नेभिगेशन
अर्थतन्त्र

सोयाबिन तेलले बढायो निर्यात

आयात १८.७१ र निर्यात ७७.५१ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको वस्तु व्यापारतर्फ उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३को पहिलो चार महिनामा निर्यात एक वर्षअघि भन्दा ७७.५१ प्रतिशत बढेको छ । यस अवधिमा नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँभन्दा धेरै हो ।

आयातमा उच्च वृद्धि

निर्यातसँगै आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । चार महिनामा कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत वर्ष साउन देखि कात्तिक मसान्तसम्म पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपैयाँको आयात भएको थियो ।

व्यापार घाटा पनि बढ्यो

कुल वैदेशिक व्यापार २४.२८ प्रतिशत बढेर सात खर्ब दुई अर्ब ९४ करोड ७० लाख नौ हजार रुपैयाँ पुगेको छ । तर व्यापार घाटा भने ११.९९ प्रतिशतले बढेर पाँच खर्ब १५ अर्ब ९५ करोड रुपैयाँमा पुगेको छ ।

सोयाबिन तेलको व्यापार सबैभन्दा धेरै

आयात निर्यात दुवैमा सबैभन्दा धेरै सोयाबिन तेलको हिस्सा छ । विभागको तथ्यांकअनुसार सोयाबिन तेल ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपैयाँको आयात भई ३८ अर्ब ४३ करोड तीन लाख नौ हजार रुपैयाँको निर्यात भएको छ । पेट्रोलियम पदार्थको आयात धेरै छ । सोयाबीन तेलपछि डिजेलको आयात धेरै छ । डिजेल ३१ अर्ब ८९ करोड १५ लाख ५७ हजार रुपैयाँ, पेट्रोल २२ अर्ब ३७ करोड २७ लाख ६२ हजार रुपैयाँ र खाना पकाउने ग्यास १८ अर्ब आठ करोड ३६ लाख १६ हजार रुपैयाँको आयात भएको छ । कात्तिकसम्म पेट्रोलियम पदार्थ मात्रै ९२ अर्ब ४२ करोड रुपैयाँको आयात भएको छ । तेल तथा घ्यूजन्य पदार्थ ५० अर्ब १७ करोड रुपैयाँको भएको छ ।

मोबाइल फोन १६ अर्ब १५ करोड १८ लाख ४० हजार रुपैयाँ र सुन १५ अर्ब ७२ करोड ११ लाख ४४ हजार रुपैयाँको आयात भएको छ । सर्वाधिक निर्यात भएका वस्तुमा सोयाबीन तेलपछि अलैंची, सुर्यमुखी तेल, जुनजन्य वस्तु र कार्पेट छन् । अलैँची तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ, सुर्यमुखी तेल दुई अर्ब ७३ करोड २८ लाख ७६ हजार, जुटजन्य पदार्थ दुई अर्ब १५ करोड १५ लाख ६६ हजार रुपैयाँ, कार्पेट दुई अर्ब सात करोड ६४ लाख ८९ हजारको निर्यात भएको छ । घ्यू तथा तेलजन्य पदार्थको निर्यात कुल ४४ अर्ब ७० करोड रुपैयाँ हाराहारी भएको छ ।

भारत–चीन प्रमुख व्यापारिक साझेदार

नेपालको वैदेशिक व्यापारमा भारतको हिस्सा सबैभन्दा ठूलो छ । कात्तिकसम्म भारतबाट तीन खर्ब ३७ अर्बको आयात भएको छ भने नेपालबाट भारततर्फ ७६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ । भारतपछि चीन दोस्रो ठूलो व्यापारिक साझेदार रहेको छ, जहाँबाट एक खर्ब ३२ अर्बको आयात र २९ करोड ८८ लाख को निर्यात भएको छ ।

अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र अमेरिका पाँचौँ ठूलो व्यापार साझेदार छन् । अर्जेन्टिनाबाट ३४ अर्ब ७२ करोड ४३ लाख १८ हजार रुपैयाँको आयात भएको छ । त्यसपछि युएईबाट २२ अर्ब २२ करोड ६५ लाख ५२ हजार, अमेरिकाबाट आठ अर्ब ८७ करोड ९१ लाख ४० हजार रुपैयाँको वस्तु आयात भएको छ ।

अमेरिका दोस्रो धेरै निर्यात हुने देश बनेको छ । त्यसपछि जर्मनी, बेलायत प्रान्स, जापानमा निर्यात छ । विभागका अनुसार अमेरिकामा पाँच अर्ब ९७ करोड ४३ लाख ३४ हजार रुपैयाँ, जर्मनीमा एक अर्ब ६१ करोड ६५ लाख ९३ हजार रुपैयाँ, बेलायतमा एक अर्ब १३ करोड ७० लाख ६४ हजार र फ्रान्समा ७५ करोड चार लाख ९० हजार रुपैयाँको निर्यात भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्