नेभिगेशन
खेलकुद
फुटबल

लिग १२० दिनभित्र गर्न सहमति

आगामी चैत महिनाभित्र शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु गर्ने सहमति भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहजीकरणमा मंगलबार भएको वार्ताले १२० दिनभित्र लिग सुरु गर्ने सहमति गरेको हो ।  

यसअघि एन्फा र ‘ए’ डिभिजन क्लबबीच राष्ट्रिय लिग यसपटक नगरेर अर्को वर्षलाई नगर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका थिए । खेलाडी आन्दोलनमा उत्रिएपछि खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा एन्फा, क्लब र खेलाडी संघबीच भएको वार्तामा लिग यसै वर्ष सुरु गर्ने निष्कर्ष आएको हो । 

मन्त्री गुप्ताले एन्फा नेतृत्वलाई लिग सुरु गर्ने ठोस मिति दिन आग्रह गर्दै क्लबहरूसँग छुट्टै समन्वय गर्ने बताए । वार्तामा एन्फाका महासचिव किरण राईले अन्तर्राष्ट्रिय तालिका र तयारी हेरी माघ महिनाभित्र लिग सुरु गर्न सकिने बताए भने एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले करिब १२० दिनको तयारी समय आवश्यक हुने बताएका थिए ।

मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठले प्रस्तावित समय पर्याप्त हुने बताए भने सबै पक्षले डबल राउण्ड रोबिन ढाँचामा लिग सञ्चालन गर्नेमा सहमति जनाए । फुटबलको मेरुदण्ड मानिने लिग प्रणाली नेपालमा तीन वर्षयता स्थगित हुँदै आएको छ ।

तीन वर्षदेखि लिग आयोजना नगर्दा नेपाली फुटबलमा नकारात्मक प्रभाव परेको खेलाडीहरूको दाबी छ । उनीहरूका अनुसार लिग नहुँदा क्लबहरूले खेलाडीलाई नियमित तलब र प्रशिक्षण दिन सकेनन् । धेरै खेलाडीहरू वैकल्पिक रोजगारतर्फ लागे वा विदेश गए । खेलाडीहरूको करियर निरन्तरता टुट्यो र मनोबल कमजोर भएको छ । खेलाडीहरूको खेलस्तर घट्यो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल कमजोर देखिन थाल्यो, किनभने घरेलु प्रतिस्पर्धा नै नभएपछि फिटनेस र खेलदक्षता दुवै कमजोर बनेका छन् । एन्फा, क्लबहरू र खेलाडी संघबीच समन्वय नहुँदा आपसी अविश्वास बढ्यो । राष्ट्रिय लिग गर्ने कि ‘ए’ डिभिजन लिग गर्ने भन्ने विवादले फुटबलको व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्