नयाँ अध्ययनले देखाएको छ कि चिम्पान्जीहरूले कुनै कुरा विश्वास गर्नुअघि विरोधाभासी प्रमाणलाई तौल्छन् र सोच–विचार गरेर निर्णय गर्छन् । वैज्ञानिकहरूले यस क्षमतालाई ‘तर्कसंगत विश्वास संशोधन’ भनेर नाम दिएका छन् । यो पहिले मानिसमा मात्र सम्भव हुने ठानिएको थियो ।
क्यालिफोर्निया विश्वविद्यालय र युनिभर्सिटी अफ पोट्समाउथका अनुसन्धानकर्ताहरूले युगाण्डाको गाम्बा आइल्याण्ड चिम्पान्जी संरक्षण क्षेत्रमा रहेका १५ देखि २३ चिम्पान्जीबीच अध्ययन गरे ।
उनीहरूलाई खाना लुकेको बाकस पत्ता लगाउने कार्य दिइयो । कहिलेकाहीँ उनीहरूले काँचको झ्यालबाट खाना सिधै देख्थे, कहिलेकाहीँ बाकसबाट आएको आवाज वा संकेत पाउँथे ।
पहिलो संकेत का आधारमा निर्णय गरेपछि अनुसन्धानकर्ताहरूले विरोधाभासी दोस्रो प्रमाण दिए । यसरी उनीहरूले अघिल्लो निर्णयमा टिक्छन् वा नयाँ प्रमाण आएपछि विचार बदल्छन् भन्ने परीक्षण गरियो ।
परिणाम अनुसार, चिम्पान्जीहरूले अनियमितरूपमा निर्णय बदल्दैनन् । पहिलो प्रमाण बलियो र दोस्रो कमजोर भएमा, उनीहरू पहिलो निर्णयमै अडिग रहन्थे । तर, दोस्रो प्रमाण बलियो भएमा, उनीहरूले तुरुन्त आफ्नो विचार बदल्थे ।
उदाहरणका रूपमा, जब पहिलो बाकसबाट केवल आवाज आएको थियो (कमजोर प्रमाण) र दोस्रो बाकसमा खाना प्रत्यक्ष देखियो (बलियो प्रमाण), अधिकांश चिम्पान्जीहरूले दोस्रो बाकस रोजे ।
तीन बाकस प्रयोग भएको अर्को परीक्षणमा, बलियो प्रमाण भएको बाकस हटाइएपछि उनीहरूले बाँकी दुईमध्ये कमजोर प्रमाण भएको बाकस रोजे । यसले उनीहरूले केवल तथ्य होइन, प्रमाणको स्रोत र विश्वसनीयता बुझ्ने क्षमताको संकेत गर्छ ।
त्यस्तै, एउटै बाकस दुई पटक हल्लाउँदा उनीहरूले निर्णय बदलेनन्, तर फरक खाना टुक्रा खसाल्दा त्यसलाई नयाँ प्रमाण ठानी निर्णय परिवर्तन गरे ।
यहाँसम्म कि झ्यालभित्र देखिएको खाना वास्तवमा फोटो मात्र हुँदा उनीहरूले त्यसलाई कमजोर प्रमाण मानेर पुरानो निर्णयमा फर्किए । जसले उनीहरूको झूटो प्रमाण छुट्याउने क्षमता देखायो ।
पहिलेका अध्ययनहरूले ठूला वानरहरूको बुद्धिमत्ता प्रमाणित गरे पनि, त्यो स्वचालित प्रतिक्रिया हो वा सोच–विचारको नतिजा भन्ने बहस चल्दै आएको थियो । यो नयाँ अध्ययनले चिम्पान्जीहरूमा पनि प्रमाणको बल मापन गर्ने र सोचेर निर्णय गर्ने क्षमताको विकास भएको पुष्टि गरेको छ ।
अनुसन्धान टोलीका अनुसार, यस्तो व्यवहार सुधार हुँदै जाने दृष्टिले गहिरो सोच्ने क्षमता हो, जसले जंगली जीवनमा फलको स्थान अनुमान गर्न, खतरा मूल्यांकन गर्न, र समूह व्यवहार सम्हाल्न वा जीवित रहन सहयोग पुर्याउँछ ।