नेभिगेशन
राजनीति

कांग्रेसमा छलफलकै अलमल

निर्वाचन र संसद् पुनःस्थापनामा चर्को मतभेद

काठमाडौं । नेपाली कांग्रेस भित्र हाल संसद पुनःस्थापना र आगामी निर्वाचनबारे संस्थापन र सुधारवादी धारबीचको मतभेद अझै किनारा लागेको छैन । सदस्यहरूले आफ्नो भनाइ राखिरहँदा मंगलबारको केन्द्रीय समिति बैठकले पनि यसबारे निष्कर्ष दिन सकेन । 

जेनजी आन्दोलनपछि निरन्तर निर्वाचनमा जानुपर्ने धारणा अघि सार्दै आएका महामन्त्री गगन थापा पार्टीभित्र अल्पमतमा परेका देखिएका छन्, किनभने बहुमत सांसदहरू संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् ।

लगातारको बैठकमा महाधिवेशन तुरुन्त हुनुपर्ने आवाज उठिरहँदा संस्थापन पक्षले सकेसम्म टार्ने प्रयास गरिरहेको छ । टार्न सम्भव नभए अन्तिम निर्णयका लागि पार्टी सभापति शेरबहादुर देउवालाई पर्खने सुरमा संस्थापन पक्षका नेताहरू छन् । प्रभावशाली केही नेताहरू निर्वाचनअघि नै पार्टी महाधिवेशन हुनुपर्ने भन्दै महामन्त्री थापाको पक्षमा बोल्न थालेका छन् । तैपनि अन्योल भने हटेको छैन ।

विघटित प्रतिनिधिसभाका करिब ८८ मध्ये ५० भन्दा बढी कांग्रेस सांसदहरूले संसद् पुनःस्थापना गर्नुपर्ने मागसहित हस्ताक्षर संकलन गरी पार्टीमा बुझाउने तयारी गरेको नेता श्याम घिमिरेले जानकारी दिए । ‘यो विषय अहिले कांग्रेस केन्द्रीय समितिको बैठकको मुख्य एजेन्डा बनेको छ,’ उनले भने, ‘एकपक्षीय आवाज सुनेर निष्कर्षका लागि हतारिनु हुँदैन ।’

नेता शेखर कोइरालाले भने पार्टीभित्र विशेष महाधिवेशनको माग बलियो बन्दै गएको बताए । सरकारले निर्वाचनको वातावरण बनाउन पहल नगरेको उनको आरोप छ । उनका अनुसार पार्टीका ५५ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका छन् । उनले चेतावनी दिँदै भने, ‘केन्द्रीय समितिले निर्णय गर्न नसके पार्टी विभाजनको सम्भावना छ ।’ 

अर्का नेता चन्द्र भण्डारीले जेनजी आन्दोलनका माग सम्बोधन गर्नका लागि पनि संसद पुनःस्थापना अपरिहार्य भएको तर्क गरे । उनले संविधान संशोधनमार्फत परिवर्तन सम्भव हुने दाबी गर्दै भने ‘मुलुकलाई दुर्घटनाबाट जोगाउने यही उपयुक्त विकल्प हो ।’

उपसभापति धनराज गुरुङले पनि सरकार निर्वाचनमात्र केन्द्रित नभएको आरोप लगाउँदै सांसदहरूले स्वतन्त्र रूपमा संसद् पुनःस्थापनाको मागमा हस्ताक्षर गरिरहेको बताए । नेतृ सुशीला थिङले मुलुकको अस्थिरता अन्त्य गर्न स्वतन्त्र रूपमा हस्ताक्षर अभियान चलाइरहेको बताइन् ।

यसैबीच, कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित देउवा पक्षका तल्लो तहका नेताहरू खुलेरै संसद पुनःस्थापनाको पक्षमा उत्रिएका छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का मौन छन् ।

१० दिनभन्दा बढीदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकले अझ निष्कर्ष निकालिसकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेसमा गगनको घुर्की

कांग्रेसमा गगनको घुर्की

मुठभेडतर्फ एमाले

मुठभेडतर्फ एमाले