विभिन्न सिद्धान्त र वादहरूका नाममा नेपालमा विगत ३० वर्षयता सरकारहरूको नेतृत्व निर्वाचनको आधारमा पार्टीले गर्दै आएको कुरा सर्वविदितै छ । निर्दलीय पञ्चायतविरुद्धको आन्दोलनमा विशेषतः नेपाली कांग्रेस र अहिले एमालेको नेतृत्व गर्नेहरूले लामो समय आन्दोलन गरे । त्यसक्रममा कांग्रेसको प्रजातान्त्रिक समाजवादी धारको मुख्य नेतृत्व गर्ने विपी कोइराला र कम्युनिस्ट धारको माक्र्सवादी चिन्तनको नेतृत्व गर्ने पुष्पलालको नेतृत्वमा तीन दशकसम्म युवाहरू आन्दोलनमा परिचालित भए । त्यो बेलाका युवा अहिले वृद्धपुस्तामा गणना भएका छन् जो तिनीहरू नै अहिले विद्यार्थी पुस्ताको निसानामा छन् ।
पञ्चायतकालमा उनीहरू भूमिगत हुँदा उनीहरूलाई माया गर्ने, आदर गर्नेहरू नेपालभर थिए । नेतृत्व शक्ति उनीहरूले कमाण्ड गरेका थिए । नेतृत्व डिमाण्ड गर्ने र कमाण्ड गर्ने बीचको संघर्षमा अहिले डिमाण्ड गर्नेहरूको रजगजले बेथिति बढ्दै गए । हिजो नेतृत्व कमाण्ड गर्ने परम्परा थियो, ती सम्मानित थिए, सादगी जीवन जीउँथे । २०४६ को जनआन्दोलनपछि सत्ताको सुखभोग गरेका दलका शीर्षस्थ नेताहरूका न उद्योग छन्, न कलकारखाना छन्, न व्यावसाय, न कुनै दह्रो आयस्ता । तर, तिनको जीवनशैली बीस वर्षमा कसरी एकाएक राणाकालका श्री ३ सरहको भयो ?
जेनजीको विद्रोह नातावाद, कृपावाद र भ्रष्टाचारविरुद्धको विष्फोट हो । यो विद्रोह बाध्यताको विद्रोह हो, युवाको रहरको किमार्थ होइन । देशका युवालाई विदेश निकासी गरेर सत्ताको हालिमुहाली गर्नेहरूप्रति भएको विद्रोहका लागि युवाहरू किमार्थ दोषी छैनन् । दोषी त दलका शीर्षस्थ नेता हुन् । जसले भागबण्डाको राजनीति, आलोपालोको एकलौटीलाई संस्थागत गरे । यो विद्रोह नभएको भए यिनीहरूको थिचोमिचो अझै देख्न र सहन पर्दथ्यो ।
व्यक्तिगत धन र विलासी जीवनलाई उच्च प्राथमिकता दिने चरित्र देश र जनताप्रतिको बेवास्ताको परिणामले आज युवाहरू विद्रोही बने । त्यो असन्तुष्टि छाताछुल्ल हुँदा अहिले सबै भ्रष्टहरू युवाको निसानामा परे । यो असन्तुष्टि संविधान र कानूनप्रतिको असन्तुष्टि पनि हो । खासगरी वर्तमान संविधानले विभिन्न विषयमा जनतासँग मागेको सुझावलाई थोत्रो बोरामा पोको पारेर जनभावनालाई बन्दी बनाउने दुष्प्रयास र आफ्ना भरौटेहरूका लागि प्रदेशको नाममा पदहरू सिर्जना गरियो ।
अहिले राष्ट्रलाई गरिबीको खाडलमा जाक्ने यिनिहरूको नियोजित योजना, कुशासन, भ्रष्टाचार र न्यायालयहरूमा दलका कार्यकर्ताहरू भर्ना गरेर न्यायको जुन हुर्मत यिनीहरूले लिए ती सबै विषयहरूले उत्पादन गरेको असन्तुष्टिको परिणाम हो । शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक तरिकाले दबाउने योजना र कार्यक्रमले देश बंगलादेश, श्रीलंकाको अवस्थामा पुग्छ भन्ने बारम्बारको खबरदारीलाई बेवास्ता गर्दा अहिले सबै कुशासन र भ्रष्टाचारका साथै नियुक्तिमा धन असुलीका नाइकेहरू युवावर्गको निसानामा परे ।
संविधानबाहिरबाट प्रधानमन्त्री नियुक्त गरेपछि संविधान जोगाएँ भन्ने राष्ट्रपतिको भनाइमा षड्यन्त्र छ । यो उनको भनाइ हुटिट्यायाउँले आकाश धानेको छु भनेजस्तै हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्नु राष्ट्रपतिको असंवैधानिक काम हो ।
कार्कीको नेतृत्वमा सरकार बनेपछि संविधान र राष्ट्रपति, उपराष्ट्रपति पद सबैको औचित्य समाप्त भएको छ । त्यसैले विद्रोही युवाहरूलाई अन्तरिम सरकारको सञ्चालन गर्न अन्तरिम संविधान बनाउन राष्ट्रपतिले मार्ग प्रशस्त गर्नुपर्छ । देश आगोमा दनदनी बल्दा निभाउने प्रयत्नसम्म नगर्ने राष्ट्रपति र सेनापति दुवैको आवश्यकता र औचित्य अब विद्रोहीहरूले पनि समाप्त भएको घोषणा गर्नुपर्छ ।
अब बन्ने अन्तरिम सरकारले भ्रष्टाचारीहरूले बनाएको संविधानले सिर्जना गरेको राष्ट्रपतिबाट सपथ लिने काम उनीहरूको ऐतिहासिक भुल हुनेछ । अहिलेको आन्दोलनको र विद्रोहको नेतृत्व गर्नेहरूले प्रथमतः सम्बोधन गर्ने कार्यविधि, कार्ययोजना, कार्यनीति र रणनीति बनाउनुपर्छ ।
पहिलो चरणमा राष्ट्रपतिका रूपमा कार्यरत रामचन्द्र पौडेलदेखि सबै पूर्वराष्ट्रपतिहरू, प्रधानमन्त्री खड्गप्रसाद ओलीदेखि २०४७ को संविधान लागू भएयताका सबै प्रधानमन्त्रीहरू र २०४७ को संविधान लागू भएपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका व्यक्तिदेखि हालसम्मका प्रधानन्यायाधीशहरूको भ्रष्टाचारको मसिनो छानबिन हुनुपर्छ ।
भ्रष्टाचारबाट कमाएको सम्पूर्ण सम्पत्तिलाई राष्ट्रियकरण गर्ने र उनीहरूलाई कानूनअनुसार र उच्च जिम्मेवारीलाई दुरुपयोग गरेका कारणले हदैसम्मको जरिवाना र कैदको व्यवस्था गरेर भ्रष्टाचार गर्न हुँदैन भन्ने नजिर स्थापना गर्ने काममा यो आन्दोलनको नेतृत्व गर्नेहरूले कार्ययोजना, कार्यनीति र रणनीतिको घोषणासँगै कार्यान्वयन गरेर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुपर्छ । त्यसपछि सुशासनको कार्ययोजना, कार्यविधि र रणनीति सार्वजनिक गर्नुपर्छ र कार्यान्वयन गर्न अविलम्ब प्रारम्भ गर्नुपर्छ ।
देवीभक्त ढकाल
जनतालाई राजनीति गर्नेहरू मितव्ययी पनि हुन्छन्, सादगी पनि हुन्छन् र सदाचारी पनि हुन्छन् भन्ने नजिर परिवर्तनको नेतृत्व गर्ने युवाहरूले पनि व्यवहार, आचरण, कार्यशैली, जीवनशैली आदिले प्रत्यक्ष व्यवहारमा अनुवाद गरेको अनुभूति जनताले देख्न, सुन्न र भोग्न पाउनुपर्छ ।
हत्या र आतंकबिना आन्दोलन कसरी सफल हुन्छ भन्ने पाठ दशौं वर्ष राष्ट्र र जनताको सम्पत्ति दोहन गर्ने, आतंकित गर्ने, हत्या र अपहरण गर्ने पुष्पकमल दाहाललाई २४ घण्टामा राजनीतिक परिवर्तन कसरी सम्भव छ भन्ने उदाहरण युवाहरूले पेस गरे । तसर्थ माओवादी आन्दोलनको औचित्यलाई युवाहरूले नांगेझार पारे । अहिलेका आन्दोलनकारीहरूले सरकारी संरचनाहरूलाई जलाउने कामले भने कालान्तरसम्म आलोचनाको सिकार हुनैपर्छ ।
नेतृत्व गर्नेले भौतिक सम्पतिको सुरक्षाको रणनीति अख्तियार गर्न नसक्नु ठूलो कमजोरी हो भने भ्रष्टहरूले बनाएका भौतिक संरचनाहरूलाई राष्ट्रियकरण गर्दा देश लाभान्वित हुन्थ्यो भन्ने विषयलाई गरेको नजरअन्दाजले परिवर्तनप्रति जनता कसरी आश्वस्त हुने भन्ने प्रश्न उब्जेको छ ।
भ्रष्टाचारका बादशाहहरूलाई नियन्त्रणमा लिए पनि उनीहरूको हत्या भएन, यसमा आन्दोलनकारीले देखाएको संयमतालाई वर्तमानले मात्रै होइन भविष्यले पनि प्रशंसा गर्ने नै छ । आन्दोलनको नेतृत्व गर्ने को हो र उसका भावी योजनाहरू के–के हुन् भन्ने विषयमा उत्पन्न नेपाली जनताको चिन्ता र चासोलाई आन्दोलनकारीहरूले अविलम्ब चिर्नुपर्छ ।
आन्दोलन फगत आन्दोलनकारीहरूको हितमा मात्रै प्रयोग हुँदै आएको नजीरलाई यो आन्दोलनले ती विगतका भ्रष्टहरूलाई व्यवहार, कार्यशैली, जीवनशैली र विकासका माध्यमले मुखतोड जवाफ दिनुपर्छ । आन्दोलनको सफलताबाट विगतका नेताहरूझैं हौसने, दम्भ देखाउने, हेप्ने, अहंकार देखाउने र राम्रोलाई होइन हाम्रोलाई नियुक्ति गर्ने विषयमा युवाहरूले कति विवेक प्रयोग गर्दछन् त्यसैमा देश र जनताको भविष्य र भाग्य निर्भर हुन्छ ।
आन्दोलनकारीहरूले भौतिक सम्पत्तिमा भएको क्षतिलाई घुसपैठ भयो भनेर उन्मुक्ति लिन पाइँदैन, बरु त्यसलाई कमजोरी र त्यसले पाठ सिकाएको विषयलाई आत्मसात् गर्नु नै कल्याण हुन्छ । भाषणबाट नेपाली जनता वाक्कदिक्क छन् अब काम, व्यवहार, आचरण, जीवनशैली र कार्यशैलीले युवाहरूले आफूलाई उत्कृष्ट प्रमाणित यदि गर्न सकेनन् भने भोलि यी भ्रष्टहरूले भन्दा कठोर दुर्गति भोग्नुपर्छ भन्ने कुरा युवा आन्दोलनकारीहरूले आत्मसात् गर्नैपर्छ ।
युवा जाग्दा २४ घण्टामा शासकहरूको भागाभाग भयो भने अब त्यो दिन दोहरिन नदिन के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने विवेक युवाहरूले पक्कै गुमाउने छैनन् । नेपाल र नेपालीहरू फेरि पनि राजनीतिक परिवर्तनका लागि प्रयोग नगरिऊन् भन्ने विषयमा अब युवाहरूले काम र व्यवहारबाट पुष्टि गर्ने चुनौतीको सामना गर्न सफलता मिलोस् । हाम्रो शुभकामना छ ।