नेभिगेशन
खेलकुद

खेलकुद मन्त्रीको फोनले फूटबल संघ हल्लियो

काठमाडौं । नेपालको खेल इतिहासमा प्रायः मन्त्रीहरू कागजमा सीमित रहँदै आएका छन् । तिनलाई खेलाडीको गुनासो सुन्ने फुर्सद हुँदैन । एन्फा वा अन्य संघका पदाधिकारीहरूको जवाफदेही माग्ने आँट हुँदैन । तर, नयाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले भने पदभार सम्हालेको दुई दिनमै मैदानमा होइन, फोनमा उत्रिएका छन्, सिधै एन्फा महासचिवलाई फोनमा जवाफदेही खोज्दै ।

सोमबार राति भारतमाथि जीत हासिल गरेको राष्ट्रिय महिला फुटबल टिम सिक्किममा हुने खेलका लागि यात्रा गर्दै थियो । त्यही समयमा खेलाडीहरूले पर्याप्त खानपान र आराम नपाएको गुनासो सामाजिक सञ्जालमा पोखियो । त्यसको भोलिपल्ट मन्त्री गुप्ताले गाडीमै ह्यान्ड्सफ्री राखी एन्फा महासचिव किरण राईलाई स्पष्टीकरण सोधे ।

त्यो टेलिफोन संवाद अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त संवादले नेपालमा खेल प्रशासनमाथि नयाँ बहस सुरु गरिदिएको छ, मन्त्रीले यस्तो गर्न मिल्छ ? कि गर्नैपर्छ ? सार्वजनिक भएको भाइरल भिडियोमा मन्त्री गुप्ता आक्रोशित स्वरमा राष्ट्रिय खेलाडीप्रति कर्तव्य रहने र तिनको खानेकुरा, बस्ने व्यवस्थालगायतका कुरा मिलिसकेपछि बल्ल टिम पठाउने हो भनी सोध्छन् ।

मन्त्री गुप्ताको प्रश्नमा तिखोपन देखिए पनि किरण राईलाई मात्र होइन, यो त नेपाली खेल प्रशासनको पुरानो सुस्त प्रवृत्तितर्फ लक्षित देखिएको हो । जवाफमा महासचिव राईले फोनमा भारतीय फूटबल संघले यसको व्यवस्था मिलाउनुपर्ने जवाफ दिन्छन् ।

यसरी देखिएका समस्यामाथि सिधै मन्त्रीले फोन गरेर यस किसिमको प्रणालीमाथि विचार गर्नुपर्ने धारणा राखेर कागज हेर्ने मन्त्रीभन्दा पनि सिधै अधिकारीहरूसँग जिम्मेवारी माग गरेको पहिलो पटक देखिएको हो ।

गल्ती बारम्बार

नेपालको महिला टिमले पछिल्लो समय मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भए पनि खेलभन्दा बढी चर्चा फेरि ‘व्यवस्थापन’ले पाएको छ ।

खेलाडीहरूले खान नपाउने, आरामको समय नपाउने र भ्रमण तालिका अस्पष्ट हुनेजस्ता यो पहिलो घटना भने होइन । तीन महिनाअघि उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोटका बेला प्रशिक्षक र व्यवस्थापकबीच मैदानमै झगडा भएको थियो । त्यसपछि प्रशिक्षक प्याट्रिय डी वाइल्डले नेपाल छोडेका थिए । त्यो बेला पनि एन्फाको आलोचना भएको थियो, तर प्रवृत्तिमा सुधार देखिएको थिएन ।

यतिबेला भारतमा उही गल्ती दोहोरिएको छ । यसपछि मन्त्री गुप्ताले फोनको घण्टी बजाए । गुप्ता मन्त्री भएलगत्तै भएको पदभार ग्रहणमा सबै खेल संघका बैठकहरू ‘लाइभ गर्नुपर्ने’ आदेश दिएका थिए । त्यसपछि उनले एन्फा महासचिवसँगको वार्ता पनि रेकर्ड गरेर सार्वजनिक गरे ।

कसैले उनलाई ‘कडा र इमानदार मन्त्री’ भन्दै प्रशंसा गरेका छन् भने केहीले यसलाई मन्त्री गुप्ताको नयाँ प्रकारको पब्लिसिटी स्टन्ट हो भनेका छन् । केहीले भने मन्त्री गुप्ताको फोनले खेल प्रशासनमा डरको माहोल बनेको छ । अब कुनै पनि अधिकारीले ‘जानकारी छैन’ भनेर उम्कन सक्ने अवस्था नरहने देखिएको छ ।

जेनजी आन्दोलनपछि नयाँ शैली

गत भदौमा भएको जेन्जी आन्दोलनले पुरानो सरकार ढाल्यो । त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पारदर्शिता र जवाफदेहीतालाई पहिलो प्राथमिकता दिनुपर्ने दबाब थियो । मन्त्री गुप्ताले आफ्नो काम देखाउनै राम्रो काम गरेको बताएका छन् । तर विश्लेषकहरूले भने एन्फामा व्यवस्थापनका संरचना फेरि नबदलिँदासम्म यस्ता घटनाहरू दोहोरिने सम्भावना प्रबल छ ।

यो घटनाले एउटा गहिरो प्रश्न उठाएको छ, राष्ट्रिय टिमको इज्जतको जिम्मा कसको ? यदि विदेशी संघले खेलाडीको खानपान र तालिका तय गर्छ भने, नेपालको एन्फाले के गर्छ ? मन्त्रीको फोनले समस्या समाधान त गरेको छैन, तर यसले समस्या लुकाउने बानीलाई भने भत्काएको छ । मन्त्री गुप्ताको फोनले अब खेल प्रशासन लापरवाह हुन पाउँदैन भन्ने सन्देश दिनुका साथै पारदर्शिता कागजमा मात्र नभई व्यवहारमा देखिनुपर्ने देखाएको छ ।

मन्त्री गुप्ताको भाइरल भिडियोको सन्देशले उनी लोकप्रियताका लागि काम गरिरहेका छन् कि वास्तविक सुधारका लागि, त्यो भने समयले देखाउनेछ । तर अहिलेका लागि भने नेपालका खेल अधिकारीहरूबीच कुन बेला मन्त्रीको फोन बज्ला भन्ने आतंक भने मच्चिएको देखिएको खेल विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्