक व्यक्तिको व्यवसायिक आयका लागि सामान्य आयकर स्ल्याबभन्दा छुट्टै पूर्वानुमानित करको व्यवस्था पनि गरिएको छ ।
व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र वार्षिक कारोबार ३० लाख रुपैयाँभन्दा बढी नभएको करदाताले डे–०१ आय विवरणअन्तर्गत निश्चित रकम कर बुझाउनुपर्नेछ ।
महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले ७ हजार ५०० रुपैयाँ कर तिर्नुपर्नेछ । नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले ४ हजार रुपैयाँ र ती क्षेत्रबाहेक अन्य क्षेत्रमा व्यवसाय गर्नेले २ हजार ५०० रुपैयाँ कर तिर्नुपर्नेछ ।
यसमा व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र वार्षिक कारोबार ३० लाख रुपैयाँभन्दा बढी नभएको अवस्था आधार बनाइएको छ ।
एक करोडसम्म कारोबारमा टर्नओभर कर
३० लाख रुपैयाँभन्दा बढी तर एक करोड रुपैयाँसम्म कारोबार गर्ने निश्चित प्राकृतिक व्यक्तिका लागि कारोबारमा आधारित करको व्यवस्था गरिएको छ ।
नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र हुने, व्यवसायबाट प्राप्त करयोग्य आय १० लाख रुपैयाँसम्म हुने र कारोबार ३० लाख रुपैयाँभन्दा बढी तर एक करोड रुपैयाँसम्म हुने करदातामा यो व्यवस्था लागू हुने विभागको विवरणमा उल्लेख छ । चिकित्सक, इन्जिनियरजस्ता पेशाविद्ले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवाबापतको आय भने यस व्यवस्थामा समावेश गरिएको छैन ।
३० लाख रुपैयाँसम्मको कारोबारमा महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा ७ हजार ५०० रुपैयाँ, नगरपालिका क्षेत्रमा ४ हजार रुपैयाँ र अन्य क्षेत्रमा २ हजार ५०० रुपैयाँ कर लाग्नेछ ।
विदेशमा डिजिटल सेवा दिएर कमाएको रकममा ५ प्रतिशत कर कट्टी
व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको विद्युतीय सेवा उपलब्ध गराएबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेमा सम्बन्धित बैंक, वित्तीय संस्था वा मुद्रा हस्तान्तरण गर्ने संस्थाले भुक्तानीका क्रममा कर कट्टी गर्ने व्यवस्था छ ।
त्यसैगरी व्यक्तिगत रूपमा नेपालबाहिर परामर्श सेवा प्रदान गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्ने तथा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्ने व्यक्तिको रकममा पनि भुक्तानी दिने बैंक, वित्तीय संस्था वा मुद्रा हस्तान्तरण गर्ने संस्थाले पाँच प्रतिशतका दरले कर कट्टी गर्नेछ ।
यस व्यवस्थाले सफ्टवेयर, विद्युतीय सेवा, विदेशमा व्यक्तिगत परामर्श तथा सामाजिक सञ्जालबाट विदेशी मुद्रा प्राप्त गर्ने प्राकृतिक व्यक्तिको भुक्तानीमै कर कट्टी हुने व्यवस्था गरेको छ ।