नेभिगेशन
दृष्टिकोण
सन्दर्भ एचआइभी एड्स दिवस

एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास

विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि केही सफल प्रयासमा विकसित देशले उपलब्ध गराउने गरेको सहयोगको क्रम घट्न जाने वा बन्द हुने क्रम चलेसँगै विश्वका कम विकसित तथा विपन्न राष्ट्रहरूमा एक किसिमको भय र त्रास बढिरहेको छ ।

सङ्क्रमितहरूलाई उपलब्ध गराइने औषधि तथा सूईको मूल्य महँगो हुने हुँदा सोको आपूर्तिमा बाधा उत्पन्न हुन गई खासगरी तेस्रो विश्वका कमजोर राष्ट्रहरूमा एचआईभी एड्स नियन्त्रण तथा रोकथामका उपायहरू कम प्रभावी वा निरर्थक बन्दै जाने आशङ्का बढेको अवस्था छ ।

पर्यटन र एचआईभी एड्स

यात्रा र सरुवा रोग अर्थात पर्यटन र महामारीजन्य प्रकोपको नितान्त घनिष्ट सम्बन्ध रहेको हुन्छ । एक ठाउँका घातक रोग अर्को ठाउँमा सहजै सर्नसक्छ । एचआईभी एड्स त्यस्तै प्रकोप वा महाविपद् हो । यात्राबाटै अफ्रिकादेखि विश्वभर फैलिँदै गएको यो एचआईभी रोग वा यसका कारण हुन जाने अन्य ‘प्रतिकारात्मक शक्ति क्षय हुने रोग’ तथा विविध विमारहरूले गर्दा अहिलेसम्म विश्वमा करिब पाँच करोड व्यक्तिको ज्यान गएको छ ।

त्यसैगरी एचआइभी एड्सपछिको अर्को विश्वव्यापी संकटजन्य ‘प्यान्डेमिक रोग’ अर्थात् कोरोना (कोभिड १९) ले पनि सन् २०१९ को डिसेम्बर महिनादेखि हालसम्म करिब ७१ लाख २० हजार मानिसलाई यो विश्वबाट लगिसकेको छ । छिटो छिटो फैलिएर विश्वका सबै मानिसमा त्रास बढाएको यो रोगलाई संक्रमण र विनाशका हिसाबले एचआईभी एड्सभन्दा पनि झनै खतरा मानियो । हामीले यसलाई महाघातक, महामरक आदिका संज्ञा पनि दिइयो । सन् २०१९ को डिसेम्बरदेखि चीनबाट तीव्र रूपमा फैलिन सुरु गरेको ‘कोभिड १९’ सन् २०२५ मा पनि विश्वका कतिपय ठाउँमा नयाँ–नयाँ ‘भेरियन्ट’को रूपमा देखापरेबाट हामी अझ पनि कोरोनाजन्य महाविपत्बाट पूर्णतः सन्त्रासरहित हुन सकेका छैनौँ ।

बढ्दो भयावहता

चाहे एचआइभी होस् वा कोरोना, मानिसमा छाला, रगत र सासका माध्यमबाट सर्ने समस्याले गर्दा पर्यटनका लागि यी आपत्जन्य वा जोखिमजन्य कुरा हुन् । एक ठाउँको पर्यटक अर्को ठाउँमा जाँदा सङ्क्रामक रोग लिएर जान्छ र त्यसबाट स्थानीय परिवेशमा रोग फैलिने त्रास हुन्छ भने त्यसले निश्चय नै पर्यटन विकासमा ठूलो अवरोध ल्याउँछ । कोभिडका बेला विश्वभर झण्डै ९५ प्रतिशत पर्यटकीय गतिविधि ठप्प हुन पुगे । पर्यटक आगमनमा पनि त्यही दरमा कटौती भयो । सन् २०२० र २०२१ मा विश्वको पर्यटन तहसनहस बन्न पुग्यो । नेपालको पर्यटनको हबिगत पनि झनै दुरुह बन्न पुग्यो । सन् २०१९ मा करिब १२ लाख पर्यटक आगमन रहेकामा सन् २०२० र २०२१ मा त्यो संख्या डेढ–दुई लाखको हाराहारीमा झर्नु भनेको नेपालका लागि अत्यन्त पीडादायी र नैराश्यताको स्थिति थियो ।

नेपालको पर्यटन विकासको प्रक्रिया र गतिमा त्यो ठूलो झट्का थियो, अनपेक्षित महासंकट नै थियो । सन् २०२२, २०२३ र २०२४ मा पर्यटनको लयलाई कम्तीमा पुरानै अवस्थामा पुर्‍याउने हाम्रा प्रयास भए पनि ती पूर्णरूपेण सफल हुन सकेनन् । पर्यटनको ‘रिकभरी’ हुन अझ पनि केही समय कुर्नुपर्ने भएको छ । कोभिड–१९ ले पारेको प्रभावलाई अहिलेसम्मकै अत्यन्त ठूलो प्रभाव मानिएको छ । तर एचआइभी सङ् क्रमणले कोभिडले जस्तो एक्कैपटक ध्वस्त नपारे पनि भित्रभित्र समाज खाइरहेको हुन्छ । पर्यटन समुदायलाई कमजोर र ग्लानियुक्त बनाइरहेको हुन्छ ।

पछिल्ला तथ्याङ्कहरूले भनिरहेछन् विश्वमा एचआइभीको भयावहता घटेको छैन, भविष्यमा आई पर्नसक्ने चुनौतीको ढोका बन्द भएको छैन । नेपालमा मात्रै अहिले पनि करिब ३४ हजार एचआइभी सङ्क्रमित हुनु, करिब आठ हजार सङ् क्रमितले नियमित औषधि सेवन गरिहनुपर्ने अवस्था हुनु र विश्व आर्थिक सङ्कट बढ्दै गएअनुसार वैदेशिक सहयोगको रकम घट्दै जानुले सरकारले मात्र यस्ता एचआईभी सङ्क्रमितहरूलाई नियमित औषधिको प्रबन्ध गर्न सक्ला नसक्ला भन्ने द्विविधा र संशय कायमै छ । त्यसै त हामी ऋणमा चुर्लुम्म डुबिरहेका छौँ, अझ विरामी उपचारका लागि पनि वैदेशिक ऋण खोज्नुपर्ने अवस्था आयो भने हाम्रो हालत के होला ? यस्तो स्थितिमा दिगो विकासको समग्र चक्रलाई प्रभाव त पर्छ नै त्यसमा पनि पर्यटनको चक्रमा थप दूरगामी असर पुग्छ ।

विश्व अनुभव र अबको सचेतता

सबैले बुझ्नुपर्छ, बहुव्यक्तिसँग यौनसम्बन्ध कायम हुनु भनेको यौनजन्य रोगको सहज आमन्त्रण हुनु हो । यौनजन्य रोगमा एचआईभी एड्स सबैभन्दा घातक रोग भएकाले एक जनामा सर्नेवित्तिकै त्यस्तो रोग केही दिन वा महिनामा हजारौँमा सर्न सक्छ । पर्यटनको केन्द्र वा गन्तव्यमा यस खालको नकारात्मक खबर आयो भने त्यो ठाउँ सदाका लागि पर्यटनबाट वञ्चित हुनसक्छ । टिकाउ पर्यटन अर्थात दिगो पर्यटन व्यवस्थापनमा त्यो सन्दर्भ महाचुनौतीको रूपमा देखा पर्दछ ।

थाइल्याण्डजस्ता देशले यस मामिलामा पछिल्लो समय केही सचेतता देखाउन थालेका छन् । पुँजीवादी र भौतिक संसारमा लिप्त प्रवृत्ति र संस्कारले यौन उपभोगवादलाई ‘किन्ने बेच्ने वस्तु’ र ‘किन्ने बेच्ने सेवा’ ठान्ने प्रवृत्ति नहटेसम्म पर्यटन जगतबाट प्रत्यक्ष होस् वा अप्रत्यक्ष, यस्तो यौन व्यापार हटाउन कठिन छ । कतिपयले यसै माध्यमलाई पर्यटनको ‘दिगो स्रोत’ पनि ठान्न सक्छन् । त्यो क्षणिक हो ।

तसर्थ, हामीले आजैदेखि सोच्नुपर्छ बुद्धको देश, सीताको देश, भृकुटीको देश, सगरमाथाको देश हाम्रो महागौरवमय नेपालमा त्यस खालको पर्यटनले बढावा पाउनु हुँदैन । यहाँको प्रकृति, यहाँको संस्कृति, यहाँको इतिह्रास र यहाँका हजारौं रैथाने खानापिना र नाना–गाना–बजानाले विश्वका जुनसुकै कुनाका पर्यटकलाई दुई हप्ता बसाउन काफी छन् । केही विन्दु र कुनामा चलाउन आँटिने यौनकर्ममय पर्यटन हाम्रो चाहना र नीतिगत प्राथमिकता कहिल्यै पनि हुनुहुँदैन । एड्सले ग्रस्त नेपाल हाम्रो चाहना होइन, यौनकर्मीको प्रदूषित भूमि नेपाल बनाउनु पनि छैन । चाहे शहर होस्, चाहे गाउँ होस्, व्यावसायिक यौनकर्म हुने ठाउँमा सरकार र स्थानीय समुदायले कडा निगरानी राख्नुपर्ने आवश्यकता छ । विश्वभर एड्सविरुद्धको सचेतना दिवस मनाइरहेको बेला आजको मूल सन्देश पनि यही हो । हामी सबैलाई चेतना भया ।

(लेखक दिगो पर्यटन विकासविज्ञ हुन्।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना