नेभिगेशन
उपत्यका

लुटपाटमा संलग्न माझी ग्याङका चार पक्राउ

काठमाडौं । गत बुधबार साँझ काठमाडौंको जडीबुटीमा मोटरसाइकलमा सवार एकजनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको घटना सुन लुटपाटमा सक्रिय समूहसँग सम्बन्धित रहेको खुलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरु काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न समूहका रहेको जानकारी दिएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण–५ का २६ वर्षीय आयन माझी, मकवानपुरको बकैया–७ का ३६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङ छन् । माझीलाई समूहको मुख्य योजनाकार तथा नाइकेका रूपमा प्रहरीले चिनाएको छ । बुधबार काठमाडौं–३२ जडीबुटी पुलमुनिको सडकखण्डमा मोटरसाइकलमा रहेका माझीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । उनले प्रहरीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गरी भाग्न खोजे । प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि घुँडामुनि एक गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताए ।
माझी पक्राउ परेपछि उनको समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा भक्तपुरको ठिमीबाट मोक्तान र थिङ पक्राउ परेका थिए । मोक्तानले मोटरसाइकल चलाउने र थिङले पछाडि बसेर सुनका सिक्री लुट्ने गरेका थिए । उनीहरूलाई माझीले निर्देशन दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको खुलेको छ । चोरी भएका मोटरसाइकल लुटपाटमा प्रयोग गर्ने र फरार हुँदा पटकपटक सवारीसाधन परिवर्तन गर्ने गरेको अनुसन्धानमा पाइएको छ । 
यसै समूहले असोज १४ गते राति बौद्ध गेट नम्बर २ नजिकै तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई नियन्त्रणमा लिएर दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेको घटनामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । त्यस्तै, असोज १३ गते डल्लु चौतारामा बीवाइडी कारमा रहेका रमेश खड्कीको घाँटीबाट करिब साढे तीन तोलाको सुनको सिक्री लुटिएको घटनामा पनि यही समूहको संलग्नता रहेको प्रहरीको दाबी छ । 
प्रहरीका अनुसार समूहले बिहानको अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सिक्री लुट्ने गरेको थियो । इन्ड्राइभ वा पठाओको बहाना बनाई राति तथा बिहान एक्लै हिँड्ने व्यक्तिलाई सुनसान स्थानमा पु¥याएर लुटपाट गर्ने गरेको पनि खुलेको छ ।
प्रहरीले उनीहरूबाट लुटपाटमा प्रयोग भएका दुई मोटरसाइकल, नम्बर प्लेट पाँच थान, खुकुरी एक थान तथा घटनाका समयमा प्रयोग भएका कपडा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार माझी यसअघि पनि डाँकाचोरीका विभिन्न मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । उनीविरुद्ध काठमाडौं, भक्तपुर र काभ्रेका प्रहरी कार्यालयमा डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता भएको बताइएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्