नेभिगेशन
राजनीति

कांग्रेसमा महाधिवेशन टार्ने संस्थापन रणनीति, थापा प्रस्तावलाई यादवको कार्ययोजनाको काउन्टर

प्रतिनिधि सभा निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन टार्ने संस्थापनको रणनीतिमा सुधार चाहने पक्षले महामन्त्री थापालाई साथ दिएका छन्, तर केन्द्रीय कार्यसमितिमा संस्थापनको बहुमत छ  

संवाददाता
काठमाडौं, कात्तिक १८  
नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद अझ बढेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग–अलग कार्यतालिका प्रस्तुत गरेपछि पार्टीमा संस्थापन र सुधारवादी धारको दुरी अझ फराकिलो बनेको हो । 

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन् । उनले मंसिर १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र नया“ वितरण, मंसिर १३ गतेसम्म नया“ सदस्यताको प्रारम्भिक छानबिन, र मंसिर २० भित्र छानबिन टुंग्याउने कार्यतालिका प्रस्ताव गरे ।

थापाको प्रस्ताव अनुसार मंसिर २४ मा क्रियाशील सदस्यता निर्वाचन समितिलाई बुझाउने, मंसिर २७ मा ६ हजार ७ सय ४३ वडाको अधिवेशन र पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने योजना छ ।

उनले त्यसपछि पालिका, प्रदेश क्षेत्र, दुई निर्वाचन क्षेत्र भएका जिल्ला र सातै प्रदेशका अधिवेशन सम्पन्न गरी केन्द्रको महाधिवेशन गर्नुपर्ने उल्लेख गरे । थापाको भनाइमा, ‘क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्र केन्द्रको अधिवेशन गर्ने बाटो खुल्छ ।’ उनका अनुसार महाधिवेशनका प्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रस्ताव गरिएको छ ।

तर सहमहामन्त्री महेन्द्र यादवले भने थापाको प्रस्तावको ठ्याक्कै विपरीत टाइमलाइन  प्रस्तुत गर्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखे । यादवको कार्यतालिका संस्थापन पक्षको रणनीति अन्तर्गत आएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्न नचाहने संस्थापन पक्षले सहमहामन्त्री यादवमार्फत वैकल्पिक कार्यतालिका प्रस्तुत गरेको हो ।

यादवले वैशाख २७–२९ केन्द्रीय महाधिवेशन, मंसिर १० गतेसम्म नवीकरण, पुस ५ गते नया“ वितरण, पुस २० गते क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, चैत १ मा वडा अधिवेशन, चैत ५ मा पालिका अधिवेशन, चैत १२ मा प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० मा संघीय क्षेत्रीय अधिवेशन, चैत ३० मा जिल्ला अधिवेशन र वैशाख १५ मा प्रदेश अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार संस्थापन पक्षको उद्देश्य थापाको प्रस्ताव बहुमतले अस्वीकृत गराउने र महाधिवेशनलाई ढिलाइतर्फ धकेल्ने हो । थापाको प्रस्तावलाई भने संस्थापनइतर समूहले पूर्ण समर्थन गरेको छ । उनीहरूका अनुसार कांग्रेसलाई सक्रिय, जिम्मेवार र समयमै नेतृत्व चयन गर्ने पार्टीका रूपमा स्थापित गर्न पुसमा महाधिवेशन अपरिहार्य छ । केन्द्रीय कार्यसमितिमा भने अहिले पनि संस्थापन पक्षको बाहुल्यता भएकाले थापाको प्रस्ताव पारित हुने सम्भावना कमजोर देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्