नेभिगेशन
राजनीति

आर्थिक बहसको मञ्चबाट प्रधानमन्त्री कार्कीले भनिन् ‘घुसखोरी र कमिसनको सञ्जाल सह्य छैन’

जेनजी आन्दोलनले युवाको सन्देश स्पष्ट गरेको छ – सुशासन, इमानदारी र नीतिगत सुधार अपरिहार्य छ

उद्योगी व्यवसायीहरू देशका आर्थिक इन्जिन हुन्, उनीहरूको आत्मविश्वासबिना अर्थतन्त्र उठ्न सक्दैन

सरकारले रेमिट्यान्स–केन्द्रित मोडेलबाट उत्पादनमुखी अर्थनीतितर्फ मोडिँदै रोजगारी, लगानी र स्थायित्वका लागि नीति सुधार गरिरहेको छ

संवाददाता–काठमाडौं, कात्तिक २२ 
प्रधानमन्त्री सुशीला कार्कीले देशको आर्थिक दिशा अब पारदर्शिता, इमानदारी र सहकार्यका जगमा निर्माण हुने बताएकी छन् । उनले स्पष्ट शब्दमा भनिन् – ‘घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब कुनै हालतमा सह्य छैन ।’

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा सम्बोधन गर्दै कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको राजनीतिलाई नयाँ दिशामा पु¥याएको बताइन् । उनले भनिन्, ‘यो आन्दोलनले युवाले के स्वीकार्छन् र के अस्वीकार गर्छन् भन्ने खुला सन्देश दिएको छ ।’

कार्कीले भनिन्, ‘जेनजी आन्दोलनले नेपाललाई एउटा नयाँ म्यान्डेट दिएको छ – घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब असह्य छ । लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन । इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरूलाई पोस्ने अवस्था अब रहनु हुँदैन ।’

युवाको सन्देश र सरकारको जवाफ
कार्कीले जेनजी आन्दोलनलाई देशको इतिहासमा आर्थिक र नैतिक पुनर्जागरणका रूपमा व्याख्या गरिन् । उनले भनिन्, ‘देशका युवाले अब असमानता, बेरोजगारी र नीतिगत भ्रष्टाचार सह्य छैन भनेर बताइसकेका छन् । यो युवापुस्ताको म्यान्डेट हो, जसले सरकारलाई नयाँ सोच र नयाँ नीति बनाउने प्रेरणा दिएको छ ।’

आन्दोलनका क्रममा केही समूहले औद्योगिक क्षेत्रमा गरेको क्षतिप्रति उनले दुःख प्रकट गरिन् । प्रभावित निजी क्षेत्रलाई तत्काल राहत र सहयोग दिलाउने प्रतिबद्धता पनि जनाइन् । उनले भनिन्, ‘उद्योगी व्यवसायीहरू देशका आर्थिक इन्जिन हुन् । उनीहरूलाई सुरक्षित र आत्मविश्वासपूर्ण वातावरण दिन सरकार कुनै कसर बा“की राख्दैन ।’

अर्थतन्त्रको वास्तविकता : संक्रमण र रूपान्तरण
प्रधानमन्त्री कार्कीले देशको अर्थतन्त्र हाल संरचनागत कमजोरी र पुँजी पलायनको दबाबमा रहेको बताइन् । उनले भनिन्, ‘रेमिट्यान्स, पर्यटन र प्राकृतिक स्रोतमा आधारित हाम्रो अर्थतन्त्र बलियो देखिए पनि उत्पादनमूलक क्षेत्रमा लगानी नबढ्दा र युवाशक्ति विदेशिन बाध्य हुँदा आर्थिक चक्र कमजोर बनेको छ ।’

आज रूपान्तरणको प्रसव पीडाबाट गुज्रिरहेको अर्थतन्त्रमाथिको  चुनौती आत्मविश्वास र सुशासनले मात्रै पार गर्न सकिने उनले बताइन् । कार्कीले विगत दुई दशकमा नेपालले सशस्त्र द्वन्द्व, भूकम्प, महामारी र प्राकृतिक विपद्को सामना गरे पनि अहिलेको चुनौती नैतिक र संस्थागत रहेको बताइन् । उनले देशको मुख्य समस्या विश्वासको संकट भएको उल्लेख गर्दै राज्य, निजी क्षेत्र र नागरिकबीच नयाँ सहकार्यको सूत्र आवश्यक रहेकोमा जोड दिइन् ।

निजी क्षेत्रः राष्ट्रको आर्थिक मेरुदण्ड
कार्यक्रममा प्रधानमन्त्री कार्कीले उद्योगी, व्यवसायी र श्रमिकलाई राष्ट्रनिर्माणका इन्जिन, इन्जिनियर र इन्धनको रूपमा चित्रण गरिन् । उनले भनिन्, ‘नेपाल निर्माणका इन्जिनियर नेपाली जनता हुन्, समाज र सरकार इन्जिन हुन् र उद्यमी, व्यवसायी तथा श्रमिक इन्धन हुन् ।’

उनले जोड दिइन्, ‘उद्योग व्यवसायबिना देश बन्न सक्दैन । उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन । सरकार अब कर संकलनको मात्र होइन, उद्योगीको आत्मविश्वास पुनःस्थापनाको जिम्मेवारी पनि बोकेको छ ।’

सुशासन आर्थिक वृद्धिको पूर्वसर्त भएको बताउँदै उनले भनिन्, ‘राज्यको सम्पत्तिमाथि राजनीतिक आवरणमा हुने दुरुपयोग र निजी क्षेत्रमाथिको अविश्वास अन्त्य गर्न सरकार दृढ छ । राज्य र निजी क्षेत्रबीचको सम्बन्ध संशयमा होइन, साझेदारीमा टेकिनुपर्छ ।’

नीतिगत सुधार र उत्पादनमुखी अर्थनीति
कार्कीले सरकार हाल रेमिट्यान्स–केन्द्रित अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरणको तयारीमा लागेको बताइन् । उनले भनिन्, ‘हामी आफ्नै उत्पादन बढाउनेतर्फ लागेका छौं । पुँजीगत खर्च तीव्र बनाउने, बजारमा तरलता बढाउने र रोजगारी सिर्जना गर्ने हाम्रो पहिलो प्राथमिकता हो ।’

उनका अनुसार, सरकारले बैंक तथा वित्तीय क्षेत्रमा स्थायित्व ल्याउन नेपाल राष्ट्र बैंकसँग सहकार्यमा ठोस कदम चालिसकेको छ । ‘व्यवसाय गर्ने वातावरण सहज बनाउन नीतिगत जटिलता हटाउँदैछौं,’ उनले भनिन् ।

कार्कीले जलविद्युत, पर्यटन र कृषि क्षेत्रलाई देशको आर्थिक इन्जिनका रूपमा अगाडि बढाउने रणनीति लिएको बताइन् । ती क्षेत्रका लागि दीर्घकालीन लगानी प्रोत्साहनको नीति बनाउन कार्यदल गठन भइसकेको पनि उनले जानकारी दिइन् ।

सहकार्य, विश्वास र एकताको इन्धन चाहिन्छ
कार्कीले सरकारको मुख्य लक्ष्य आर्थिक समृद्धिका लागि विश्वास, एकता र सहकार्यको वातावरण बनाउनु रहेको बताइन् । उनले भनिन्, ‘भूकम्पले हाम्रो संरचना भत्कायो, तर आत्मविश्वास भत्काउन सकेन । अहिले पनि हाम्रो मन–मुटु हल्लिएका छन्, तर हामी सुधार र पुनःनिर्माणका बाटोमा अग्रसर छौं ।’

उनका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मुलुकको राजनीतिक मात्र होइन, आर्थिक स्थायित्वको पनि परीक्षा हुनेछ । ‘यो निर्वाचन लोकतन्त्रको प्रतिस्पर्धा मात्र होइन, राष्ट्रिय विश्वास र आर्थिक आस्थाको पुनर्निर्माण हो,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले देशभित्रको लगानी र उत्पादनलाई आत्मनिर्भरता अभियानको मूल आधार बनाउने आह्वान गरिन् । उनले भनिन्, ‘डराउने होइन, आत्मविश्वासका साथ अगाडि बढ्ने बेला आएको छ । आशंका र भय पाल्ने होइन, हातेमालो गर्ने बेला हो ।’

उनका अनुसार, विभिन्न अध्ययनले आगामी वर्षमा आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत देखाएका छन् । उनले भनिन्, ‘हामीले लिएको बाटो सही दिशामा छ भन्ने तथ्यांकले देखाउँछ । अब हिजोभन्दा राम्रो भोलि बनाउन हामी सबै एकजुट हुनुपर्छ ।’

कार्कीले निजी क्षेत्रका अगुवा, किसान, उद्यमी र श्रमिकलाई राज्य निर्माणका सहकार्य साझेदारका रूपमा सम्बोधन गरिन् । उनले भनिन्, ‘हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन । हामी नै अग्रसर बन्नुपर्छ । हाम्रा सन्ततिलाई यो देश बस्नलायक छ भन्ने विश्वास दिलाउने जिम्मेवारी हाम्रै हो ।’

उनले भनिन्, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै इमानदार उद्यमी र श्रमिकको पक्षमा उभिन्छ । हामी हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौं ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले