काठमाडौं । शेयरबजार सोमबार सामान्य बढेको छ । कारोबार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेर २,५५०.३६ विन्दुमा कायम भएको छ । तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५६ कम्पनीमध्ये १६७ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । यद्यपी यसदिन ७६ कम्पनीका शेयरधनीले भने गुमाएका छन् । बाँकी १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.४३ अंक बढेर ४४०.८७ विन्दुमा पुगेको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ०.७१ अंक बढेर १७४.३३ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक ०.४७ अंक बढेर १४९.४० विन्दुमा कायम भएको छ ।
सूचीकृत १३ समूहमध्ये निर्जीवन बीमा र अन्य बाहेक सबै बढेका छन् । अन्य समूह ०.४९ प्रतिशत र निर्जीवन बीमा ०.०९ प्रतिशत घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.५० प्रतिशत बढेको छ । त्यसपछि होटल तथा पर्यटन समूह १.०९ प्रतिशत, जलविद्युत ०.८८, जीवन बीमा ०.६४, फाइनानस ०.५६, उत्पादन तथा प्रशोधन ०.५३, लगानी ०.५३, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.१४, बैंकिङ ०.१३ र व्यापार ०.०९ प्रतिशत बढेका छन् ।
बन्दिपुर केबलकार एण्ड टुरिजम, सागर डिस्टिलरी, बुंगल हाइड्रो र झापा इनर्जीको शेयरमूल्यमा सकारात्क सर्किट लागेको छ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस्तै, साहस उर्जाको शेयरकारोबार सबैभन्दा धेरै १८ करोड रुपैयाँको भएको छ ।
लगानीकर्ताको सम्पत्ति सोमबार मात्रै १७ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४२ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि पाँच अर्ब रुपैयाँ बढेर १४ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो केही दिन यता नेप्से परिसूचक साइडवेज प्रवृतिमा देखिन्छ । पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वासलात बिग्रिएपछि शेयर लगानीकर्ताहरू पर्ख र हेरको रणनीतिमा देखिन्छन् । राजनीतिक अस्थिरता र लगानीको वातावरण नबनेका कारण अर्थतन्त्र सुस्त देखिन्छ । आर्थिक सूचकहरू सकारात्मक रहेपनि बजार गतिविधि सुस्त हुँदा लगानीकर्तामा थप लगानी बढाउने मनोबल कमजोर बन्दै गएको विश्लेषकहरू बताउँछन् ।
ब्याजदर थप घटेको छ, बैंकमा प्रशस्त तरलता छ तर कर्जाको माग बढ्न सकेको छैन । निक्षेप बढ्दै जाने तर कर्जाको माग न्यून हुने प्रवृतिले बैंकहरूको नाफा झनै घटेर जाने निश्चित छ । त्यसैले शेयर लगानीकर्ताहरू पर्ख र हेरको रणनीतिमा पुगेको देखिन्छ ।