प्रख्यात कलाकारले आफ्नो शुल्क त लिन्छन् नै, फिल्मका निर्माताहरुलाई व्यक्तिगत शेफ, मेकअप म्यान, ड्रेसम्यानजस्ता सहयोगीको लर्को मात्र होइन, विलासी सुविधा पनि माग्ने गरेका छन् । यसले फिल्म निर्माणको लागत आकासिएको छ ।
बलिउड लामो समयदेखि नै बक्स अफिसमा अनिश्चित रहँदै आएको छ । महामारीले अवस्था झन् जटिल बनाएको भए पनि धेरै निर्माता र वितरकहरूका अनुसार आज देखिएको घाटा रचनात्मक असफलताभन्दा बढी स्टार शुल्क र जोडिएका अतिरिक्त खर्चका कारण भएको हो । निर्माता रमेश तौरानी समस्या उत्पादन लागतभन्दा पनि कलाकारले लिने पारिश्रमिक र सुविधाले निम्त्याएको बताउँछन् ।
एउटा चल्तीको हिरो–हिरोइनले मेकअप आर्टिस्ट, हेयरड्रेसर, स्टाइलिस्ट, जिम प्रशिक्षक र सहायकसहित १० देखि १५ जनाको टोली लिएर सुटिङ स्थल पुग्छन् । तिनको खर्च निर्माताले बेहोर्नुपर्छ । यसका अतिरिक्त प्रथम श्रेणीको यात्रा, पाँचतारे होटल, अलग–अलग भ्यानिटी भ्यान र सीमित समयमा मात्र सुटिङ गर्ने माग सामान्यजस्तै भइसकेका छन् । एउटा भ्यानिटी भ्यानको लागत नै करिब १८ हजार अमेरिकी डलरसम्म पुग्ने गरेको छ ।
निर्माता मुकेश भट्टले बढ्दो सहयोगी टोली, महँगो यात्रा र विलासी बसाइले बजेट बढाइरहेको बताए । यस्ता मागहरू धेरै हदसम्म ‘अप्रिय’ बन्दै गएका छन् । कलाकारको सुविधाहरु बढ्दै जाँदा खर्च झनै बढेको व्यापार विश्लेषक राज बंसल बताउँछन् ।
बलिउडलाई सधैँ उच्च जोखिमको उद्योग मानिँदै आए पनि अहिले स्टार–केन्द्रित लागत बक्स अफिस आम्दानीले धान्न नसक्ने स्तरमा पुगेको निर्माताहरूको भनाइ छ । महामारीपछिको समयमा स्ट्रिमिङ प्लेटफर्महरूले महँगो मूल्यमा फिल्म किन्दा केही राहत महसूस भएको थियो तर ती सम्झौता घटेसँगै आम्दानी खस्कियो । यसबीच कलाकारहरूको माग भने घटेन, जसले समस्या झनै बढाएको छ ।
प्रतिस्पर्धी वातावरण पनि बदलिएको छ । दर्शकको रुचि परिष्कृत भएको, स्ट्रिमिङ प्लेटफर्मसँग विकल्प पनि पर्याप्त छन् । क्षेत्रीय सिनेमाले आफ्नो स्तर उकासेका छन् । यस्तोमा भट्टको भनाइ छ, ‘फिल्म कमजोर नभए पनि बढ् दो उत्पादन लागत, विशेष गरी स्टार शुल्कले अर्थतन्त्र असन्तुलित बनाइरहेको छ ।’ अभिनेता आमिर खानले करोडौँ शुल्क लिने कलाकारहरूले निर्मातामाथि अत्यधिक बोझ थोपर्ने प्रवृत्तिलाई अनुचित भनेका छन् । कलाकारको अनावश्यक माग भन्दा त्यो रकम कथावस्तु र पटकथाको गुणस्तरतर्फ केन्द्रित गर्नुपर्ने सुझाव उद्यो गका विज्ञहरुको छ । केही निर्माताहरूले त कलाकारहरुले जोखिम र नाफा बराबर भाग लगाउनुपर्ने धारणा अघि सारेका छन् ।
सन् २०२४ मा बनेको ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ कमजोर प्रदर्शन गरेपछि निर्माताले ऋण तिर्न सम्पत्ति बन्धक राख्नुपरेको समाचार पनि सार्वजनिक भएको थियो । त्यसो त अभिनेता कार्तिक आर्यनले २०२३ मा ‘शहजादा’ असफल भएपछि शुल्क नलिएको उदाहरण पनि छ ।
अभिनेता तथा निर्माता विवेक वासवानीका अनुसार अत्यधिक शुल्कले बजेट बिगार्छ भने त्यस्ता स्टारसँग काम नगर्नु नै उत्तम हुन्छ । उनले सफल फिल्महरूको उदाहरण दिँदै भने, ‘यदि तपाईँलाई आफ्नो स्टार स्क्रिप्टभन्दा बलियो लाग्छ भने, त्यो सोच नै गलत हो ।’