नेभिगेशन
दृष्टिकोण

धार्मिक सांस्कृतिक महत्वको पर्व जनैपूर्णिमा

    जनैपूर्णिमा, रक्षाबन्धन, ऋृषितर्पणी र श्रावणी पनि भनिने यो पूर्णिमाको दिनलाई क्वाँटी खाने पूर्णे पनि भनिन्छ । यो पूर्णिमा सबै जात, धर्म र लिंगले समान रुपमा धार्मिक सहिष्णुतासहित मान्दै आएको पाइन्छ । यो पूर्णिमा शैव, हिन्दू र बौद्धमार्गीहरुको ठूलो पर्व हो । यही दिनमा गोसाइकुण्डको मेला रसुवामा, मणिलिंगेश्वर (मणिचूड दह) साँखुमा, कुम्भेश्वर महादेव पाटनमा, अनन्तलिंगेश्वर महादेव भक्तपुरमा र बनेपाको शिलुतीर्थ आदि स्थानहरुमा ठूलो मेला लाग्छ । 
    नेवार समुदायमा गुंपुन्हीका नामले प्रचलित यो पूर्णिमा मनाउने क्रममा एकादशीका दिनदेखि भिजाइएको टुसा पल्हाएको क्वाँटी खाने गर्दछन् । क्वाँटी भन्नेवित्तिकै नौ थरी गेडागुडी सानो केराउ, ठूलो केराउ, गेडामास, मस्याङ, भुटी(बोडी), भटमास, सिमी, चना, बकुला आदि मिसाइएको हुन्छ । नेवारी समुदायमा यो दिन नौ थरी विभिन्न किसिमका खाना खाएर नौ वटा धाराको पानी पिएर, नौ थरी लुगा लगाएर, नौ वटा विभिन्न बौद्ध बहालमा घुमेर बहिद्यः प्रदर्शन गरिन्छ र द्वितीया दिनसम्म राखिन्छ । विभिन्न बुद्ध मूर्तिहरुका साथै सुनको अक्षर, चाँदीको अक्षरले लेखेका नामसंगती स्त्रोत्र, पौभाः, पुराना लुगा, भाँगाकुडा, बौद्ध जातकका कथाहरु भएका पौभाः आदि पनि प्रदर्शन गरिन्छ । ताहाचलस्थित ‘खुसीबहिल’ भन्ने बहालमा ‘ज्यामति सिलपत्ता’ भनेर महिलाहरुका पुराना विभिन्न लुगाहरु प्रदर्शन गरिन्छ । त्यस्तै, केशचन्द्र परावर्त महाविहार इटुम्बहालमा गुरुमापाको कथा चित्रित पौभाः र विक्रमशील महाविहार ठमेलमा सिंहसार्थ बाहु (चकंद्यः)का सिंहल द्विप यात्राको पौभाः र सुनको अक्षरले लेखिएको नामसंगति स्त्रोत्र र प्रज्ञापारमिता प्रदर्शन गरिन्छ । यसरी, प्रदर्शन गर्ने क्रममा नेवार समुदायले प्रयोग गर्ने गरेका विभिन्न प्रकारका मिठाइका परिकार पनि प्रदर्शन गरिन्छ । 
    गुंपुन्हीका दिन ‘ब्यांजा नकेगु’ भनेर काठमाडौ उपत्यकाका किसानहरुले भ्यागुतोलाई खेतमा भात खुवाउँछन् । भ्यागुतोले खेतमा लाग्ने विभिन्न कीरा फट्यांग्रा खाएर बालीनाली राम्रो पार्ने भएकैले भ्यागुतोलाई मान्दै आएको भन्न सकिन्छ । यो दिनमा कतैकतै कागलाई पनि भात खुवाउने गरिन्छ । यही समयमा सिन्हाज्या म्यें (असारे गीत) र सिलु म्यें (गोसाइकुण्डको गीत) पनि गाउने गरिन्छ । यसरी, नै बौद्ध धर्मावलम्बीहरुको श्रावण महिनाभरि नै गुंला पर्व मनाउने सन्दर्भमा स्वयम्भूमा घुइँचो लाग्ने गर्दछ । 
    जनैपूर्णिमाका दिन हिन्दूमार्गीहरु बिहान सबेरै उठेर खोला वा पोखरीमा नुहाएर जनै फेर्ने भएकोले जनैपूर्णिमा भनिएको हो । नेवारहरुमा ६ थरी श्रेष्ठ, कर्माचार्य, गुरुवाचार्य, जोशी, पःमाय्, अमात्य, राजभण्डारीहरुले जनै फेर्नुपर्छ । ब्राम्हणहरुले जनै फेरेर, जनै (रक्षा सूत्र) बाँधी दिने गर्छन् । जनै रक्षा सूत्र बाँधीदिंदा बम्हणहरुले यसरी मन्त्र पढ्छन्, ‘येन वद्यो बलिराजा दान वेन्द्रो महाबलः । चतेन त्वां प्रतिवध्नामी रक्षेमा चलं मा चल ।’ अर्थात जुन भगवानले एकदम बलवान शक्तिशाली दानव राज बलीलाई रक्षा गर्नुभयो त्यही रक्षा मन्त्रले मैले तंलार्य बाँधेर राखें । हे रक्षा सूत्र, निश्चल भएर रक्षा गरेर बस् । हुन त रक्षा सूत्र काँचो धागो बाटेर बेसार लगाइएको हुन्छ । आयुर्वेदमा बेसारलाई ज्यादै काम लाग्ने वस्तुका रुपमा लिइन्छ । यसमा कीरा मार्ने शक्ति छ । त्यसैले, बेसारलाई ऐन्टिसेप्टिक वा ऐन्टिबायोटिकका रुपमा पनि प्रयोग गरिंदै आएको पाइन्छ । यो दिन लोग्ने मानिसले दाहिने हातको नाडीमा र स्वास्नी मानिसले देब्रे हातको नाडीमा रक्षा सूत्र डोरो बाँध्यो भने बर्षदिनसम्म कुनै रोग नलाग्ने र नराम्रो तŒवले छुन सक्दैन भन्ने धारणा रही आएको पाइन्छ । तिहारमा लक्ष्मी पूजाका दिन जनै डोरो फुकालेर गाईको पुच्छरमा बाँधेर गाईको पूजा ग¥यो भने मरेपछि गाईको पुच्छर समाएर वैतरणी नदी तर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ । 
    तागाधारीहरुले यो दिन बिहान सबेरै खोलामा गई दत्तिवनले दाँत माझेर, सेतो माटो, गोबर र खरानी जिउमा दलेर नुहाएर सप्तर्षी कश्यप, भारद्वाज, गौतम, अत्री, जगदग्नि, वशिष्ठ एवं विश्वामित्रसहित अरुन्धीहरुलाई पूजा गरेर तर्पण गरिने भएकाले यसलाई ‘ऋृषित तर्पणी’ पनि भनिएको हो । ऋृषिहरुलाई चढाएको चोखो जल र महादेवलाई चढाएको जलले जनै र धागोमा मन्त्र पढिन्छ । यो दिन पशुपतिनाथ र विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरुमा जनै फेरेर भगवानको दर्शन गर्नेहरुको भीड लाग्छ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले यसलाई श्रावणी भनिएको हो । यो दिन सबैले क्वाँटी खाने भएकाले ‘क्वाँटी पूर्णे’ पनि भनिन्छ । टुसा पल्हाएको नौ थरी गेडागुडीको क्वाँटी पकाएर खाँदा शरीरलाई आवश्यक विभिन्न पोषक तत्व सजिलै प्राप्त हुन्छ । रोपाइँको समयमा जताततै पानीले रुझेर रोपाइँ गर्दाको सर्दी क्वाँटी खानाले हटछ । 
    रक्षाबन्धनलाई तराईतिर ‘राखी बन्धन’ भनिन्छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई हातमा राखी धागो बाँधेर आफ्नो भातृप्रेम संधै कायम रहीरहोस र राखीले रक्षा गरिरहोस भनेर दाजुभाइको पूजा गर्छन । यो दिन महादेवलाई पूरा गरेर मेला भर्ने क्रममा गोसाइकुण्डमा मेला भर्न जान नसक्नेहरुले पाटन कुम्भेश्वर महादेवको पोखरीमा मेला भर्न जान्छन । यो पोखरीमा गोसाइकुण्डको जल बगेर आइरहेको छ भनिन्छ । अघिल्लो दिन बेलुका सर्वेश्वर महादेवको छुट्टै मूर्तिलाई पुजारीले दुवै हातले समाउँदै जात्रा गर्दै ल्याएर कुम्भेश्वर पोखरीका बीचमा राख्छन् र भोलिपल्ट बिहान नहुँदै विभिन्न ठाउँहरुबाट हुल मानिसहरु कुम्भेश्वर पोखरीमा मेला भर्न आउँछन । कुम्भेश्वर महादेव मन्दिरको बीच भागमा देखिएको ठूलो शिवलिङ्ग सर्वेश्वर महादेव बहुक् भने इशानकोणमा रहेको सानो शिवलिङ्ग कुम्भेश्वर हुन् । स्मरण रहोस, सर्वेश्वर महादेव ६४ शिवलिङ्गमध्ये एक हुन । यो दिन त्यहाँ विभिन्न स्थानबाट झाँक्रीहरु ढ्यांग्रो बजाएर मेला भर्न आउँछन । बेलुका सर्वेश्वर महादेवको जात्रा गरिन्छ । 
    श्री स्वयम्भू महापुराणका अनुसार यो कुम्भ तीर्थमा सर्वपाल बैद्य उद्धार भएर गएकाले यो दिन बौद्धमार्गीहरुले ल्वांग, सुपारी, फुल लिएर नुहाएर कलश दान गर्छन । दयुसाया अर्थात तृतीयाका दिन मतयाः (बत्ती बाल्न) जाने भनेर सिंङको जात्रा आयोजकका तर्फबाट यो दिन नौबाजा सिंङ फुकेर बजाउँछन । कीर्तिपुरमा झ्याँझ्याँ पापा भनेर जात्रा मनाउँमछन भने भक्तपुरमा धिन्ता किसी ट्वाक्क भनेर गाईजात्राको दिन मनाउँछन । 
    काठमाडौ उपत्यकाका विभिन्न स्थानमा बर्षभरि मरेका व्यक्तिका नाममा गाई पठाउने, मान्छेलाई गाई र गोसाई जोगी बनाएर पनि पठाइन्छ र नगर परिक्रमा गराइन्छ । कृष्णाष्टमीसम्म नौ दिनसम्म देशको सामाजिक, आर्थिक र राजनीतिक विषयलाई लिएर व्यंग्य गर्ने, हाँस्य व्यंग्य निकाल्ने, रोपाइँ जात्रा, लाखे नाच, बाघ जात्रा, विभिन्न देवताका जात्रा, नाचगान निकाल्नेजस्ता विभिन्न रमाइला कार्यक्रमको प्रदर्शन गरिन्छ । यो मेला वा पर्व सबै जाति, धर्म र सम्प्रदायले समान रुपमा मनाउँदै आइरहेको पाइन्छ । यसर्थ यो मेलालाई धार्मिक सहिष्णुताको रुपमा रमाइलोसँग मनाइने पर्वका रुपमा लिइँदै आइरहेको छ । 
    काठमाडौ उपत्यकाका नेवारहरुले नेवारी धर्म, संस्कृति र परम्पराअनुसार नागलाई विशेष रुपमा मान्दै आएका छन । त्यसैले नेवारी समुदायले नागलाई अत्यन्तै सम्मान गर्छन । नेवारी संस्कृतिमा अभिन्न रुपमा नागको विशेष स्थान रही आएकोले नै नागलाई पूजा गर्ने, विभिन्न चाडवाड र जात्रामा पनि नागलाई विशेष महत्व दिई मान्दै आएको नेवारी संस्कृतिले झल्काइरहेको छ । नाग बस्ने ठाउँ अर्थात नागको बासस्थानको आधारमा बज्रयान बौद्ध परम्पराअनुसार १२ तीर्थको पनि विकास भएको देखिन्छ । नागको बासस्थानअनुसार वरुण नागराज टेकु दोभानमा चिन्तामणि तीर्थ, तक्षक नागराज चाँगुपुण्य तीर्थ त्यस्तै शान्ति तीर्थ कोटेश्वर, शंकर तीर्थ शंखमूल, ज्ञानतीर्थ, प्रमोद तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ र राजतीर्थहरु विभिन्न नागका बासस्थान हुन । हरेक बर्ष नागपञ्चमीका दिन ती नागका बासस्थान तीर्थमा गई नागलाई पूजा गर्ने गरिन्छ । त्यस्तै घरैपिच्छे नागको चित्र मूल ढोकामा टाँसेर पूजा गर्दा नागले घरको रक्षा गर्छ, चट्याङ्ग पर्दैन भन्ने विश्वास छ । बज्र इन्द्रको हतियार हो भने इन्द्र र नागको एउटै पिता कश्यप ऋृषि भएकाले दाजुभाइको बीचमा बज्रप्रहार गर्नुहुँदैन भन्ने मान्यता पनि पाइन्छ । 
    कश्यप ऋृषिकी श्रीमति कद्रबाट नागको जन्म भएको हो । नाग सर्पहरुको राजा पनि हो । नागको पूजा गर्नुमा धार्मिक, सांस्कृतिक, सामाजिक र प्राकृतिकमान्यता पनि रहीआएको छ । विष्णु भगवान र महादेवलाई अत्यन्तै मनपर्ने भएर नै भगवान विष्णु नागमाथि विश्राम गर्नुहुन्छ भने महादेवले नागको माला लगाएर बस्नुभएको हो । बुद्ध धर्ममा पनि नागको महŒव छ । त्यसैले बुद्धको मुकुण्डोमा पनि नागको प्रतीक राख्ने गरिन्छ । नागहरुमा मुख्यतया आठ किसिमका अनन्त, वासुकी, पद्म, महापद्म, कुलिर, कर्कट, शंख र चष्टलाई विशेष रुपमा लिइन्छ ।

(लेखक डंगोल धर्म-संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण