नेभिगेशन
दृष्टिकोण

जाने होइन त मुदीगाउँ?

पृष्ठभूमिमा छ गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छन्, गुजमुज्ज ढुङ्गे घरहरू । दृश्य पुरै ग्रामीण जीवनशैलीको छ । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू देखिन्छन् । वस्तीबीचमा छन्, चिटिक्क परेका गल्लीहरू । सबै घरका कर्नासेमा मकैको झोताहरू झुण्ड्याएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक लाग्छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको सङ्गमस्थल पनि हो । हिमशृंखला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा छन् । यस्तै अभिव्यक्ति दिन्छन्, वडाध्यक्ष यामबहादुर घर्ती । ‘८१६७ मिटर अग्लो संसारको सातौं उच्च हिमाल यही मुदीगाउँ समेटिएको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ,’ उनी भन्छन् । उनलाई लाग्छ प्रचारप्रसारको कमीले ओझेलमा परेको मुदीमा अब पर्यटन पूर्वाधार निर्माण भएसँगै पर्यटकीय गन्तव्य बन्नेछ । यसको लागि गाउँलेहरू पनि लागेका छन् ।

मुदीगाउँभित्रका गल्लीमा सरसफाइ, ढल व्यवस्थापन र ढुंगा बिछ्याएर चिटिक्क पारिएको छ । मुदीगाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाडाँमा भ्यु प्वाइन्ट बनाइएको छ । भ्यु प्वाइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाडाँबाट हिमालका अलावा छिमेकी बस्ती, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरमा अवस्थित मुदीका अधिकांश घर परम्परागत शैलीका ढुंगे छन् । मुदीका करिब दुई सय ५० मध्ये २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुरख्र्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गीतले पाहुनालाई स्वागत गर्ने चलन छ ।

मुदीदेखि धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ । यहाँको लेकमा वैशाख जेठमा यार्सागुम्बा र असोज कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाईभैँसीपालन गर्ने गोठालाको दिनचर्या र जीवनशैली अध्ययन गर्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ । बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको मुदीका लागि आवतजावतका लागि जिप चल्छन् ।

मुदीमा पाहुना र पर्यटकलाई लक्षित गररे घरबास (होमस्टे) सञ्चालन भएको छ । होमस्टेका सञ्चालक गौबहादुर राम्जाली सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि पाहुना आउन क्रम सुरु भएको बताउँछन् । पाहुनालाई घरायसी वातावरणमा खानेबस्ने व्यवस्था मिलाउनका लागि आठ–दश वर्षअघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर होमस्टे चलाइएको उनी बताउँछन् । हामेस्टेमा लोकल कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडोको स्वाद चखाउने गरिएको उनी सुनाउँछन् ।

होमस्टेमा एक २० देखि ३० जनाका लागि खान, बस्न सुविधा छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिर कालिजजस्ता दुर्लभ वन्यजन्तु र पन्छी पाइने भएकाले पर्यापर्यटनको हिसाबले यो ठाउँमा उच्च सम्भावना रहेको सुनाउँछन् । नेपाल पन्छीविद् संघले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको थियो । अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएको अध्ययनमा सहभागी विराट रजक बताउँछन् ।

मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै धवलागिरि आरोहण दिवस हिमाल भएको वडा मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सम्बद्ध गैरसरकारी संस्थासँग पहल पनि भइरहेको छ । म्याग्दी जिल्ला नेपालको एक प्राकृतिक सौन्दर्ययुक्त, साहसिक यात्रा गर्न सकिने, सांस्कृतिक विविधतायुक्त जिल्ला हो । धौलागिरी हिमशृंखलाको काखमा अवस्थित यो जिल्ला ट्रेकिङ, हिमाल आरोहण र प्राकृतिक दृश्यावलोकनका लागि पूर्वपचित थियो नै । यस जिल्लामा रहेको प्रसिद्ध घोडेपानी–पुनहिल पदमार्गले विश्वमै चर्चित छ । यसबाहेक रोराङ, गुर्जा, राखु, सिक्हा, तातोपानीका प्राकृतिक तातो पानीका मुहान, झरनाहरू र हरियाली वनजंगलले जिल्लाका थप आकर्षण हुन् ।

सांस्कृतिक रूपमा पनि म्याग्दी समृद्ध छ । गुरुङ, मगर, क्षेत्री लगायतका समुदायका परम्परा, नृत्य, रहनसहन र स्थानीय खानाले होमस्टे पर्यटनलाई फराकिलो बनाएको छ । यसै क्रममा धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य बन्ने प्रयासमा छ । एक पटक मुदीगाउँको घरबासमा बास बस्न जाने होइन त ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना