नेभिगेशन
अर्थतन्त्र

सूर्यविनायक–धुलिखेल सडक असारभित्र सक्न निर्देशन

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको सडक आयोजनाको काम बल्ल आधा सकिएको हो ।

अरनिको राजमार्गअन्तर्गतको यो सडक आयोजनाको काम लक्ष्यभन्दा ढिलो भइरहेको हो । सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । सडक विस्तार आयोजना अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटरको प्रगति ४५ प्रतिशत र साँगादेखि धुलिखेलसम्म ७.५ किलोमिटरको प्रगति ५५ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले दुवै खण्डमा सडक विस्तारको काम गरिरहेको छ ।

यो सडक ठेक्का सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्माण कम्पनीले विविध कारण देखाएर समयमै काम गरिरहेको छैन । २०७९ पुसमा सूर्यविनायक– साँगा सडक खण्ड विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेलको लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आइतबार निर्माण स्थलमा पुगेर आगामी असारसम्म काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

घिसिङले सडक आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई सडक विस्तार कार्य सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयबाट प्रतिबद्धता आइसकेकाले यो सडक विस्तार आयोजनाको काम सम्पन्न गर्न रकम अभाव नहुने आश्वासन पनि उनले दिए ।

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले निर्माण कम्पनीले लक्ष्य अनुसार आयोजनाको काम समयमा सम्पन्न गर्न सकेको छैन । यो सडक आयोजना विस्तार कार्यका लागि चालू आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट मागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्