नेभिगेशन
अर्थतन्त्र

गरिमा विकास बैंकको खराब कर्जा ४.८१ प्रतिशत पुग्यो

काठमाडौं । गरिमा विकास बैंकको खराब कर्जा बढ्दै जाँदा नाफा र सेयरधनीको प्रतिफलमा दबाब देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य रूपमा घटेको वित्तीय विवरण सार्वजनिक गरे पनि सम्पत्तिको गुणस्तर, प्रतिसेयर आम्दानी र लाभांश वितरण क्षमतामा देखिएको संकुचनले बैंकको वित्तीय अवस्थामाथि प्रश्न उठाएको छ ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.७३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तमा बढेर ४.८१ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको कभरेजसमेत १२०.७२ प्रतिशतबाट घटेर १०४.०९ प्रतिशतमा झरेको छ । 
चालु आवको पहिलो तीन महिनामा बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ४.१७ प्रतिशतले घटेको हो । नाफा घटेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ५० पैसामा सीमित भएको छ ।

बैंकको नाफा घट्नुमा मुख्यतः खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानीमा आएको संकुचन देखिएको छ । साउन, भदौ र असोजको अवधिमा खुद ब्याज आम्दानी ७.७९ प्रतिशतले घटेर ९२ करोड ८ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ९९ करोड ८५ लाख ९४ हजार रुपैयाँ थियो ।
ब्याज आम्दानी ११.२८ प्रतिशतले घटेर १ अर्ब ८२ करोड १७ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च पनि १४.५९ प्रतिशतले घटेर ९० करोड ९ लाख रुपैयाँ कायम भएको छ । ब्याज खर्च घटे पनि ब्याज आम्दानीमा आएको गिरावटले बैंकको मुख्य आम्दानी खुम्चिएको हो ।
कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज २३.६८ प्रतिशतले घटेर २५ करोड ४२ लाख ९१ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ३३ करोड ३१ लाख ९३ हजार रुपैयाँ थियो । कर्जा नोक्सानी व्यवस्थामा करिब ७ करोड ८९ लाख रुपैयाँ कमी आए पनि बैंकको सञ्चालन मुनाफा ४.३४ प्रतिशतले घटेर ३४ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ ।
पीई रेसियो २८.६२ गुणा
नाफा र प्रतिसेयर आम्दानी घटिरहेका बेला बैंकको सेयर मूल्यांकन भने तुलनात्मक रूपमा महँगो देखिएको छ । पहिलो त्रैमासको वित्तीय विवरणमा प्रतिसेयर अन्तिम कारोबार मूल्य ४१५ रुपैयाँ र वार्षिकीकृत ईपीएस १४ रुपैयाँ ५० पैसा हुँदा मूल्य आम्दानी अनुपात (पीई रेसियो) २८.६२ गुणा कायम भएको छ ।

गरिमा विकास बैंकको घट्दो नाफा, ४.८१ प्रतिशत खराब कर्जा र १४ रुपैयाँ ५० पैसा प्रतिसेयर आम्दानीका बीच २८.६२ गुणा पीई रेसियो कायम हुनुले बैंकको सेयर मूल्यांकन तुलनात्मक रूपमा महँगो देखिएको छ । लगानीकर्ताले एउटा शेयर ४१५ रुपैयाँमा किन्दा बैंकले त्यसको प्रतिफल वार्षिक १४ रुपैयाँ १५ पैसा मात्र कमाइरहेको छ । 
यस हिसाबले  ४१५ रुपैयाँ बराबरको रकम बैंकको प्रतिसेयर आम्दानीबाट मात्रै फिर्ता हुन करिब २८.६२ वर्ष लाग्ने देखिएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ६८ पैसा छ । यस आधारमा ४१५ रुपैयाँको सेयर मूल्य नेटवर्थको तुलनामा करिब २.६६ गुणा हुन्छ । अर्थात् बैंकको एक रुपैयाँ किताबी मूल्यका लागि बजारले २ रुपैयाँ ६६ पैसा मूल्यांकन गरेको छ ।
वितरणयोग्य नाफा ८ करोडमा सीमित
बैंकको वितरणयोग्य नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ३२ लाख ७८ हजार रुपैयाँ मात्रै रहेको छ । यसले आगामी दिनमा लाभांश वितरण गर्न सक्ने क्षमतामा दबाब देखाउँछ । बैंकले लेखांकनमा खुद नाफा कमाए पनि नियामकीय व्यवस्था र अन्य समायोजनपछि सेयरधनीलाई वितरण गर्न उपलब्ध हुने रकम निकै सीमित रहेको छ ।
बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) १०.७१ प्रतिशतबाट घटेर ९.१५ प्रतिशतमा झरेको छ । कुल सम्पत्तिमा प्रतिफल (आरओए) पनि ०.९६ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा सीमित भएको छ । यी सूचकले बैंकले सेयरधनीको पुँजी र आफ्नो सम्पत्तिबाट प्राप्त गर्ने प्रतिफल क्षमतामा कमी आएको देखाउँछन् ।
निक्षेप र कर्जा बढे पनि आम्दानीमा भएन सुधार 

बैंकले व्यवसाय विस्तार भने जारी राखेको छ । असोज मसान्तसम्म ग्राहक निक्षेप १ खर्ब १ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा निक्षेप ३.११ प्रतिशतले बढेको हो । त्यस्तै कर्जा प्रवाह २.५७ प्रतिशतले बढेर ८० अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेपको लागत ४.४२ प्रतिशतबाट घटेर ३.४६ प्रतिशत र आधार दर ६.३९ प्रतिशतबाट घटेर ५.१८ प्रतिशतमा झरेको छ । तर औसत ब्याजदर अन्तर (स्प्रेड) पनि ४.५९ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा सीमित भएको छ । 
बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ छ । पुँजी पर्याप्तता अनुपात १२ . ८४ प्रतिशत र तरलता अनुपात २५ . ९१ प्रतिशत रहेको छ ।
समग्रमा गरिमा विकास बैंकको निक्षेप र कर्जा विस्तार सकारात्मक देखिए पनि त्यसअनुसार आम्दानी र नाफा बढ्न सकेको छैन । खराब कर्जा बढ्नु, नोक्सानी व्यवस्थाको कभरेज घट्नु, ईपीएस र प्रतिफलका सूचक कमजोर हुनु तथा वितरणयोग्य नाफा सीमित रहनुले बैंकका लागि आगामी यात्रा चुनौतीपूर्ण रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्