जगन्नाथ दुलाल
काठमाडौं, मंसिर २०
जेनजी विद्रोहपछि गठित अन्तरिक सरकारले राजनीतिक दलहको आशंकाअनुसार न केपी ओलीलाई पक्राउ ग¥यो, न त रमेश लेखकलाई नै छोयो । भदौ २३ गतेको जेनजी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जना मारिएका थिए, चार दर्जनभन्दा बढी घाइते भएका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा अघिल्लो दिनजस्तो प्रदर्शन भएन, ध्वंस भयो । अनपेक्षित ध्वंस । तत्कालीन सरकारले भाग्नुपर्ने अवस्था आयो ।
मुलुक तीन दिनसम्म सरकार विहीनतासँगै विभिन्न आशंकाको अवस्थाबीच राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे । म्यान्डेट दिइयो – ‘६ महिनाभित्र प्रतिनिधि सभाको चिर्वाचन गराउनू ।’ कार्की सरकारले जेनजी आन्दोलनमा भएको दमन र क्षति छानबिन गर्न समिति गठन गरेको छ । तर, जेनजीका मागअनुसार सरकारले न अघिल्लो सरकारका जिम्मेवारहरूलाई छोयो न त उनीहको बोलीमा लगाम लगाउन सक्यो ।
जेनजीको आन्दोलनपछि नेपाली सेनाको हेलिकप्टरले तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उद्धार गरेको थियो । ओली स्वयंको स्विकारोक्ति छ – ‘उद्धारमा ५ मिनेटको ढिलाइ भएको भएँ मारिन पनि सक्थेँ ।’ भदौ २४ गते ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए । सरकारले पक्राउ र केरकार नगर्ने देखिएपछि ओलीले लगातार विषवमनमात्रै गरेका छैनन्, लगातार दुर्घटनाका लागि उक्साउने छुस्के अभिव्यक्ति दिइरहेका छन् ।
सामाजिक सञ्जालमा सरकारले लगाएको बन्देजपछि सिर्जित अवस्थाले ओली स्वयंलाई सरकारबाट विस्थापित गरिदियो । नवपुस्ताले सामाजिक सञ्जालमाथिको बन्देज हटाउनुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने मागसहित आन्दोलन गरे, दुई दिनका घटनामा ७४ जनाको ज्यान गयो ।
भदौ २३ र २४ को घटनामा जिम्मेवार रहेकाले तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री कार्कीमाथि जेनजी आन्दोलनकारीले दबाब दिए । तर, छानबिन समितिको आवरणमा सरकारले काठमाडौं बाहिर जान नपाउने र राहदानी रोक्का गर्ने मात्रै निर्णय ग¥यो । कसैलाई पनि पक्राउ गरेन । सरकारले अहिले पनि भेला, सभा र जुलुस गर्न रोकछेक गरेको छैन । त्यसैले आलोचना गर्न सजिलो छ ।
सुरूमा अघिल्लो सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नेपर्ने माग चर्कोसँग नउठेको होइन । गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ५ गते जाँचबुझ आयोग गठन गरेपछि ओली र लेखक पक्राउको माग केही मत्थर भयो । पक्राउको अवस्था टर्नुलाई ओलीले आफ्नो जित ठानेको देखिएको छ । पार्टीका विभिन्न सभा समारोहमा उनका अभिव्यक्तिले सरकारको सस्तो खिसीट्युरी गर्न नछाडेको देखिएको छ ।
प्रधानमन्त्री कार्की जेनजीको दबाबका बीच पनि जेनजी आन्दोलनपछि उत्पन्न जटिल परिस्थिति सम्हाल्न संयमित देखिएकी छन् । ‘अहिलेको सरकार फागुन २१ गते चुनाव गरेर जनप्रतिनिधिहलाई सरकार सुम्पन चाहन्छ । अहिले भदौ २३ र २४ को घटनामा जाँचबुझका लागि समिति बनिसकेको अवस्थामा कसैमाथि सरकारले धरपकड गर्ने कुरा हुँदैन,’ सरकारका एक मन्त्रीले भने । तर, सरकारको संयमतालाई ओलीले कमजोरीका रूपमा लिनु दुःखद् भएको उनले बताए ।
