नेभिगेशन
राजनीति

कुलमान नेतृत्वमा नयाँ राजनीतिक शक्ति, मुलुकमा १८ घण्टा लामो ‘लोडसेडिङ अन्त्य’ गरेको जसलाई सक्रिय राजनीतिको भर्याङ बनाउँदै

नयाँ दल ‘नेपाल जनसेवा पार्टी’ सोमबार दर्ता हुने
नारा – उज्यालो नेपालका लागि जनसेवा पार्टी
संयोजकमा पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय प्रस्तावित
सुमना श्रेष्ठ र जितराम लामालाई नीति निर्माणको जिम्मा
बालेन शाह र सुधन गुरुङको समर्थन रहेको दाबी
उद्योगी र युवा पुस्तालाई जोड्न छलफल तीव्र 

संवाददाता–काठमाडौं, कात्तिक २१ 
ऊर्जासहित तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ दल दर्ता गरेर राजनीतिको मैदानमा उत्रिने भएका छन् । आवश्यक तयारी पूरा भएमा सोमबार नै दल दर्ता हुनेछ । दलको नाम ‘नेपाल जनसेवा पार्टी’ राखेर निर्वाचन आयोगमा निवेदन दिने तयारी छ ।

यसअघि ‘उज्यालो नेपाल पार्टी’ नाममा गृहकार्य भए पनि अन्ततः नाम परिवर्तन गरी ‘नेपाल जनसेवा पार्टी’ राखिएको स्रोतले जनाएको छ ।

दलको नारा ‘उज्यालो नेपालका लागि जनसेवा पार्टी’ तय गरिएको छ । घिसिङ निकट एक नेताका अनुसार ‘उज्यालो’ नाम अत्यधिक व्यक्ति–केन्द्रित हुने ठहरसँगै विकल्पको सुझावमा उनी सहमत भएका हुन् ।

स्रोतका अनुसार दल दर्ताको निवेदन दिन ३१ सदस्यीय प्रारम्भिक कोर टिम तयार गरिएको छ । अहिलेलाई ऊर्जामन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्याय संयोजकका रूपमा प्रस्तावित छन् । कुलमानले तत्कालै नेतृत्वदायी पद नलिने निर्णय गरेका छन् । अन्तरिम सरकारमा मन्त्री रहेकाले ‘स्वार्थको द्वन्द्व’ देखिन सक्ने भन्दै उनी चुनावको मिति नजिकिएपछि मात्र सक्रिय नेतृत्वमा आउने रणनीतिमा छन् ।

रास्वपा छाडेर स्वतन्त्र बनेकी सुमना श्रेष्ठ र एमालेबाट हालै राजीनामा दिएका जितराम लामा नयाँ दलको प्रारम्भिक नेतृत्व भूमिकामा रहने स्रोतले बताएको छ । दुवैलाई नयाँ पार्टीको सिद्धान्त र नीति तय गर्ने जिम्मेवारी दिइएको छ । सुमनाले शनिबार अबेरसम्म घिसिङसँग छलफल गरेकी थिइन् । लामाले एमाले छाड्दै ‘जनताको उज्यालो भविष्यका लागि नयाँ राजनीतिक शक्तिमा जाने’ घोषणा गरेका थिए ।

घिसिङले नयाँ दलमा जेनजी पुस्ताका प्रतिनिधि, अभियन्ता र उद्योगीहरूलाई समेट्ने रणनीति लिएका छन् । बौद्धस्थित एक रेस्टुरेन्टमा उनले शनिबार डा. महेन्द्र लावती, अभियन्ता सुमन सायमी, जेनजी संयोजक रक्षा बम, थारु नेता लक्ष्मण थारुलगायतस“ग छलफल गरेका थिए ।

सायमीका अनुसार पुराना दलहरू गहिरो जरा गाडेर बसेका बेला नयाँ  पुस्ता विभाजित हुनु पुरानै शक्तिलाई फाइदा पुग्ने भन्दै जेनजी समूह एक ठाउँमा आउनुपर्ने सुझाव घिसिङलाई दिइएको छ ।

त्यस्तै, ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक डा. गणेश योञ्जन र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेसँग पनि घिसिङले सहकार्यबारे छलफल गरेका छन् ।

