नेभिगेशन
अर्थतन्त्र

अधिकांश सूचक मजबुत, तैपनि बढेन लगानी

अर्थतन्त्रमा विरोधाभास

काठमाडौं । जेनजी आन्दोलन र राजनीतिक अस्थिरताका कारण देशको आन्तरिक अर्थतन्त्र सुस्त रहे पनि आर्थिक सूचकहरू भने थप बलियो बन्दै गएका छन् । प्रमुख सूचकहरू रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति मजबुत बनेका छन् । मुद्रास्फीति पनि न्यून देखिएको छ । तर लगानीको वातावरण बन्न नसक्दा कर्जा प्रवाह हुनै सकेको छैन ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३को पहिलो चार महिनाको तथ्यांकअनुसार महँगी दर (मुद्रास्फीति) १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही अवधिमा मुद्रास्फीति ५.६ प्रतिशत थियो । खाद्यान्न तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक ३.३२ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको ३.६९ प्रतिशत छ । अघिललो वर्षको सोही अवधिमा खाद्य समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.६५ प्रतिशत थियो । गैर–खाद्य समूहमा महँगी गतवर्षभन्दा बढेको देखिन्छ ।

प्रदेशगत रूपमा सबै प्रदेशमा मुद्रास्फीति न्यून रहेको छ । काठमाडौं उपत्यकाको वार्षिक उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत रहेको छ । कात्तिकसम्म वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत थियो ।

रेमिट्यान्स झण्डै सात खर्ब भित्रियो यस आर्थिक वर्षको पहिलो चार महिनामा नेपाल भित्रिने रेमिट्यान्स उल्ले ख्य रूपमा बढेको छ । साउनदेखि कात्तिक मसान्तसम्म गतवर्षको सो ही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढेर ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धि ९.४ प्रतिशत मात्र थियो । २०८२ कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको कात्तिकको तुलनामा बढी हो । गतवर्ष कात्तिकमा एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाा रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा आउने रेमिट्यान्स पनि २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड पुगेको छ ।

चार महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पाँच खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा एक लाख ४५ हजार ९७३ले वैदेशिक रोजगारीका लागि अन्तिम रुम स्वीकृति लिएका छन् । यस्तै, एक लाख २७ हजार ८३७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

विदेशी विनिमय सञ्चिति ३० खर्ब नाघ्यो

चार महिनामा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति कात्तिक मसान्तसम्म उल्लेख्य रूपमा बढेको हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ । जुन गत असार मसान्तमा १९ अर्ब ५० करोड डलर थियो ।

राष्ट्र बैंकका अनुसार हालको विदेशी विनिमय सञ्चितिले २० महिना २४ दिनको वस्तु आयात तथा १७ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । कात्तिक मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

शोधनान्तर स्थिति थप मजबुत

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २६ करोडलेबचतमा रहेको छ ।

चालु खाता पनि दुई खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ९९ करोडले बचतमा रहेको छ ।

डलरसँग रुपैयाँ अवमूल्यन

चालू आर्थिक वर्षको पहिलो चार महिनामा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.३ प्रतिशतले अवमूल्यन भएको छ । कात्तिक मसान्तसम्म एक अमेरिकी डलरको खरिद विनिमय दर १४१.७० रुपैयाँ पुगेको छ, जुन असार मसान्तमा १३७ रुपैयाँ थियो ।

निक्षेप वृद्धि, कर्जा प्रवाह सुस्त

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप चार महिनामा ३.१ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा निक्षेप दुई खर्ब २२ अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।

निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने अपेक्षाकृत सुस्त देखिएको छ । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६५ अर्ब ४ करोड रुपैयाँ (१.२ प्रतिशत)ले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । क्षेत्रगत रूपमा निर्माण, यातायात, औद्योगिक उत्पादन र उपभोग्य क्षेत्रमा कर्जा बढे पनि कृषि तथा वित्त–बीमा र अचल सम्पत्ति क्षेत्रमा कर्जा घटेको छ । प्रणालीमा अधिक तरलताको अवस्थामा सुधार नभएपछि केन्द्रीय बैंकले पटकपटक पैसा तानेर व्यवस्थापन गर्दै आएको छ । चार महिनामा राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १० खर्ब २१ अर्ब ५ करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ३४ अर्ब ७५ करोड गरी कुल १९५ खर्ब ५५ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । यस्तै ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्