काठमाडौं । सेयर बजारमा अब लगानीकर्ताले एउटै कारोबार दिनभित्र सेयर किनेर बेच्न वा पहिले बिक्री गरेर पछि खरिद गरी कारोबार टुंग्याउन सक्ने व्यवस्था ल्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार (इन्ट्रा डे ट्रेडिङ) सञ्चालन गर्न नियमावली, २०८३ को प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालासँग राय तथा सुझाव मागेको छ ।
प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा हालको जस्तो सेयर खरिद गरेपछि बिक्री गर्न अर्को कारोबार दिन कुर्नुपर्ने अवस्थाको सट्टा लगानीकर्ताले बजारमा हुने दैनिक मूल्य उतारचढावबाटै नाफा कमाउने अवसर पाउनेछन् । तर, मूल्य घट्दा छोटो समयमै ठूलो नोक्सानी व्यहोर्नुपर्ने जोखिम पनि उत्तिकै हुनेछ । त्यसैले यो सुविधा सबै लगानीकर्तालाई स्वतः उपलब्ध हुने छैन । लगानीकर्ताको आर्थिक क्षमता, कारोबार अनुभव र जोखिम वहन गर्न सक्ने अवस्थाको मूल्यांकनपछि मात्र ब्रोकरले यस्तो सुविधा दिने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
बोर्डले गत असोज ८ गते सार्वजनिक गरेको ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ का आधारमा नियमावलीको मस्यौदा तयार पारेको हो । अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीतिगत कार्यक्रमले पनि अन्तरदिवसीय कारोबार कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन् । मस्यौदामाथि आगामी मंसिर ४ गतेभित्र सुझाव दिन बोर्डले आग्रह गरेको छ ।
एकै दिनमा कसरी हुन्छ कारोबार ?
अन्तरदिवसीय कारोबार भनेको एउटै कारोबार दिनभित्र कुनै कम्पनीको सेयर खरिद र बिक्री अथवा पहिले बिक्री गरेर पछि खरिद गरी कारोबारको अवस्था बन्द गर्ने प्रक्रिया हो । यसमा लगानीकर्ताले सेयरको दीर्घकालीन मूल्यवृद्धि पर्खनुपर्दैन । बजारमा केही घण्टाभित्र हुने मूल्य परिवर्तनबाटै नाफा कमाउने प्रयास गर्न सक्छन् ।
अन्तरदिवसीय कारोबारमा लगानीकर्ताले गरेको कारोबारको खुला अवस्था (ओपन पोजिसन) सोही दिन बन्द गर्नुपर्नेछ । तोकिएको समयभित्र कारोबार बन्द नगरेमा प्रणालीबाट स्वतः बन्द (अटो स्क्वायर अफ) गरिने प्रस्ताव छ । यसरी स्वतः बन्द हुँदा बजारमा उपलब्ध मूल्यअनुसार नाफा वा नोक्सानी हुन सक्छ । त्यसबाट उत्पन्न शुल्क तथा अन्य दायित्वसमेत लगानीकर्ता स्वयंले बेहोर्नुपर्नेछ ।
लगानीकर्तालाई के फाइदा, के जोखिम ?
अन्तरदिवसीय कारोबारको सबैभन्दा ठूलो आकर्षण छोटो अवधिको मूल्य उतारचढावबाट आम्दानी गर्न सकिने अवसर हो । अहिलेको कारोबार प्रणालीमा सेयर खरिद गरेपछि मूल्य बढ्न पर्खनुपर्ने हुन्छ । तर नयाँ व्यवस्थाले बजारको दैनिक उतारचढावलाई नै कारोबारको अवसरमा बदल्न सक्छ ।
यसले सक्रिय लगानीकर्तालाई एउटै दिनमा पटकपटक कारोबार गर्ने अवसर दिन सक्छ । सेयरमा लामो समयसम्म रकम रोकिराख्नुपर्ने अवस्था कम हुन सक्छ ।
तर यसलाई सहज आम्दानीको माध्यमका रूपमा बुझ्नु गलत हुनेछ । अन्तरदिवसीय कारोबारमा मूल्यको सानो परिवर्तनले पनि ठूलो नाफा वा नोक्सानी गराउन सक्छ । विशेषगरी मार्जिनमा आधारित कारोबार गर्दा लगानीकर्ताले आफ्नो वास्तविक पुँजीभन्दा ठूलो परिमाणको कारोबार गर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा मूल्य आफ्नो अनुमानविपरीत गएमा प्रारम्भिक लगानीको ठूलो हिस्सा गुम्न सक्छ ।
सबै सेयरमा लागू हुँदैन, छनोट भएका कम्पनीमा मात्रै
मस्यौदाले प्रारम्भिक चरणमा सबै सूचीकृत कम्पनीको सेयरमा अन्तरदिवसीय कारोबार खुला गर्ने प्रस्ताव गरेको छैन । तरलता, दैनिक कारोबार परिमाण, बजारमा उपलब्ध सेयरको संख्या, मूल्यमा हुने उतारचढाव, बजार पुँजीकरण, संस्थागत सुशासन र कम्पनीको वित्तीय अवस्थालगायतका आधारमा योग्य धितोपत्र छनोट गरिनेछ ।
नेपाल स्टक एक्सचेन्जले योग्य धितोपत्रको सूची प्रकाशित गर्ने र आवश्यकताअनुसार कुनै कम्पनीको सेयरलाई सूचीबाट हटाउन वा कारोबारमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसैगरी, अन्तरदिवसीय कारोबार सञ्चालन गर्न नेप्से र धितोपत्र दलाल व्यवसायीले धितोपत्र बोर्डबाट छुट्टै स्वीकृति लिनुपर्नेछ । आवश्यक प्राविधिक प्रणाली, वास्तविक समयको जोखिम अनुगमन र नियन्त्रण व्यवस्था तयार नगरेका ब्रोकरले यस्तो कारोबार सञ्चालन गर्न पाउने छैनन् ।
ब्रोकरले लगानीकर्ताको क्षमता परीक्षण गर्ने
प्रस्तावित नियमावलीअनुसार अन्तरदिवसीय कारोबार गर्न चाहने प्रत्येक लगानीकर्ताको आर्थिक तथा व्यावसायिक पृष्ठभूमि परीक्षण गरिनेछ । ब्रोकरले ग्राहकको पहिचान, वार्षिक आम्दानी, लगानी अनुभव, वित्तीय क्षमता, जोखिम वहन गर्न सक्ने अवस्था र लगानीको उद्देश्य मूल्यांकन गर्नुपर्नेछ । मस्यौदामा लगानीकर्ताको उपयुक्तता परीक्षणका लागि छुट्टै फारामको व्यवस्था गरिएको छ । यसमा लगानीकर्तासँग उपलब्ध आपतकालीन रकम, सेयर बजारमा लगानी गरेको अनुभव, जोखिमसम्बन्धी ज्ञान र २० प्रतिशतसम्म नोक्सानी हुँदा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने विषयसमेत समेटिएको छ ।
मार्जिन र कारोबार सीमाले जोखिम नियन्त्रण
अन्तरदिवसीय कारोबारमा लगानीकर्ताले आवश्यक मार्जिन रकम कायम गर्नुपर्नेछ । बजार मूल्यमा परिवर्तन हुँदा मार्जिनको पुनर्मूल्यांकन गर्न सकिने र रकम अपुग भएमा थप मार्जिन माग गर्ने व्यवस्था मस्यौदामा छ ।
लगानीकर्ताले गर्न पाउने कारोबारको अधिकतम सीमा (एक्सपोजर) पनि निर्धारण गरिनेछ । यस्तो सीमा लगानीकर्ताको वित्तीय क्षमता, मार्जिन, कारोबार भइरहेको धितोपत्रको तरलता र बजार जोखिमका आधारमा तय हुनेछ । ब्रोकर, व्यक्तिगत धितोपत्र र समग्र बजारका लागि समेत छुट्टाछुट्टै सीमा तोक्न सकिनेछ ।
तोकिएको सीमा नाघेमा नयाँ खरिदबिक्री आदेश अस्वीकार गर्ने, थप मार्जिन माग गर्ने वा खुला कारोबारको अवस्था घटाउने र बन्द गर्नेजस्ता उपाय अपनाइनेछन् । यसले लगानीकर्तालाई क्षमताभन्दा बढी कारोबार गर्नबाट रोक्ने उद्देश्य राखे पनि मार्जिन कायम गर्न नसक्ने अवस्थामा लगानीकर्ताले घाटामै सेयर बिक्री गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्छ । विशेषगरी बजारमा तीव्र गिरावट आएको समयमा धेरै लगानीकर्ताको कारोबार एकैपटक स्वतः बन्द भएमा बिक्रीको चाप थप बढ्न सक्ने जोखिमसमेत रहन्छ ।
ब्रोकरका लागि २० करोड चुक्ता पुँजीको सर्त
अन्तरदिवसीय कारोबार सञ्चालन गर्न चाहने धितोपत्र दलाल व्यवसायीका लागि मस्यौदाले न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजीको सर्त प्रस्ताव गरेको छ । त्यस्तै, नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने, जोखिम व्यवस्थापन प्रणाली सञ्चालनमा रहेको हुनुपर्ने, दक्ष जोखिम व्यवस्थापन अधिकारी नियुक्त गर्नुपर्ने र आन्तरिक नियन्त्रण तथा अनुपालन प्रणाली लागू गरेको हुनुपर्ने व्यवस्था छ ।
ब्रोकरले कारोबार आदेश, मार्जिन, खुला अवस्था र जोखिमको वास्तविक समयमै अनुगमन गर्न सक्ने प्रणाली विकास गर्नुपर्नेछ । ग्राहकको कारोबार विवरण सुरक्षित राख्ने, प्रणालीमा अनधिकृत पहुँच रोक्ने, साइबर सुरक्षा कायम गर्ने र प्राविधिक समस्या आएमा सेवा निरन्तरता दिन सक्ने व्यवस्था पनि अनिवार्य गरिनेछ ।