कुलमानको दललाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संयोजक सुधन गुरुङको समर्थन रहने स्रोतको दाबी छ । बालेन कुनै जिम्मेवारीमा नबस्ने भए पनि नयाँ दलको अभियानलाई नैतिक र राजनीतिक साथ दिने तयारीमा छन् । सुधन गुरुङ भने औपचारिकरूपमा कोर टिममा रहने भएका छन् ।

स्रोतका अनुसार पार्टीको नाम परिवर्तनमा पनि सुधनको सुझाव निर्णायक थियो । उनले ‘उज्यालो नेपाल’ नाम व्यक्तिकेन्द्रित हुने भन्दै नयाँ नाममा सहमति जुटाएका थिए ।

प्रतिनिधि सभाको घोषित निर्वाचनका लागि घिसिङले स्वच्छ छविका उद्योगी र बैंकवित्त क्षेत्रका कार्यकारीहरूलाई पार्टीमा ल्याउने गृहकार्य गरिरहेका छन् । यस क्रममा उनको नेपाल उद्योग वाणिज्य महासंघका केही शीर्ष पदाधिकारी र एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल चलिरहेको स्रोतले जनाएको छ । उनको ध्यान विवाद कम भएका र देश बनाउने चाहना भएका उद्योगीहरूलाई आफ्नो दलमा जोड्ने रहेको देखिएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि चालु महिनाको मसान्तसम्म समय दिएको छ । सिद्धान्त र संगठनात्मक ढाँचा तयार भइसकेपछि छिटै निवेदन दर्ता गर्ने तयारी भएको घिसिङ निकट एक जनाले बताएका छन् ।

विद्युत् प्राधिकरणको नेतृत्वमा दोस्रो पटकको कार्यकाल बाँकी छँदै एमाले–कांग्रेस गठबन्धनको सरकारले उनलाई हटाएको थियो । त्यसबेला तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासँग घिसिङको मतमतान्तर थियो भने केपी शर्मा ओलीले माओवादी केन्द्र समर्थित भन्दै निकै आलोचना गरेका थिए । 

तर, मुलुकको ऊर्जा क्षेत्रमा देखाएका उपलब्धिले घिसिङलाई लोकप्रिय बनाएको छ । उनी विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदाको पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य भएको थियो । त्यसले उनी जनतामा ‘उज्यालोको प्रतीक’ बनेका थिए । यही छविलाई जनताले साथ दिने ठानेर उनी परम्परागत दलहरूलाई चुनौती दिन आफ्नै दल गठन गर्दै सक्रिय राजनीतिमा आउन लागेका हुन् ।

मौन संकेत, अब स्पष्ट कदम
गत साता बालुवाटारमा बोलाएर प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग भेटघाट गरेकी थिइन् । ऊर्जा, गृह र अर्थ मन्त्रालयका मन्त्रीहरू पनि उपस्थित थिए । सुरुमा अर्थमन्त्री रामेश्वर खनाल मात्र देखिएका बैठकमा क्रमशः ओमप्रकाश अर्याल, अनिल सिन्हा, जगदीश खरेल र अन्त्यमा ऊर्जामन्त्री कुलमान घिसिङ पनि जोडिएका थिए ।

एक सम्पादकले सोधेका थिए – ‘उहाँहरू चुनाव लड्दै हो त ?’ प्रधानमन्त्री कार्कीले तुरुन्त प्रतिक्रिया दिइन् – म त लड्दिनँ, तपाईंहरू लड्ने हो र ? अर्थमन्त्री खनालले नकारात्मक संकेत दिए, गृहमन्त्री अर्याल मुस्कुराए तर बोलेनन् । तर ऊर्जामन्त्री कुलमानले कुनै प्रतिक्रिया दिएनन्, भुइँतिर नजर झुकाए, अनुहार भावविहीन देखिन्थ्यो । त्यो मौनता त्यहीँ टुंगिएन ।

उही साता मुक्तसिंह लामा नेतृत्वको समूहले घिसिङको अभियानलाई राजनीतिक रूप दिन घोषणापत्र र विधान मस्यौदा गर्न थाले । त्यो मौनता अहिले ‘नेपाल जनसेवा पार्टी’ दर्ताको तयारीमा परिणत भएको छ । घिसिङले त्यसबेला देखाएको संकेत अब राजनीतिक यात्रा औपचारिक बन्ने मोडमा पुगेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले