नेभिगेशन
प्रदेश

गाडिएको शव आफन्तले कसरी पाउँछन् ?

२०७२ वैशाखको भूकम्पमा टिचिङ अस्पताल परिसरमा गाडिएका थिए ३२ शव

काठमाडौं । विनाशकारी बाढीमा परेर दिवंगतका शवहरू विभिन्न जिल्लामा लगातार फेला परिरहँदा राख्न गाह्रो प¥यो । सरकारले अस्थायी व्यवस्थापन गर्दैछ । आफन्तले देख्नै नपाई शव व्यवस्थापन गर्दा पछि खोजी गर्नेहरूलाई के जवाफ दिने भन्ने प्रश्न उठेको छ । फेला परेका शवको संख्या बढ्दै जाँदा तिनको पहिचान र व्यवस्थापन राज्यका लागि चुनौती बनेको हो । पहिचान हुन नसकेका शवलाई लामो समयसम्म सुरक्षित राख्ने पर्याप्त पूर्वाधार नभएपछि सरकारले अहिले त्यस्ता शवलाई अस्थायी रूपमा जमिनमुनि गाडेर व्यवस्थापन गर्न थालेको छ । धेरै शव चितवनमा गाडिएका छन् ।
यसले स्वाभाविक प्रश्न जन्माएको छ – गाडिएको शव पछि पहिचान भयो भने आफन्तले कसरी पाउँछन् ?
यो समाचार तयार पार्दासम्म बाढी प्रभावित विभिन्न आठ जिल्लाबाट एक हजारभन्दा बढी शव फेला परिसकेका छन् । सबैभन्दा धेरै शव चितवन, नवलपुर र नवलपरासीमा भेटिएका छन् । बाढीले सडक तथा यातायात संरचनासमेत क्षतिग्रस्त बनाएकाले कतिपय मृतकका आफन्त घटनास्थल वा शव राखिएका अस्पतालसम्म पुग्नसमेत सकेका छैनन् ।
त्यसमाथि बाढीमा बगेर आएका शव अत्यधिक गर्मीका कारण छिट्टै कुहिन थालेका छन् । पानीमा लामो समय भिजेका शव सामान्य अवस्थाका शवभन्दा चाँडो बिग्रने फरेन्सिक विशेषज्ञहरू बताउँछन् । शव लामो समय खुला अवस्थामा राख्दा दुर्गन्ध फैलिनुका साथै स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने भएकाले तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो ।

अस्पतालमा शव राख्ने ठाउँ सकियो
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका सरकारी अस्पतालमा एकैपटक करिब ६ सय शव मात्र राख्न सक्ने क्षमता छ । १ सय ५० शव अट्ने त्रिवि शिक्षण अस्पतालमा मात्रै एक सय २० भन्दा बढी शव ल्याइसकिएको छ । निजी अस्पतालमा शव राख्ने संरचना झन् सीमित छन् ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले पर्याप्त शवगृह र चिस्यानयुक्त भण्डारणको अभावमा वैकल्पिक व्यवस्थापन गर्नुपरेको बताउँछन् । ‘शव राख्नलाई माइनस दुई डिग्री सेल्सियस तापक्रम चाहिन्छ । तर अहिलेको अवस्था त्यो हुन सकेको छैन,’ उनले भने, ‘शव व्यवस्थापनको एउटा विकल्प रेफ्रिजेरेटेड अर्थात् चिस्यानयुक्त शव भण्डारण हो ।’
अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को मापदण्डअनुसार सम्भव भएसम्म शवलाई करिब २ देखि ४ डिग्री सेल्सियस तापक्रममा रेफ्रिजेरेटेड कन्टेनर वा अन्य चिसो भण्डारणमा राख्नु उपयुक्त हुन्छ । तर नेपालमा यस्ता संरचना पर्याप्त नभएपछि पहिचान नभएका शवलाई सुरक्षित स्थानमा अस्थायी रूपमा गाडेर राख्न थालिएको हो ।
‘अहिले गरिएको अस्थायी व्यवस्थापन हो । आफन्त पहिचानका लागि डीएनए नमूना पनि सुरक्षित रहने व्यवस्था गरिएको छ,’ काफ्लेले भने ।
अहिलेसम्म चितवन, नवलपुर, तनहुँ र कास्कीमा पहिचान हुन नसकेका शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ ।

गाडेपछि पनि पहिचानको बाटो खुला
शव गाडिँदैमा आफन्तले आफ्नो परिवारको सदस्यको शव पाउने बाटो बन्द हुँदैन । बरु प्रत्येक शवको विवरण व्यवस्थित रूपमा अभिलेख गरेर भविष्यमा पहिचान गर्न सकिने गरी गाड्ने व्यवस्था गरिएको छ ।

सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ संशोधन गरेर अहिलेको विपद्को अवस्थाअनुसार अस्थायी व्यवस्थापनको बाटो खोलेको हो । निर्देशिकाअनुसार शव व्यवस्थापन भन्नाले शवलाई पूर्ण रूपमा अन्त्य नगरी अस्थायी रूपमा सुरक्षित राख्ने प्रक्रिया हो ।
गाड्नुअघि प्रत्येक शवको फोटो खिचिन्छ । अनुहार, हातमा रहेका ट्याटु, चोटपटक, दाग तथा अन्य विशेष चिन्हको अभिलेख राखिन्छ । शवसँगै भेटिएका कपडा, गरगहना वा अन्य सामानको विवरण पनि सुरक्षित गरिन्छ । कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारिन्छ र प्रत्येक शवलाई छुट्टाछुट्टै युनिक पहिचान नम्बर दिइन्छ ।
शव गाडिएको स्थान पहिचान गर्न सो नम्बर धातुको प्लेटमा लेखेर शवसँगै राखिन्छ । यसले भविष्यमा सम्बन्धित शव कुन स्थानमा गाडिएको हो भन्ने पत्ता लगाउन सहयोग गर्छ ।
सबैभन्दा महŒवपूर्ण पक्ष भनेको प्रत्येक शवको डीएनए नमूना सुरक्षित राखिनु हो ।

डीएनए मिलेपछि उत्खनन गर्न सकिन्छ
शव गाडिएपछि पनि प्राकृतिक रूपमा कुहिने प्रक्रिया भने रोकिन्न । तर खुला ठाउँमा राखिएको शवको तुलनामा माटोमुनि राख्दा कुहिने गति केही कम हुन सक्छ । यसको उद्देश्य शवलाई स्थायी रूपमा नष्ट गर्नु नभई तत्कालका लागि सुरक्षित राख्नु र भविष्यमा पहिचान खुलेमा उत्खनन गर्न सकिने अवस्था कायम राख्नु हो ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार सम्भव भएसम्म शवलाई लामो समयसम्म पहिचान गर्न सकिने गरी सुरक्षित व्यवस्थापन गर्नुपर्छ ।

‘२०७२ सालको भूकम्पपछि पनि केही शव यसरी नै जमिनमुनि गाडेर व्यवस्थापन गरिएको थियो,’ उनले भने, ‘त्रिवि शिक्षण अस्पतालको परिसरमा मात्रै भूकम्पका क्रममा ३२ वटा शव अस्थायी रूपमा गाडिएको थियो । त्यसमध्ये केही शव वर्षौंपछि आफन्त खोज्दै आएपछि डीएनए परीक्षणबाट पहिचान भएका थिए ।’ उनका अनुसार पहिचान नखुलेका केही शव अहिले पनि त्रिवि शिक्षण अस्पताल परिसरमै जमिनमुनि सुरक्षित छन् ।

आफन्तले शव पाउने प्रक्रिया
भविष्यमा कुनै परिवारले आफ्नो आफन्त बेपत्ता भएको दाबी गरेमा प्रहरीसँग रहेको विवरण, शवसँग भेटिएका सामग्री, फोटो तथा अन्य प्रमाणसँग तुलना गरिन्छ । आवश्यक परे डीएनए परीक्षण गरिन्छ ।
पहिचान पुष्टि गर्न मृतकका प्रथम श्रेणीका आफन्त अर्थात् आमा, बुवा वा छोराछोरीको डीएनए नमूना लिएर परीक्षण गर्न सकिन्छ । त्यस्ता आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको डीएनए नमूना प्रयोग गर्न सकिन्छ । विदेशमा रहेका आफन्तको हकमा सम्बन्धित देशमा गरिएको डीएनए परीक्षणको प्रमाणपत्र नेपाल प्रहरीलाई उपलब्ध गराउन सकिने व्यवस्था छ ।
डीएनए तथा अन्य प्रमाणबाट पहिचान पुष्टि भएपछि गाडिएको शवको युनिक पहिचान नम्बरका आधारमा स्थान पहिल्याइन्छ । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी शव उत्खनन गरेर हकवालालाई बुझाउन सकिन्छ ।
निर्देशिकाले पनि पहिचान खुलेपछि हकवालाले लिन चाहेमा त्यस्तो शव, शरीरको अंग वा बाँकी भाग हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसर्थ अहिले जमिनमुनि गाडिएका शव अन्तिम बिदाइ गरिएका शव होइनन् । ती अस्थायी रूपमा सुरक्षित राखिएका शव हुन्, पहिचानको सम्भावना खुला राखेर ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्