यतिबेला सिनेमा हलबाट नेपाली फिल्म ‘अभिमन्यु भाग १’ उत्रिसकेको छ । यो पंक्तिकारले इटहरीको इलाइट सिनेमामा दुई साताअघि उक्त फिल्म हेर्दा दर्शक निकै कम थिए । थ्रिलर विधाको यो फिल्मको कथा रोचक मात्र थिएन, यसका हरेक कलाकारको काम निकै उम्दा मानिएको थियो ।
यो फिल्मबाट निर्माण समूहलाई कति विश्वास थियो भने, यसलाई हिन्दी भाषामा समेत रिलिज गरिएको थियो ।
अभिमन्युमा प्रकाश सहायक भूमिकामा छन् । उनी अभिमन्यु बनेका कामेश्वर चौरासियाको मिल्ने ‘भाइसाथी’को भूमिकामा छन् । जुन– जुन बेला प्रकाश पर्दामा आउँछन्, उनले दर्शकलाई हँसाउँछन् ।
फिल्म हेरिसकेपछि यो पंक्तिकार काठमाडौंमा कसलाई भेट्न सकिन्छ होला भन्ने खोजी गर्दा प्रकाश दाहालले फोन उठाए । उनीसँग भेट्ने सल्लाह भयो र चाबहिलस्थित एउटा रेस्टुराँमा चिया खाने निधो गरियो ।
उनको कामबाट प्रभावित भएको भनेपछि स्वाभाविकरूपमा उनी पनि खुशी भए । यो पंक्तिकार उनको कलायात्राबारे जान्न उत्सुक थियो । झापामा हुँदा पत्रकारिता गरेका प्रकाश पछि आफू नै समाचार बन्ने नियतका साथ काठमाडौं आएका थिए तर उनलाई थाहा थिएन, आफूलाई समाचारको हेडलाइन कसरी बनाउने ?
काठमाडौंमा एक दिन उनी मण्डला नाटकघर पुग्दा चकित भए । उनले त्यो बेला देखे– फिल्मका जस्ता पोष्टर हुने नाटक अनि सेलिब्रिटीको इज्जत पाइरहेका नाट्यकर्मी ! ‘रशोमन’ नाटक हेरेपछि भने उनी नाटकप्रति हुरुक्क भए । उनी अब नाटकमै समर्पित हुन लालायित थिए ।
यसपछि उनी नाटक प्रशिक्षणमा भाग लिए । उनका शिक्षक थिए, सुनिल पोखरेल । प्रशिक्षणपछि उनले एक से एक नाटकमा खेले । कहिले गिद्द बने, कहिले बाघ भए । यसले नाम कमाउने उनको ठूलो इच्छा पूरा गरेन ।
एक दिन भारतीय नाट्यकर्मी अजय शुक्लाको ‘ताजमहल का टेण्डर’को नेपाली अनुवाद नाटक ‘सिंहदरबारको टेण्डर’मा काम गर्ने अवसर पाए । त्यो बेला उनी जम्मा १९ वर्षका थिए तर आफू ७० वर्षको वृद्धमा पत्याइन्छु कि पत्याइन्नँ भनेर परीक्षण गर्न मेकअपका साथ गाडी चढे । उनलाई वृद्धवृद्धा बस्ने सिट छाडियो । यसपछि भने उनी पक्का भए, मैले नाटक गरी खान्छु।
त्यही दिन अचम्म भयो । उनी गाडीबाट ओर्लिएको बेला चप्पल चुँडियो । अब यो चुँडिएको चप्पललाई नाटकमा कसरी गाँस्ने सोच बढ्दै जाँदा उनले नाटकमा कसरी बढी समय लिने भन्ने पनि सिक्दै जान थाले । नाटकमा उनको भूमिका ‘सर, तपाईंलाई भेट्न बाहिर कोही आउनु भएको छ’ भन्ने मात्र थियो तर बढ्दै जाँदा उनी क्लाइमेक्सका तारा बन्न पुगे ।
नाटकले उनलाई ‘फुटेज कसरी लिने’ अनि अव्यक्त संवाद कसरी गर्ने कुरा सिकायो । त्यसले फिल्ममा निकै सघाएको उनको बुझाइ छ ।
नाटक र फिल्मका आधारभूत कुरा सिकिकेपछि उनले झापामा नाटकलाई स्थापित गर्ने प्रयास गरे । त्यो असफल भएपछि उनी केही दिन बेपत्ता पनि भए ।
यतिबेला अस्कर कलेजमा फिल्म निर्देशन अध्ययन गरिरहेका उनी नयाँ कामको खोजीमा छन् ।
‘अभिमन्यू च्याप्टर १’ उनको जीवनको निकै महत्त्वपूर्ण फिल्म थियो तर फिल्म राम्रोसँग चलेन । त्यसको उनलाई दुःख छ । फिल्म नचल्नुका के कारण हुन सक्लान् ? उनी भन्छन्, ‘फिल्मको प्रचार पुगेन होला !’ फिल्मको व्यापार नाटकको जस्तो नहुँदो रहेछ । नाटक छोटो समयका लागि मञ्चित हुन्छ । त्यसको उचित प्रचार भयो भने दर्शकको ओइरो लाग्छ । फिल्ममा दर्शक ओइरिन भने निकै क्लिष्ट किसिमको प्रचार रणनीति चाहिन्छ । यस पटक त्यो रणनीतिले काम गरेन वा रणनीति नै बनाइएन कि भन्ने प्रकाशलाई लागिरहन्छ ।
त्यसो त उनले ‘पशुपतिप्रसाद’ फिल्ममा सानो भूमिका पाएका हुन् । उनी भष्मेको साथी शंकरे बनेका थिए । निर्देशक दीपेन्द्र के खनाल यति प्रभावित भए कि पैसा नै बढाइदिए । नाटकमै पनि उनले गिद्दको भूमिकाबाट प्रभावित भएर सौगात मल्लसमेत प्रभावित भएका थिए । सौगातले दिएको स्याब्बासी उनले अहिलेसम्म बिर्सिएका छैनन् ।
आफूले पाउने सानै भूमिकालाई पनि उत्तिकै न्याय दिनुपर्छ भन्ने मान्यता राख्ने उनी यतिबेला फिल्मको असफलताले राम्रो काम पनि ओझेलमा पर्यो कि भन्ने लागिरहन्छ । फिल्म सफल भएको भए यस्तै प्रभावशाली भूमिका उनलाई खोज्दै आइपुग्थ्यो होला, अब खोज्न निस्कनुपर्ने बेला भएको छ ।