नेभिगेशन
अर्थतन्त्र

कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको हिस्सेदारी एक प्रतिशतमा सीमित

संवाददाता
काठमाडौं, मंसिर ६
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयर स्वामित्व १ प्रतिशतमा झर्ने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा बैंकको चुक्ता पुँजीमा क्षय भएको र दायित्व सम्पत्तिले नखाम्ने देखिएकाले केही शेयरधनीको शेयरपुँजी घटाउने निर्णय गरेको हो ।

यस्तै, केही संस्थापक तथा सर्वसाधारण शेयरधनीहरूले चुक्ता हुनुपर्ने शेयरपुँजी वापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएकाले बैंकको पुनरसंरचना गर्नेक्रममा ३५ जना शेयरधनीहरुको शेयरपूँजी घटाई एक प्रतिशत कायम गर्ने निर्णय गरेको जनाएको छ । 

संस्थापक शेयरधनी तर्फका २५ र सर्वसाधारण तर्फका १० गरी ३५ शेयरधनीको शेयर पूँजीलाई राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ङको उपदफा (१) को खण्ड –च) तथा खण्ड (ज) र दफा ८६ ज बमोजिम घटाई एक प्रतिशत कायम गर्न लागिएको जारी सूचनामा उल्लेख छ । 

हाल २५ संस्थापक शेयरधनीको नाममा २१ लाख ६० हजार ६०.६४ कित्ता शेयर रहेको छ । एक प्रतिशतमा झारिएपछि उनीहरूको हिस्सेदारी घटेर करिब २१ हजार ३६०.६१ कित्तामा झर्नेछ । त्यस्तै १० सर्वसाधारण शेयरधनीको १२ हजार ६८४.९८ कित्ता शेयर एक प्रतिशतमा झर्दा केवल १२६.८५ कित्ता मात्र कायम रहनेछ ।

नेप्सेको तथ्यांकअनुसार कर्णाली डेभलपमेन्ट बैंकको कुल ५० लाख २८ हजार ३०० कित्ता सूचीकृत छन् । संस्थापकका २५ लाख ६४ हजार ४३३ र सर्वसाधारणका २४ लाख ६३ हजार ८६७ कित्तामध्ये करिब ४२ प्रतिशत हिस्सा कटौती हुने देखिएको छ । पुनर्संरचनापछि संस्थापक र सर्वसाधारण मिलाएर करिब २९ लाख एक हजार ४१ कित्ता शेयर मात्रै कायम रहने अनुमान छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्