तर, ओली अहिले भदौं २३ र २४ मा देशमा केही नै भएको थिएन जस्तो गरी प्रस्तुत भइरहेको भन्दै आलोचित छन् । देशलाई थप संकटमा धकेल्न उद्धत रहेको र त्यसका लागि विभिन्न हर्कत गरिररहेको ओलीसँग असन्तुष्ट रहेका नेताहकै आरोप छ । ओलीका पछिल्लो अभिव्यक्ति सरकारलाई उत्तेजित बनाएर देशलाई मुठभेडमा लैजानेजस्तो देखिएको एमालेकै एक पदाधिकारीले बताए । यो पक्ष एमालेभित्र ओलीको विकल्प खोज्न कस्सिएको छ । तर, ओली आफूलाई सच्याउने भन्दा सरकारलाई थप जिस्क्याइरहेका छन् । ओलीइतर समूहमा रहेका एमाले पदाधिकारीले त ओलीले देशलाई द्वन्द्वमा लैजान खोजेको आरोप सचिवालय बैठकमै लगाएका थिए ।
जेनजी अभियन्ता सुदन गुरूङ समूहले त ‘अरेस्ट ओली’ ट्रेन्ड चलाएर सरकारमाथि पटक–पटक दबाब सिर्जना गरिरहेका छन् । सरकार भदौ २३ र २४ को घटनामा जिम्मेवारलाई तत्काल कारवाही नगर्दा मनोबल बढेको भन्दै रूष्ट छन् ।
ओलीका सरकारविरूद्धको अराजक अभिव्यक्तिको क्रम जारी छ । ओलीले शनिबार पनि प्रधानमन्त्री सुशीला कार्कीमाथि आफूलाई पक्राउ गर्न दबाब दिएको आरोप लगाए । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागमा नेतृत्व नै परिवर्तन गरेको दाबी गरे । ‘गिरफ्तार गर्नुप¥यो भन्ने माग गर्नुस् भनेर उनले अनेक दबाब दिनुभयो । त्यहाँका डाइरेक्टरले यस्तो झुटो काम म गर्न सक्दिनँ, गैरकानूनी काम पनि गर्न सक्दिनँ, कानुनमा यस्तो छैन र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिनँ, अब कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाइरेक्टरलाई त्यहाँबाट तुरून्त हटाइयो । अर्को डाइरेक्टर ल्याइयो । प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुःखद स्थिति के हुन्छ ?,’ उनले भने ।
ओलीका पछिल्ला शृंखलाबद्ध उत्तेजक अभिव्यक्ति सुविचारित नै भएको ठान्छन जानकारहरू । ‘जोसँग जता मिल्छ मुठभेड गर्ने । जताततै अशान्ति भएपछि चुनाव हुनसक्दैन । अरू दलले पनि त्यो अवस्थामा एमालेको मागलाई मागलाई खुला वा मौन समर्थन गर्ने नै छन्,’ विश्लेषक जैनेन्द्र जीवन भन्छन् ।
अर्का विश्लेषक मुमाराम खनाल उत्तेजना र प्रतिक्रिया ओलीको निजी चरित्र भएको टिप्पणी गर्छन् । ‘ओली अधिनायकवादी र व्यक्तिवादी हो । उहाँले जति लोकतन्त्रलाई आक्रमण कसैले गरेनन् । बढी बोल्नु उहाँको रोग हो,’ खनालको टिप्पणी छ ।
उनका पछिल्ला अभिव्यक्ति उत्तेजक र भड्किलो भन्दै तत्कालिन सत्तासाझेदार दल कांग्रेससमेत सन्तुष्ट छैन । कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि ओलीको उत्तेजक अभिव्यक्तिबारे लामै छलफल भयो । कांग्रेसले त बैठकबाट निर्णय गरेरै भन्यो, ‘विद्यमान शान्तिसुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर चिन्ता व्यक्त गर्दछ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन ।’