नेभिगेशन
राजनीति

निर्वाचन आयोगमा एकैदिन चार दल नयाँ दर्तामा

संवाददाता-काठमाडौं, कात्तिक २२
निर्वाचन आयोगमा शुक्रबार मात्रै चारवटा दल दर्ताको लागि निवेदन दर्ता भएका छन् । योसँगै दर्ताको क्रममा निर्वाचन आयोगमा निवेदन पेश गर्नेहरुको संख्या २४ पुगेका छन् । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अध्यक्ष भएको ‘श्रम संस्कृति पार्टी’ले दलको प्रमाणपत्र पाइसकेको छ । निर्वाचन आयोगमा यस अघि दर्ताका लागि पुगेका दलको आवश्यक कागजात परीक्षणको प्रक्रियामा रहेको बताएको छ । कागजात पूरा भए ४५ दिनभित्र दल दर्ता प्रमाणपत्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगका अनुसार नयाँ दल दर्ताको प्रक्रिया बुझ्न पुग्नेहरुको संख्या बढ्दोछ ।

निर्वाचन आयोगमा १२५ वटा दल अद्यावधिक छन् । निर्वाचन आयोगमा दल दर्ता गरेर मात्रै पुग्दैन वर्षेनी अद्यावधिक गरिरहनुपर्ने कानूनी व्यवस्था छ । यो संख्या जेनजी विद्रोहभन्दा अगाडिकै हो । निर्वाचन आयोगका अनुसार भदौ २३ र २४ पछि विहीबारसम्म २४ वटा दल दर्ताको लाइनमा थपिएका हुन् । हालसम्म आधिकारिक दलको प्रमाणपत्रको लागि दुई दर्जन थपिँदा देशमा १४८ वटा राजनीतिक दल हुनेछन् । 

शुक्रबार योगेन्द्र मण्डलको नेतृत्वमा ‘ऊर्जाशील पार्टी’ नामक दल दर्ताको निवेदन दिइएको छ । सोही दिन दिइएको अर्को निवेदनमा चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा ‘सुन्दर नेपाल निर्माण पार्टी’, सविन सिग्देलको नेतृत्वमा ‘राष्ट्र निर्माण पार्टी’ र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा ‘नागरिक सर्वोच्चता पार्टी नेपाल’ नामसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन पुगेको हो । 
 
खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ नामको दल दर्ताको लागि यसअघि नै निवेदन पुगेको छ । सुनार नेतृत्वको पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने ‘लाइक’ चिह्न प्रस्ताव गरिएको छ । त्यसैगरी नवराज सुवेदीको नेतृत्वमा ‘जनयुग पार्टी’ दर्ताको निवेदन आयोगमा दर्ता भैसकेको छ । 

दल दर्ताका लागि निश्चित कागजातहरु पेश गर्नुपर्ने कानूनी प्रावधान छ । दल दर्ताका लागि विधान, दलको नियमावली, घोषणापत्र, पार्टीको केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिबद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । 

निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनअघि नै नौ वटा दलले दल दर्ताका लागि निवेदन दिएका थिए । जेनजी पुस्ताको आन्दोलनपछि १५ वटा दल दर्ताको निवेदन परेको हो । जेनजी पुस्ताको विद्रोहपछि नयाँ राजनीतिक दल खोल्ने क्रम बढिरहेको छ । पुराना दलसँग असन्तुष्टिसहित आक्रोशमा जन्मेको जेनजी पुस्ताको विद्रोहपछि पनि राजनीतिक दल दर्तामा मोह देखिएको हो । 

यस अघि ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामको पार्टी दर्ताका लागि चौधरी आफ्ना सहकर्मीसँग निर्वाचन आयोगमा दर्ताको लागि विवरण पेश गरिसकेका छन् । नेकपा माओवादी केन्द्रबाट बाहिरिएको विप्लव समूहले ‘कम्युनिष्ट पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरिसकेका छन् । 

दशैंअघिदेखि थालिएको दर्तामा शुक्रबारसम्म २४ वटा निवेदन प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । नयाँ दर्ताका लागि बुझाइएका कागजात अध्ययन गरेर प्रक्रिया पूरा गरी प्रमाणपत्र दिने उनले बताए । 

‘आयोगमा यसअघि नै १२५ दल अद्यावधिक थिए । हालसम्म २४ वटा दल दर्ताका लागि विवरण पेश भएका छन्,’ उनले भने, ‘चुनाव घोषणा हुनुअघि नै दल दर्ताको निवेदन प्राप्त भएको थियो ।’ निर्वाचन आयोगले दललाई कानूनअनुसार सनाखत गराउने, विवरण जाँचबुझ गर्ने प्रक्रियामा रहेको जनाएको छ । कागजात पूरा भएकालाई दललाई दर्ता गरी प्रमाणपत्र दिने कानूनी व्यवस्था छ । संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि निश्चित सर्तहरू तोकेका छन् ।

फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मंसिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले