पोखरा । पोखराको भीमसेन टोलमा एक पुरानो घर छ, सामान्य मर्मत गरिएको तर घरभित्र १०० वर्षको इतिहास छ । बिहानैदेखि यहाँ मानिसको भीड लाग्छ । कतिपयलाई थाहा नहुन सक्छ, किन भीड ? बाहिर न ठूलो साइनबोर्ड छ, न त कुनै ब्यानर । तर भित्र छ पोखराको सबैभन्दा पुरानो र प्रसिद्ध ‘भुत्तेको जेरी पसल ।’
तातो तेलको गन्ध, चिनीको मीठाससँगै त्यहाँबाट निस्कने धुवाँसमेत विशेष लाग्छ । एउटा विशेष स्वादको लागि मानिसहरू घण्टौं कुर्न तयार हुन्छन् । स्वादिलो जेरी लिन आएकाहरूमा शालिनता देखिन्छ ।
भुत्ते जेरीको कथा सुरु हुन्छ सिद्धिलाल चुल्याजुबाट । उनी १९७० सालमा रोजगारको सिलसिलामा म्यानमार (बर्मा) पुगेका थिए । सिद्धिलालले त्यहाँ मिठाइ बनाउन सिके । घर आउँदा पाककला लिएर फर्किए । १९७२ सालमा पोखराको पुरानो भीमसेन टोलमा उनले खोले भुत्तेको मिठाई पसल । व्यवसाय यति लोकप्रिय भयो कि सिद्धिलाललाई ‘भुत्ते साहु’ भनेर चिनिन थालियो । त्यही नाम समयसँगै रूपान्तरित हुँदै आजको ‘भुत्तेको जेरी पसल’ बन्न पुग्यो ।
हजुरबुबादेखि छोरासम्म अनि अहिले नातिसम्म यो व्यवसाय घरकै हातले चल्दै आएको छ । सिद्धिलालको निधनपछि आमा मिश्रीमायाले पनि छोराहरूको साथमा व्यवसाय चलाइन । आमाको पनि निधनपछि कान्छा छोरा राजकुमार चुल्याजुले पुख्र्यौली थलोमा व्यवसाय सम्हाले । अहिले उनका श्रीमती र छोरा एलिस यही व्यवसायमा सघाइरहेका छन् । तीन पुस्तासम्म जोडिएको यो व्यवसाय आज पोखराको पहिचान र ‘ब्राण्ड’ बनेको छ ।
व्यवसायमा चुल्याजु परिवारको आफ्नै समय तालिका छ । बिहान ८ देखि १२ बजे र साँझ साढे ४ देखि साढे ६ बजेसम्म पसल खुला हुन्छ । अधिकांश नेपाली युवाहरू दीर्घकालीन काममा नटिक्ने र विदेश जान नै हतारिने हुँदा चुल्याजु परिवारले अरुमा निर्भर नभई परिवारको जनशक्तिलाई उपयोग गररे व्यवसाय चलाइरहेका छन् । ‘यो त खानेकुराको पसल हो नि, एकपटक खाएपछि अर्को दिन आफन्त साथीभाइलाई लिएर आउनुहुन्छ । यो खोज्दै–खोज्दै खानु पर्ने जेरी हो, त्यसैले यसको नाम ‘हन्टिङ जेरी’ हो,’ राजकुमारले हास्ँदै साइनबोर्ड नराख्नुको कारण सुनाए । उनको पसलमा बेला बेला भ्याइनभ्याइ पनि हुन्छ । स्वाद, आकार र परम्परामा सम्झौता नगरको े उनले सुनाए ।
२०१७ सालमा राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा सिद्धिलालले रोटीको निकै आर्कषक द्वार बनाएका थिए । त्यो द्वार हेररे राजा अत्यन्त खुसी भई रत्न मन्दिरमा बोलाएर बक्सिस दिएको विषय आज पनि चुल्याजु परिवारका लागि गर्वसाथ सुनाउँछन् । चर्चित सेलब्रेटी, पत्रकारहरू पनि सोध्दैखोज्दै आउने गरेको अनुभव राजकुमारले सुनाए । दसैं, तिहारमा भीड हुन्छ । विदेशबाट घर आएकाहरूका लागि अझ विशेष स्थान बनेको छ यो ठाउँ । भुत्तेको जेरी खाएका मात्र होइन, नाम सुनेका पनि एकपटक जेरी खोज्दै आइपुग्छन् । ‘देश विदेशबाट भुत्तेको जेरी कहाँ छ भनेर खोज्दै आउँदा निकै खुशी लाग्छ,’ राजकुमार भन्छन्, ‘पहिले जेरी दाउरामा पोलिन्थ्यो, शुद्ध घिउमा हुन्थ्यो, महमा भिजाइन्थ्यो तर समयसँगै अब घिउ, मह नै साह्रै महँगो हुन थाल्यो । चिनी र तेल प्रयोग हुन्छ । तर स्वाद गुम्न नदिउँ भनेर हामी दिनरात मेहनत गर्छौं । रङ प्रयोग गर्दैनौँ । ठूलो, आकर्षक बुट्टा भएको जेरी बनाउँछौँ, ग्राहकले मनपराउनु भएको छ ।’ यहाँ जेरीसँगै लाखमरी, खजुर, लालमोहन, फिनी, अनरसासमेत बनाइन्छ ।
नेवारी समुदायका पाठपूजा, वार्षिक पूजा हरेकमा यहाँका परिकारको माग निकै बढ्ने गरेको राजकुमारकी श्रीमती दयालक्ष्मी चुल्याजु बताउँछिन् । हजुरबुबाले सन् १९१६ मा सुरु गरेको यो व्यवसायले निरन्तरता दिन पाउनु नै ठूलो अवसर भएको राजकुमारका छोरा एलिस गर्वका साथ बताउँछन् । । एलिसले व्यसायलाई विस्तार गर्दै अझ व्यवस्थित गर्ने सोच भने रहेको सुनाए । झण्डै ४४ वर्षपछि भुत्तेको जेरीको स्वाद खोज्दै आएका भाइरोलोजिष्ट डा विष्णु उपाध्याय छोरा–नातिले निरन्तरता दिएको देख्दा निकै खुसी लागेको बताउँछन् । ‘म २०३८/३९ सालतिर म पोखराको रामघाटस्थित चिकित्सा शास्त्र अध्ययन संस्थामा थिएँ, त्यतिबेला यहाँको जेरी खुब खान आउँथे । आज ४४ वर्षपछि पुनः पोखरा आउँदा मलाई त्यो स्वादको याद आयो,’ उनले भने, ‘यहाँ आएर जेरी खान पाउँदा निकै खुशी लाग्यो ।’