काठमाडौं (संवाददाता)– सरकारले भदौ २३ र २४ को प्रदर्शनका क्रममा काठमाडौं लगायत देशका विभिन्न भागमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको हो । 
सहिद परिवारलाई सरकारले १० लाख रुपैयाँ र थप ५ गरी १५ लाख रुपैयाँ दिने यस अघि निर्णय गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको जानकारी गराएका छन् । ‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय भएको छ,’ उनले भने । सरकारले ४५ जना कुन मापदण्डअनुसार सहिद बनाएको भन्ने बारेमा स्पष्ट पारिसकेको छैन । 
भ्रष्टाचार, बेथितिविरुद्ध भदौ २३ गते गरेको जेनजी पुस्ताको प्रदर्शनको क्रममा सरकारले बर्बर दमन गर्दा १९ जनाको ज्यान गएको थियो । नेपाली सेनाको तथ्यांक अनुसार जेनजी आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, तीनजना प्रहरी मारिएका थिए । विभिन्न कारागारबाट भाग्ने क्रममा १० जना कैदीको मृत्यु भएको र अन्य ४१ जनाको ज्यान गएको तथ्यांक सेनाले सार्वजनिक गरेको थियो । भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत, मुख्य–मुख्य नेताका घर, भाटभटेनी सुपरमार्केटहरु, होटल हिल्टनलगायतका संरचनामा प्रदर्शनकारीले तोडफोड, लुटपाट र आगजनी गरेका थिए । लुटपाट, तोडफोड र आगो लगाउने क्रममा पनि कतिपयको मृत्यु भएको थियो । 
यी हुन् घोषणा गरिएका सहिद
सरकारले सहिद घोषणा गरेकामध्ये बुद्धिबहादुर तामाङ    (कीर्तिपुर–२, काठमाडौं), सन्तोष विश्वकर्मा (बेलका–४ उदयपुर), सुलभराज श्रेष्ठ (नेपालगञ्ज–१ बाँके), श्रीयम चौलागाईं (बेलबारी–११ मोरङ), ईस्वतबहादुर अधिकारी (कामपा–११ काठमाडौं), आयुष थापा (नेपालगञ्ज–१ बाँके), गौरब जोशी    (धनगढी–५ कैलाली), योगबहादुर श्रेष्ठ (बाह्रबिसे–६ सिन्धुपाल्चोक), माधव सारू मगर    (भूमिकास्थान–४ अर्घाखाँची), विमलबाबु भट्ट (बारपाक सुलिकोट–५ गोरखा), असहाव आलम ठकुराई (वीरगंज–१२ पर्सा), सौरन किशोर श्रेष्ठ    (बानपा–४ बागलुङ), सुभाषकुमार बोहरा (खप्तडछान्ना–७ बझाङ), रसिक खतिवडा खत्री (पनौती–१० काभ्रे), विनोद महर्जन (लनपा–७ ललितपुर), दिलनारायण तामाङ    (तिमाल–७ काभ्रे), योगेन्द्र न्यौपाने (गोलन्जोर–१ सिन्धुली), अभिषेक श्रेष्ठ (इनरुवा–६ सुनसरी), मोहन सरदार (इटहरी–१४ सुनसरी), छत्रमान कुथुमी (पाख्रीबास–२ धनकुटा), ओझन बुढा (स्वामीकार्तिक खापर–२ बाजुरा), साजन राई (धरान–२२ सुनसरी), अनिश पराजुली (पालुङटार–३ गोरखा), सारकुमार राई    (चौदन्डीगढी–३ उदयपुर), अर्जुन भट्ट (गण्डकी–४ गोरखा), धीरज श्रेष्ठ (तादी–३ नुवाकोट), देवकुमार सुवेदी    (लालबन्दी–५ सर्लाही), उमेश महत (चौतारा साँगाचोक–८ सिन्धुपाल्चोक), प्रवीण कुलुङ (सिलिचुङ–३ संखुवासभा), निखिता गौतम(कालिका–८ चितवन), अभिषेक चौलागाई (शैलुङ–४ दोलखा), विजय चौधरी (लहान–१५ सिरहा), भीमराज धामी (दुर्गाथली–१ बझाङ), निरज पन्त (दशरथ–६ बैतडी), दीपक सिंह साउद (शिवनाथ–२ बैतडी), शुभराज बलामी श्रेष्ठ (ककनी–१ नुवाकोट), ज्ञानिन्द्र सेढाई (अर्जुनधारा–११ झापा), दीनेश राजवंशी    (अर्जुनधारा–८ झापा), कमल भण्डारी (हिलिहाङ–२ पाँचथर), दीपेश सुनुवार (तिनपाटन–६ सिन्धुली), महेश बुढाथोकी (बिगु–३ दोलखा), लच्छुमान राई (पञ्चकन्या–२ नुवाकोट), मिलन राय (दुधौली–८ सिन्धुली), अमृत गुरुङ (रुपा–५ कास्की), उत्तम थापा (लेकाम–३ दार्चुला) का छन् । 
सरकारका अन्य निर्णय
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको छ । 
सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताएका छन् ।